५ वैशाख २०८१ बुधबार
शिक्षा

विद्यार्थी आन्दोलन हिंसामा परिणतः कलेज तोडफोड र सुरक्षा गार्डमाथि आक्रमण

शुल्क मिनाहाको माग राखेर इटहरीका निजी कलेजका विद्यार्थीले थालेको आन्दोलनले उग्र रूप लिएपछि हिंसामा परिणत भएको छ ।

कोरोना महामारीको समयको शुल्क मिनाहा माग राख्दै निजी कलेजमा अध्ययनरत विद्यार्थीले थालेको आन्दोलन शुक्रबारदेखि हिंसामा परिणत भएको हो । शुक्रबार विद्यार्थीले इटहरी बजार क्षेत्रमा चक्काजाम र प्रदर्शन गर्दै उपमहानगरपालिका परिसरमा दिनभर घेराउ गरे । जसले यहाँको अवस्था दिनभर तनावग्रस्त बन्न पुग्यो ।  

बिहान १० बजेदेखि दुई घण्टासम्म चक्काजाम गरेपछि आन्दोलन वार्ता गर्ने सर्तमा उपमहानगरपालिका गेटअगाडि घेराउमा परिणत हुन पुग्यो । कलेज सञ्चालक र इटहरी उपमहानगरसँगको वार्तामा एक साताभित्र समस्या समाधान गर्ने निर्णय भएको छ । यद्यपि, वार्तामा भएको सहमतिबारे स्वयं वार्तामा सहभागी विद्यार्थीले घेराउमा बसेका अन्य विद्यार्थीलाई समझदारीमा ल्याउन सकेका छैनन् । नेतृत्वविहीन विद्यार्थी समूहले अकस्मात् कलेजमा तालाबन्दी गर्ने निर्णय गर्‍यो । लगत्तै विद्यार्थी समूहले विश्व आदर्श कलेजमा तोडफोड गर्नुका साथै सुरक्षा गार्ड मोहनकुमार अधिकारीमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । उनलाई उपचारका लागि विराटनगर लगिएको छ ।  

उपमहानगरसँग भएको निर्णयपछि बाहिर घेराउमा रहेका विद्यार्थी आवेशमा आएर त्यहाँबाट विश्व आदर्श कलेज पुगी गेट तोडफोड गर्नुका साथै कलेजभित्रका सिसा पनि फुटाएका छन् । कलेजको मुख्य गेटमा तालाबन्दी गरेका छन् । तालाबन्दी गर्ने क्रममा सुरक्षा गार्ड अधिकारीलाई समेत विद्यार्थी समूहले आक्रमण गरेको प्रिन्सिपल गणेश दुलालले बताए । विश्व आदर्शमा तोडफोड गरेपछि विद्यार्थी समूह कस्तूरी कलेज जाने क्रममै प्रहरीले सूचना पाएकाले त्यहाँ भने कुनै अप्रिय घटना नभएको जानकारी दिइएको छ ।  

शुक्रबारको छलफलमा इटहरी उपमहानगरप्रमुख द्वारिकलाल चौधरीले ७ दिनभित्र सहमति गराउने भने पनि वार्तामा बसेका विद्यार्थी नै के गर्ने भनेर अलमलमा परेका थिए । सहमति भएपछि इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख सूर्य सुवेदीले उपमहागनरको मुख्य गेटमा घेराउमा बसेका विद्यार्थीलाई निर्णय सुनाउन खोज्दा होहल्ला गरेपछि सम्भव भएन । वार्तामा बसेका विद्यार्थीले नै घेराउमा बसेका विद्यार्थीलाई सहमतिमा ल्याउन सकेनन् । अन्ततः घेराउमा बसेको विद्यार्थी समूहले विश्व आदर्श कलेज पुगेर तालाबन्दीसँगै तोडफोड गरेको थियो । आन्दोलनरत विद्यार्थी समूहको कमान्ड गर्ने व्यक्ति नहुँदा हिंसात्मक ढंगले अघि बढेको कलेज सञ्चालकले बताएका छन् ।

आन्दोलनमा उत्रिएका विद्यार्थी समूहले शुक्रबार इटहरी क्षेत्रमा झन्डै तीन घण्टा चक्काजाम गरे । विश्व आदर्श, सुस्मा, कस्तूरी र कोसी कलेजका विद्यार्थीले चक्काजाम, उपमहानगरपालिका घेराउसँगै तोडफोडसम्म गरे । यसरी आन्दोलन हिंसात्मक बनेपछि कलेज सञ्चालन गर्ने वा नगर्ने भनेर कलेज सञ्चालकको बैठक बसेको छ ।  

वार्ताका क्रममा प्रमुख चौधरीले स्थानीय सरकार र शिक्षालय सञ्चालकबीच शुल्क निर्धारणमा कमजोरी भएको स्वीकार गर्दै त्यसलाई पुनरवलोकन गरी विद्यार्थी, अभिभावक र कलेज सञ्चालक तीनै पक्षलाई चितबुझ्दो गरी समस्या समाधान गरिने बताए । इटहरी उपमहानगर शिक्षा महाशाखाले भने असोज महिनादेखि यताको मात्र शुल्क लिन कलेजलाई समन्वय गर्दै आएको छ । तर, कलेज सञ्चालक त्यसमा पनि सहमत भएका छैनन् ।

विद्यार्थीले आन्दोलन जारी राखेका छन् । तर उनीहरूको आन्दोलन योजनाबद्ध पनि छैन, नेतृत्वका लागि कुनै जिम्मेवार समूह पनि छैन । जसले गर्दा कुन रूपमा आन्दोलन अघि बढ्ने भन्ने कुनै टुंगो छैन । सुष्मा कलेज कक्षा १२ मा अध्ययनरत प्रिन्स नेपालले भने तत्काल शुल्क मिनाहा नभए आन्दोलन अघि बढ्दै जानेछ ।  

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) का सागरप्रसाद भट्टराईले विद्यार्थीलाई विभिन्न समूहले उक्साएर आन्दोलन हिंसातर्फ अघि बढाएको बताए । कलेजमा अध्ययनरत विद्यार्थीको आवेगलाई प्रयोग गरेर अवाञ्छित समूहले कलेज तोडफोड र सुरक्षा गार्डमाथि आक्रमण गरेको हिसानले ठहर गरेको छ । हिसानले त्यसरी घटना घटाउनेलाई पहिचान गरी कारबाही गर्न स्थानीय प्रहरी प्रशासनसमक्ष माग गरेको छ।

प्रकाशित: ७ चैत्र २०७७ ०१:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App