coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

१६ महिनादेखि शिक्षक दरबन्दी रिक्त, बल्ल थालियो नियुक्ति प्रकृया

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवालुङस्थित अन्नपूर्ण माविको रिक्त राहत दरबन्दीमा १६ महिनापछि शिक्षक नियुक्तिको प्रकृया थालिएको छ। लामो समयदेखि रिक्त रहेको प्रावि तहको दुई वटा र निमावि तहको एक वटा राहत दरबन्दीमा शिक्षक नियुक्तिका लागि शनिबार परीक्षा सञ्चालनको तयारी गरिएको अन्नपूर्ण माविका प्रअ रेखादेबी बस्नेत राउतले बताइन्। 

अन्नपूर्ण माविको प्रावि राहत दरबन्दीमा कार्यरत शिक्षिका किसन राई र बरुणा राई स्थायी भएर अन्यत्र गएपछि २०६७ साल मंसिर १ गतेदेखि दरबन्दी रिक्त छ। यस्तै, निमावि तहमा गणित विषय पढाउँदै आएका शिक्षक दिनेश आचार्य नासुमा नाम निकालेर गएपछि २०७६ साल मंसिर १५ गतेदेखि सो दरबन्दी रिक्त छ। मावि तहमा समेत गणित विषय पठन–पाठन गराइरहेका शिक्षक आचार्य नासुमा उत्तिर्ण भएर हिँडेपछि त्यस यता अन्नपूर्ण माविका छात्र/छात्रा गणित विषयको पठन–पाठनबाट लगभग बञ्चित छन्।  

अघिल्लो शैक्षिक–सत्रमा अन्य विषयका शिक्षकलाई गणित पढाउन लगाइए पनि चालु शैक्षिक–सत्र गणित विषयको पढाइ हुन सकेको छैन। रिक्त राहत प्रावि दरबन्दीमा ७ जना र निमावि राहत दरबन्दीमा १ जनाको आवेदन गरेको विद्यालयले जनाएको छ। गत शनिबारका लागि तय गरिएको शिक्षक छनौट परीक्षा ठीक एक हप्ता पछि सारिएको हो। रिक्त राहत दरबन्दीमा शिक्षक नियुक्तिका लागि करिब महिना दिनअघि अनुमति दिइएको नगरपालिकाका शिक्षा शाखाका छैठौं अधिकृत तिर्थ बिश्वकर्माले बताए।  

आन्तरिक द्वन्द्वमा फसेका कारण अन्नपूर्ण माविमा पटक–पटक प्रयास हुँदा पनि लामो समयसम्म रिक्त दरबन्दीमा शिक्षक नियुक्ति हुन नसकेको हो। वडाध्यक्ष लिला चौहान र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष जेपी राईबिचको द्वन्द्वका कारण विद्यालय समेत द्वन्द्वमा फसेको हो। द्वन्द्व चर्किदै गएको अवस्थामा राईलाई विव्यासबाट हटाएर भीम राउतलाई अध्यक्ष बनाएको जनाइएको छ।

प्रकाशित: ७ चैत्र २०७७ ०७:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App