coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

'नमुना' विद्यालयको भौतिक निर्माण सुरु

भवन शिलान्यास गर्दै इलाम नगरपालिकाका मेयर महेश बस्नेत। तस्बिर : भीम/नागरिक

नमुना विद्यालयका रूपमा छनौट भएको इलाम नगरपालिका–५, बरबोटेस्थित अमर माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका काम थालिएको छ। संघीय सरकारको नमुना विद्यालय कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधारको गुरुयोजना पारित भएपछि भवन निर्माण सुरु गरिएको हो।  

१ करोड १८ लाख रुपैयाँमा ठेक्का लागेको २ तल्ले भवनको इलाम नगरपालिकाका मेयर महेश बस्नेतले शिलान्यास गरे। भवन शिलान्यास गर्दै मेयर बस्नेतले अमर माविलाई शिक्षाको गुणस्तर र भौतिक पूर्वाधारमा समेत देशकै नमुना बनाउन पहल गर्नुपर्ने बताए। ‘यो विद्यालयलाई नमुनाका रूपमा छनौट गर्न बरबोटेबासी र जनप्रतिनिधिले निकै सास्ती खेप्नुपरेको थियो,’ उनले भने, ‘दुःख गरेर यहाँ ल्याएको नमुना विद्यालय कार्यक्रम देशकै उदाहरण बन्नुपर्छ।’  

इलाम नगरपालिकाको प्राविधिक रेखदेखमा भवन निर्माण हुन लागेको हो। नयाँ बन्ने भवनको भुइँतल्लामा ४ र माथिल्लो तलामा पनि त्यत्ति नै कक्षाकोठा रहनेछन्। त्रिवेणी कन्स्ट्रक्सनले यही आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी भवन निर्माणको ठेक्का लिएको छ।

विद्यालयको शैक्षिक विकासको गुरुयोजना निर्माण चरणमा छ। प्रधानाध्यापक सोम निरौलाले नमुना कार्यक्रमले विद्यालयको समग्र शैक्षिक विकासमा सघाउने बताए। ‘५ वर्षसम्म चल्ने यो कार्यक्रम शैक्षिक, भौतिक, व्यवस्थापनलगायत सबै क्षेत्रको समग्र विकास गर्नलाई आएको हो,’ उनले भने, ‘२०७५ सालमा आएको कार्यक्रम पोहोर सुरु हुनुपर्ने भएपनि कोभिड–१९ का कारण स्थगित भएर अहिले थालिएको हो।’ उनले पूर्वाधारअन्तर्गत ३ भवन, छात्रावास, घेराबारालगायत निर्माण हुने बताए।

शैक्षिक कार्यक्रमअन्तर्गत शैक्षिक सामग्री खरिद, थप कक्षा सञ्चालन, शिक्षक नियुक्तिलगायत रहनेछन्। तर, शैक्षिक कार्यक्रमको गुरुयोजना बनाउन बाँकी नै रहेको विद्यालयले जनाएको छ। ७ सय हाराहारी विद्यार्थी रहेको अमर माविमा छात्र र छात्राको संख्या करिब आधा–आधा छ। विद्यालयका अध्यक्ष गोविन्द पौडेलले विद्यालय भवन निर्माणले शैक्षिक गुणस्तर सुधारमा सहयोग गर्ने बताए। ‘विद्यालयको भौतिक पूर्वाधार राम्रो भएपछि शिक्षाको गुणस्तरमा सहयोग पुग्छ,’ उनले भने, ‘नमुना कार्यक्रमले शैक्षिक गतिविधिमा पनि टेवा पुर्‍याउने आशा छ।’

प्रकाशित: २ वैशाख २०७८ १२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App