५ वैशाख २०८१ बुधबार
शिक्षा

त्रिविका सबै परीक्षा स्थगित

कोरोना भाइरसको दोस्रो लहरको उच्च जोखिम बढ्दै गएपछि भौतिक उपस्थितिमा संचालन भइरहेका पूर्वनिर्धारित सबै परीक्षा स्थगित भएका छन्। त्रिभुवन विश्वविद्यालयलगायत सबै विश्वविद्यालय र तहका परीक्षाहरू स्थगित गरेको हो। वैशाख १७ गतेदेखि सुरु हुने त्रिविकै स्नातकोत्तर तहको सेमेस्टर प्रणालीका सबै परीक्षाहरू स्थगित गरिएको परीक्षा नियन्त्रक पुप्ष्राज जोशीले जनाए। यसैगरी पोखरा विश्वविद्यालयका सञ्चालित र अगामि दिनमा सञ्चालन हुने सबै पूर्वनिर्धारित परीक्षाहरू स्थगित गरेको परीक्षा नियन्त्रक प्राडा. टेकराज ज्ञवालीले सूचना सार्वजनिक गरीनै सूचित गरेका छन्।  

त्रिभुवन विश्वविद्यालयको सञ्चालन भइरहेको स्नातक तहका सबै परीक्षाहरू सोमबार लेखि अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। उनले सिसिएमसीको निर्देशन अनुसार सोमबार परीक्षा संचालक समितिको बैठक बसी कोरोना संक्रमण्को उच्च जोखिमको अवस्थामा परीक्षा संचालन गर्न नसकिने भन्दै बैशाख १४ गतेदेखि १९ गतेसम्मको सम्पूर्ण परीक्षाहरू स्थगित गरिएको जनाए। त्रिविले वैशाख ५ गतेदेखि स्नातक तहका परीक्षाहरू सुरु गरेको थियो।

‘परीक्षा स्थगितका कारण त्रिविका सबै संकाय तथा संस्थान तर्फका वार्षिक तथा सेमेस्टर तर्फका २ लाख २५ हजार विद्यार्थीहरू प्रभावित बनेका छन्,’ परीक्षा नियन्त्रक जोशीले नागरिकसँग भने, ‘सरकारको निर्णय मान्दै संचालक समितिले सम्पूर्ण परीक्षाहरू अर्को सूचना नआएसम्मकोलािग स्थगित गरेको हो।’  

सिसिएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले देशभरका विद्यालय तथा शिक्षालयहरूमा विद्यार्थीहरूबाटै कोरोना संक्रमणको उच्च जोखिम बढ्ने देखिएकोले भौतिक उपस्थिति नभई भर्चुअल र बैकलिप्क विधिबाट मात्र पठनपाठन जारी राख्नु पर्ने निर्णय गरेको सिसिएमसी सचिवालय संयोजक तथा सरकारका सचिव डा. खगराज बरालले बताए। उनले सोमबारबाट सुरु हुने ए–लेभलको परीक्षालाई समेत लक्षित गरी सिसिएमसीले भोीतक उपस्थितमा संचालन हुने पूर्व निर्धारित सबै प्रकारका परीक्षाहरू स्थगन गर्ने निर्णय गर्नु परेको जनाए। 

‘क्याम्ब्रिजले भारतलगाएत विश्वका कोरोना प्रभावित देशहरूको १० हजार बढी परीक्षा केन्द्रहरूको परीक्षा स्थगित गरिसकेको छ,’पूर्व शिक्षा समेत रहेका बरालले नागरिकसँग भने ‘तर हामी कहाँ कोरोनाको उच्च जोखिमविच पनि सोमबार अर्थात वैशाख १३ गतेदेखि हजारौं विद्यार्थीहरू भौतिक उपस्थितिमै परीक्षा दिने निश्चित भएको थियो। विद्यार्थीको जमघट भएछि कोरोना संक्रमणको थप जोखिम अवश्यनै बढ्छ। त्यही भएर पूर्वनिर्धातिर सबै परीक्षाहरू स्थगिताके निर्णय भएको हो,’ उनले थपे, ‘सरकारले अब बिहीबारदेखि निषेध आदेश जारी गर्दै छ। यस्तो अवस्थामा विद्यार्थीलाई थप संकट पर्न सक्छ। अब शैक्षिक संस्थाहरूले पनि भौतिक उपस्थितिको विकल्प वा आलाइन परीक्षा लिनुपर्छ।’

माइतीघरमा रहेको सेन्टजेभियर्स कलेजका प्रिन्सिपल फादर अगस्टीनले सोमबारदेखि क्याम्ब्रिजको एलेभल परीक्षा सुरु हुन तय भए पनि कोरोनाको बढ्दो संक्रमणको उच्च जोखिमका कारण स्थगन गरिएको स्पष्ट पारे। यसपटक यस कलेजका २ सय ५० विद्यार्थी ए–लेभल परीक्षामा सहभागिता जनाउँदै थिए। ‘सरकारको निर्णयको दुई पाटो छन् एकातिर समयमा परीक्षा सकिएन भने विद्यार्थीको एक शैक्षिक सत्र खेर जान्छ,’ प्रिन्सिपल अगस्टिनले भने, ‘अर्को तर्फ यो स्वास्थ्यको हिसाबले आपतकालीन अवस्थमा हामी सबैले स्वास्थ्य सुरक्षाको सबै मापदन्डहरू अपनाएर यो भाइरसको संक्रमणको शृंखलालाई तोड्नु पर्छ। यसकारण हालको अवस्थामा परीक्षा स्थगित गरेकै उचित हो।’  

अन्योलमा एसइई  

जेठ १३ गतेदेखि संचालन हुने भनी तय गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को परीक्षा भने अन्योल बनेको छ। सिसिएमसीको निर्णय पूर्वनिर्धारित सबै परीक्षाहरू स्थगित गर्ने भए पनि रािष्ट्रय परीक्षा बोर्डले भने जेठसम्म परिस्थिती समान्य हुने अनुमान गर्दै भौतिक उपस्थितिमै परीक्षा गर्ने अडानमा छ। यसले एसइई नै अन्योल बनेको छ।

कोरोना संक्रमणको दोस्रो लहरको उच्च जोखिम बढ्दै गएपछि देशभरिका विद्यालयहरू बन्द भइसकेका छन्। स्थानीय निकायहरूले स्वःस्फूर्त रूपमा सूचना सार्वजनिक गरी विद्यालय बन्द गरी वैकल्पिक माध्यमपबाट पठनपाठन सुरु गरिरहेका छन्। तर राष्ट्रिय परीक्षा बोर्ड र सरोकारवाला निकाय शिक्षा मन्त्रालय भने एसइई परीक्षा भौतिक उपस्थितिमै गर्ने तयारीमा जुटेको छ। राष्ट्रिय परीक्षा बोर्डले जेठ १३–२४ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि प्रश्नपत्र छपाइ र प्याकिङको काम अन्तिम चरणमा पुगेको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले बताए।

‘भौतिक उपस्थितमा सञ्चालन हुने पूर्वनिर्धारित सबै परीक्षाहरू अर्को सूचना नआएसम्मकोलागि स्थगनगर्ने सिसिएमसीको निर्णय त आयो,तर मन्त्री परिषदको निर्णय र राष्ट्रिय परिक्षाबोर्डको निर्णयले बल्ल तय गर्छ एसइई कसरी गर्ने,’अध्यक्ष पपौडेलले भने, ‘यसपटक ५ लाख १५ हजार विद्यार्थीले एसइई परीक्षाका लागि फरम भरेका छन्। कर्णालीमा तत्काल प्रश्नपत्र ढुवानीको तायारी बोर्डले गरिरहेको छ,’ उनले थपे, ‘जेठ सम्म अवस्था केही सुधार हुन्छ। स्वास्थ्य सुरक्षाको मापदन्ड अपनाएर परीक्षा हुन्छ।’अर्कातर्फ विद्यार्थी, अभिभावक तथा विद्यालय सञ्चालक भने कोरोना त्रासमा छन्। त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माविबाट यसपटक २ सय ६२ विद्यार्थीले एसइई दिँदैछन्।

प्रकाशित: १४ वैशाख २०७८ ०२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App