६ वैशाख २०८१ बिहीबार
शिक्षा

ललितपुर शिक्षा विकास तथा समन्वय एकाइले निःशुल्क सेवा दिने

ललितपुर माहानगरपालिका शिक्षा विकास तथा समन्वय एकाइले सेवाग्रहीलाई निःशुलक सेवा उपलब्ध गराउने निर्णय गरेको छ। एकाइले बडापत्रमा अबदेखि सेवा प्रवाह गर्दा कुनै पनि शीर्षकमा शुल्क नलिने उल्लेख गरेको छ।

विगतमा जिल्ला शिक्षा कार्यालयको संरचनाअन्तर्गत खडा गरिएको जिल्ला शिक्षा कोषलाई समेत खारेजी गरेको एकाइ प्रमुख रमेश मैनालीले बताए। उनले पाँच महिनाअघि मात्र कार्यालय सम्हालेका हुन्। कार्यालय सम्हालेलगत्तै हालको अवस्थामा देश संघीयतामा गइसकेको र कोषको कुनै औचित्य नभएको छलफल र गृहकार्य गर्दै आएका थिए। यसै क्रममा कोषको कुनै औचित्य नै नदेखेपछि खारेजी गरेको उनले जनाए। विगतमा कोषमा रकम जम्मा गर्ने बहानामा शिक्षक नियुक्ति, सरुवा ,बढुवा, विद्यार्थीलाई कक्षा ८ को प्रमाणपत्रको प्रतिलिपी दिँदा, प्रमाणपत्र प्रमाणीकरण गर्दा, विद्यालय प्रमाणीकरण गर्दा , विद्यार्थी विदेश जाँदा त्यसका लागि प्रमाणपत्र भेरिफाइ गर्दासमेत हरेक शीर्षकमा शुल्क असुली हुने गरेको थियो।  

विगतमा कक्षा ८ को प्रतिलिपी लिँदा दुई सय ५० रूपैयाँ, प्रमाणपत्र भेरिफाइ गर्दा पाँच सय रूपैयाँ, शिक्षक सरुवा गर्दा, नियुक्ति गर्दा, बढुवा गर्दा विद्यालय प्रमाणीकरणलगायतका थुप्रै शीर्षकमा एक हजारमाथि शुल्क असुली हुँदै आएको थियो। तर हाल नयाँ एकाइ प्रमुख रमेश मैनाली र सूचना अधिकारी सुरेन्द्र भट्टको संयुक्त पहलमा कोष खारेजी गरी सेवाग्राहीलाई निःशुल्क सेवा उपलब्ध गराउने कार्य प्रशंसायोग्य रहेको एकीकृत अखिल नेपाल शिक्षक संगठनका ललितपुर जिल्ला अध्यक्ष रामकाजी बिस्टले बताए।  

‘अब कागजात र प्रक्रिया पुगको हकमा सेवाग्राहीले तत्कालै सेवा उपाउने व्यवस्था गरको छौं। जसवापत कुनै शीर्षकमा शुल्क लाग्ने छैन,’ एकाइ प्रमुख मैनालीले भने, ‘अब देश संघीयतामा गएसँगै विद्यालय शिक्षाको सम्पूर्ण जिम्मेवारी स्थानीय सरकारले गर्छन्। हाम्रो एकाइको जिम्मेवारी पनि घटेको छ।’ कार्यालय सञ्चालन र व्यवस्थापन खर्च सरकारले हामीलाई दिएकै छ। यस्तो अवस्थामा सेवाग्राही सँग शुल्क लिनु गलत भएकोले निःशुल्क सेवा दिने निर्णय गरी बडापत्र नै राखेको उनले बताए।

हाल सरकारले शिक्षा विकास तथा समन्वय एकाइलाई शिक्षक सेवा आयोगले प्रत्योजन गरेको शिक्षक नियुक्ति, शिक्षकको अन्तरपालिका सरुवा, अन्तर जिल्ला र जिल्लान्तर सरुवाको काम, शिक्षकको कार्य सम्पादन तथा मूल्यांकन, एसइई परीक्षा सञ्चालन र व्यवस्थापन तथा अनुगमन तथा कक्षा १२ को परीक्षाका लागि केन्द्र तोक्ने र केन्द्राध्यक्ष नियुक्ति गर्नेलगायत २१ वटा काम गर्ने अधिकार एकाइको जिम्मेवारीमा रहेको सूचना अधिकृत सुरेन्द्रप्रसाद भट्टले बताए।  

‘कक्षा ९ र एसइईको परीक्षाको रजिष्ट्रेसन र आवेदन शुल्कबाहेक अरू सेवा ग्राीहले कुनै शीर्षकमा शुल्क तिर्नुपर्दैन,’ सूचना अधिकृत भट्टले भने, ‘विगतमा शिक्षा कोषको निहुँमा सेवाग्राहीलाई दुःख दिने र विकृति बढाउने कार्यको अन्त्य गरेका छौं। यस्ता कोष अब सबै जिल्लाबाट खारेजी गरिनुपर्छ।’

नेपाल शिक्षक संघ ललितपुर जिल्लाका अध्यक्ष गणेश खनालले हालको शिक्षाको व्यवस्थाले संवैधानिक रूपमा जिल्लाका रूप परिवर्तन गरेको बताउँदै उनले एकाइ सञ्चालन र प्रशासनिक खर्च सरकारले दिएको अवस्थामा कोष खारेजी भएको सकरात्मक काम भएको जनाए। उनले सबै पालिकाहरूले सेवाग्राहीलाई निःशुल्क र छिटो छरितो सेवा दिने काम ललितपुर शिक्षा विकास तथा समन्वय एकाइबाट सिक्दै जानुपर्ने सुझाए।

प्रकाशित: ५ चैत्र २०७७ ०२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App