५ वैशाख २०८१ बुधबार
शिक्षा

उत्प्रेरणा र सहयोगले पढाइलाई निरन्तरता

विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिँदै।

नीलकण्ठ नगरपालिका वडा नं ७ मर्स्याङछाँपकी अञ्जना परियारले कक्षा ९ मा पढ्दै गर्दै विद्यालय छाड्ने मनसाय बनाइन्। ज्यालामजदुरी गरी परिवारको छाक टार्दै आइरहेका उनको आमाबुबाले जसोतसो पढाइरहेका थिए। परिवारको नाजुक आर्थिक अवस्थाका कारण दाईदिदीहरुले पनि पढाईलाई निरन्तरता दिन सकेनन्। त्यसैले उनले पनि पढाईलाई छाड्ने विचार गरिन् केही समय विद्यालय गइनन्। दिदीहरुको उत्प्रेरणा र सहयोगले छाडेको पढाई पुनः निरन्तरता दिईन्।

उनको पारिवारिक अवस्था अतिविपन्न छ। उनलाई यतिको शैक्षिक योग्यता पाउँछु जस्तो पटक्कै लागेको थिएन। तर विद्यालयमा सञ्चालन भएको बहिनी शिक्षाका लागि दिदी कार्यक्रमको सहयोगबाट उनले पढाईलाई निरन्तरता दिएकी छन्। ‘मेरो परिवारको आर्थिक अवस्था नाजुक छ, मैले पढाइलाई निरन्तरता दिन्छु जस्तो पटक्कै लागेको थिएन’, उनले भनिन्, ‘बीचमै पढाई छाड्ने अवस्थामा थिए तर दिदीहरुको उत्प्रेरणा, साथ र सहयोगले पढाईलाई निरन्तरता दिन पाए, अहिले नियमित विद्यालय जान्छु।’ उनी कर्णेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत छिन्।  

विद्यालयमा संचालन गरिएको बहिनी शिक्षाका लागि दिदी कार्यक्रमले उनको पढाईमा सहयोग पुर्‍याएको छ। कार्यक्रमबाट उत्प्रेरणा, सहयोग पाउनुका सार्थ सकारात्मक परिवर्तन समेत भएको उनले सुनाइन्। ‘पहिले विद्यालय आउन पनि डर लाथ्यो, शिक्षकदेखि डराउन्थे,’ उनले भनिन्, ‘अहिले नियमित विद्यालय आउँछु, साथीहरुसँग रमाउँछु शिक्षक साथीजस्तै बनेको छ।’ आफूले सिकेका कुराहरु साथीहरु, घरपरिवारका सदस्यहरुलाई पनि सिकाउने गरेकी छन्।  

बालिकाहरुका लागि संचालित बहिनी शिक्षाका लागि दिदी कार्यक्रमले कक्षा छाड्ने दर घटाउन महत्वपूर्ण भूमिका खेलेको छ। भीएसओ र आसमान नेपालको साझेदारीमा धादिङमा बालिकाहरुलाई लक्षित गरि बहिनी शिक्षाका लागि दिदी कार्यक्रम संचालन गरिएको हो। कार्यक्रम अन्तर्गत बालिकाको शिक्षा पाउने अधिकार प्रवद्र्धन गर्न र समुदायबाट लैङ्गिक हिंसाको असर घटाउन विशेष गरि बालिका शिक्षाको लागि काम गर्दै आएको छ। कार्यक्रमबाट विद्यालय छाडि सकेका बालिकाहरु फेरि विद्यालय जान थालेका छन्।  

नीलकण्ठ नगरपालिका वडा नं ९ कै सुनिता श्रेष्ठले दिदीहरुको साथ र सहयोगले जीवनमा नसोचेको परिवर्तन आएको बताइन्। ‘कार्यक्रम मार्फत पढाइलाई निरन्तरता दिन पाएसँगै व्यक्तित्व विकासमा टेवा पुगेको छ, उनले भनिन् ‘आफ्ना कुरा खुलेर गर्न सक्ने भएको छु, आत्मबलमा पनि वृद्धि भएको छ।’ आर्थिक, सामाजिक, शारीरिक समस्याले विद्यालय नजाने निर्णय गरिसकेका बालिकाहरु अहिले भविष्यको लक्ष्य नै निर्धारण गरेर विद्यालय जान थालेको बालिकाहरुको भनाई छ।  

कार्यक्रम अन्तर्गत विद्यालयमा पढ्ने विपन्न परिवारका छात्राहरूका लागि अस्थायी अभिभावकको रूपमा सोही समुदायका दिदीहरूलाई जिम्मा दिने गरिएको छ। दिदीहरूले स्वयंसेवकको रूपमा आफ्नो समुदायका बहिनीहरूलाई नियमित हेरचाह गर्दै आएका छन्। दिदीहरूले उनीहरूलाई पढाइतर्फ आकर्षित गर्न उनीहरूको साथी जस्तै भएर नियमित संगत गर्ने, उनीहरूका समस्याका बारेमा भलाकुसारी गर्ने र समस्यामा परामर्श गर्ने गरेको स्वयंसेवक दिदी रजनी राना मगरले बताइन्।

बहिनी शिक्षाका लागि दिदी कार्यक्रम मार्फत विद्यालय छाड्ने दर हटेको, बालविवाहमा कमी भएको र क्षमता विकास भएको आसमान नेपालले संचालन गरेको बहिनी शिक्षाका लागि दिदी कार्यक्रमका जिल्ला संयोजक सुनिल केसीले बताए। ‘हामीले काम गर्नुअघि विभिन्न कारणले विद्यालय छाड्ने, बालविवाह गर्ने लगायतका समस्याहरु थियो’ जिल्ला संयोजक केसीले भने, ‘अहिले विद्यालय छाड्ने दर हटेको छ, बालविवाहमा कमी भएको र क्षमता अभिवृद्धि पनि भएको छ।’  

भिएसओ नेपालको सहयोगमा आसमान नेपालले विगत आठ वर्षदेखि बालिका शिक्षाको लागि काम गर्दै आएको छ। संस्थाले बहिनी शिक्षाका लागि दिदी कार्यक्रम मार्फत विद्यालय जान सहज बनाउन बालिकाहरुलाई शैक्षिक सामग्री सहयोगसँँगै उनीहरुको क्षमता विकासको लागि काम गर्दै आएको आसमान नेपालका कार्यक्रम व्यवस्थापक शेखर सापकोटाले बताए। जिल्लाको पाँचवटा स्थानीय तहको १३ वटा विद्यालयमा यो कार्यक्रम संचालन भइरहेको छ।  

आर्थिक अवस्था कमजोर भएकै कारण एसएलसी पछि पढ्न नपाएका बेनिघाट रोराङ गाउँपालिका वडा नं १० की रस्मिता चेपाङ अहिले पढाईलाई निरन्तरता दिईरहेकी छन्। ठूली दिदीको रुपमा बहिनीहरुलाई विद्यालय जान उप्रेरित गर्ने, बहिनीहरुको साथी बन्ने, पढाइसँगै अतिरिक्त क्रियाकलापमा उत्प्रेरित गर्ने, गृहकार्यमा सघाउने र उनीहरूलाई समस्या परेका बेला सहजीकरण गर्दै आएकी छन्। यसले विद्यालयका छात्रामा बोल्ने, पढ्ने, आफ्नो समस्याबारे खुलेर कुरा राख्न सक्ने बानीको विकास गराएको छ।

कार्यक्रम अन्तर्गत संस्थाले विपन्न विद्यार्थीलाई स्टेसनरी, विद्यालय पोशाकलगायतका शैक्षिक सामग्री प्रदान गर्दै आएको छ। योसँगै कार्यक्रम लागू भएका विद्यालयका शिक्षकलाई विषयगत क्षमता अभिवृद्धिका लागि तालिम तथा विद्यालयका लागि भौतिक संरचना निर्माणमा समेत सहयोग गर्दै आएको छ। कार्यक्रमले दक्षिणी धादिङको चेपाङ समूदायका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधारमा एकदमै सहयोग पुगेको छ। छिटो उमेरमा विवाह गर्ने, विद्यालय छाड्ने दर कमी भएको छ।

प्रकाशित: १५ चैत्र २०७७ १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App