coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

बौद्धिक चोरी आरोपमा प्राध्यापक कारबाहीमा

त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्ले एक प्राध्यापकसहित सातजनालाई बौद्धिक चोरीको आरोपमा कारबाहीको निर्णय गरेको छ। बौद्धिक चोरी गरेर अन्तर्राष्ट्रिय जगत्मा त्रिविको बदनाम गरेको भन्दै विश्वविद्यालयले कारबाहीको कडा कदम चालेको हो। त्रिविको विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसका रसायनशास्त्रका प्राध्यापक पर्शुराम मिश्रसहित सातजनाले फ्रान्सका प्राध्यापक आरमेली वेलको क्रिस्टल स्ट्रक्चर नामक कृतिबाट चित्रसहितको सामग्री हुबहु नक्कल गरेर आफ्नो नाममा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गराएका थिए।

सम्बन्धित लेखकले आफ्नो लेखबाट सारिएका अंश चित्रसहित राखेर त्रिवि उपकुलपति कार्यालयमा बौद्धिक चोरीमा संलग्न प्राध्यापक पर्शुराम मिश्र, आंशिक प्राध्यापक रोहित देव, सहप्राध्यापक जनक अधिकारी, हरेराम मिश्र र विमल कण्ठ गरी छ जनाविरुद्ध उजुरी दर्ता गराएका थिए। आरोपित हरेराम पर्शुरामकै भाइ हुन्। पर्शुरामले आर्टिकलमा आफ्नो भाइको नामसमेत राखेर चर्चित बनाउने प्रयास गरेका थिए। विमल कण्ठ जनकपुरका रारा बहुमुखि क्याम्सका उपप्राध्यापक हुन्। यो पनि त्रिविकै आंगिक क्याम्पस हो।

उपकुलपति कार्यालयमा सम्बन्धित लेखकले उजुरी गरे पनि कार्यकारी परिषद्ले त्रिवि केन्द्रीय क्याम्पस रसायन शास्त्र विभागका प्राध्यापक रामचन्द्र बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको रजिस्ट्रार पेशल दाहालले बताए। उनका अनुसार कार्यकारी परिषद्ले गठन गरेको समितिले अध्ययन, अनुसन्धान गरी कार्यकारीलाई बुझाएको प्रतिवेदनअनुसार आरोपित सातजना नै बौद्धिक चोरीको दोषी ठहरिएका हुन्।

‘कार्यकारी परिषद्ले पहिलोपटक बौद्धिक चोरीको सवालमा कडा कारबाही गर्ने निर्णय गरेको हो,’ रजिस्ट्रार दहालले नागरिकसँग भने, ‘प्राध्यापक मिश्रसहित पाँचजनालाई कारबाहीस्वरूप हालसम्म विभिन्न जनरलमा छपाएका आर्टिकल अमान्य गरिने, दुई वर्षसम्म कुनै पनि अध्ययन–अनुसन्धानमा सहभागी हुन नपाइने र दुई वर्षसम्मै कुनै पनि विद्यार्थीको थेसिस गाइड तथा सुपरीवेक्षक बन्न नपाइने कारबाही गरिएको छ।’ आंशिक प्राध्यापक रोहित देवलाई भने दुई वर्ष कुनै पनि विश्वविद्यालय वा क्याम्सहरूमा कक्षा सञ्चालन गर्न नपाइने कारबाही गरिएको छ। कारबाहीका लागि सम्बन्धित कलेजहरूमा पत्राचार भइसकेको छ।’

रजिस्ट्रार दहालले अरूले मिहिनेतका साथ प्रकाशित लेखलाई ‘क्रेडिट’ समेत नदिएर आफ्नो नाममा छपाउनु प्राज्ञिक क्षेत्रमा ठूलो अपराध भएको बताए। उनले यस्तो अपराध नियन्त्रण गर्न त्रिविले छिट्टै सफ्टवेयर कार्यान्वयनमा ल्याउने तयारी गरेको दाबी गरे। ‘हामीकहाँ बौद्धिक चोरी पत्ता लगाउने हालसम्म कुनै सफ्टवेयर वा विधि निर्माण भएकै छैन,’ उनले भने, ‘सम्बन्धित लेखकले प्रमाणसहित उजुरी दिएपछि बल्ल हामीले थाहा पायौं। यस्ता थुप्रै घटना अझै पनि लुकेका होलान्। त्यस्ता घटना पत्ता लगाउन त्रिविले सफ्टवेयरको छिटै व्यवस्था गर्ने तयारी गरिरहेको छ।’

शासयन शास्त्रका विभागीय प्रमुख बिनिल अर्यालले विश्वका अन्य विश्वविद्यालयहरूमा बौद्धिक चोरी गरे/नगरेको पत्ता लगाउन सक्ने सफ्टवेयर सबै विभागमा राखिए यस्ता चोरीहरूको घटना नहुने बताए। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डा। पारसनाथ यादवले विश्वविद्यालयका प्राध्यापकहरूले मिहिनेत नगर्ने र चोर बाटोबाट बढुवा हुने प्रलोभनमा यस्ता विकृति गरिरहेको आरोप लगाए।

- क्षमायाचनासहित सच्चाइएको  

नागरिक दैनिकको चैत १३ गते शुक्रबार पृष्ठ ९ मा प्रकाशित ‘बौद्धिक चोरी आरोपमा प्राध्यापक कारवाही’ शिर्षक समाचारमा असावधानीवश नरेन्द्र चौधरीको नाम उल्लेख हुन गएकोमा सच्चाइएको छ । यसबाट सम्बन्धित व्यक्तिलाई पर्न गएको असुविधाप्रति गम्भीर हुँदै क्षमायाचना गर्छौं ।  

प्रधान सम्पादक

प्रकाशित: १३ चैत्र २०७७ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App