७ वैशाख २०८१ शुक्रबार
शिक्षा

रिक्त रहेको १६ महिनापछि विद्यालयमा तीन शिक्षक नियुक्ति

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवालुङस्थित अन्नपूर्ण माविमा रिक्त रहेको १६ महिनापछि तीन शिक्षक नियुक्ति गरिएको छ। २०६७ साल मंसिरदेखि रिक्त प्रावि राहत दरबन्दीमा दुई जना र निमावि तहको राहत दरबन्दीमा एक जना शिक्षक नियुक्ति गरिएको हो। 

रिक्त रहेको लामो समयपछि प्रावि राहत दरबन्दीमा रुपक बुढाथोकी र तर्कराज देउजा तथा निमाविमा असल राईलाई नियक्ति गरिएको अन्नपूर्ण माविका प्रअ रेखादेबी बस्नेत राउतले बताइन्। रिक्त दरबन्दीमा शिक्षक नियुक्तिका लागि शनिबार परीक्षा सञ्चालन गरिएको थियो। रिक्त राहत प्रावि दरबन्दीमा ७ जना र निमावि राहत दरबन्दीमा १ जनाको आवेदन परेको विद्यालयले जनाएको छ। विद्यालयमा वर्षौँसम्म शिक्षक नियुक्ति नहुँदा पठन–पाठन प्रभावित भएको थियो।  

अन्नपूर्ण माविको प्रावि राहत दरबन्दीमा कार्यरत शिक्षिका किसन राई र बरुणा राई स्थायी भएर अन्यत्र गएपछि २०६७ साल मंसिर १ गतेदेखि दरबन्दी रिक्त बनेको थियो। यस्तै, निमावि तहमा गणित विषय पढाउँदै आएका शिक्षक दिनेश आचार्य नासुमा नाम निकालेर गएपछि २०७६ साल मंसिर १५ गतेदेखि सो दरबन्दी रिक्त थियो। मावि तहमा समेत गणित विषय पठन–पाठन गराइरहेका शिक्षक आचार्य नासुमा उत्तिर्ण भएर हिँडेपछि अन्नपूर्ण माविका छात्र÷छात्रा गणित विषयको पठन–पाठनबाट बञ्चित बनेका थिए। अघिल्लो शैक्षिक–सत्रमा अन्य विषयका शिक्षकलाई गणित पढाउन लगाइए पनि चालु शैक्षिक–सत्र गणित विषयको पढाइ हुन नसकेको प्रअ राउतले बताइन्।  

आन्तरिक द्वन्द्वमा फसेका कारण अन्नपूर्ण माविमा पटक–पटक प्रयास हुँदा पनि लामो समयसम्म रिक्त दरबन्दीमा शिक्षक नियुक्ति हुन नसकेको हो। वडाध्यक्ष लिला चौहान र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष जेपी राईबिचको द्वन्द्वका कारण विद्यालय समेत द्वन्द्वमा फसेको हो। द्वन्द्व चर्किदै गएको अवस्थामा राईलाई विव्यासबाट हटाएर भीम राउतलाई अध्यक्ष बनाएको जनाइएको छ। 

प्रकाशित: १४ चैत्र २०७७ १०:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App