७ वैशाख २०८१ शुक्रबार
शिक्षा

अक्षय कोषको सहयोगमा डेढ दर्जन बालबालिका उच्च शिक्षा पढ्दै

बालबालिकालाई विद्यालय पोशाक वितरण गरिँदै । तस्बिरः महेश्वर

बाल अधिकारक्षेत्रमा क्रियासिल बाल विकास समाज (सिडिएस) उदयपुरद्वारा सञ्चालित ‘जीविकोपार्जन तथा सामाजिक सुरक्षा परियोजना’ले जिल्लाका डेढदर्जनको उच्च शिक्षा अध्ययन गर्ने ढोका खुलेको छ । विगत ५ वर्षदेखि जिल्लाका दुई स्थानीयतहमा लागु भएको परियोजनाबाट उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिकाका १६ वडाबासी  बालबालिकालाई उच्च शिक्षा पढ्ने अवसर मिलेको हो ।

अन्तराष्ट्रिय दातृ निकाय सेभ द चिल्ड्रेन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सिडिएसले कटारी नगरपालिकाका ८, ११ र १३ नं. तथा उदयपुरगढी गाउँपालिकाका सबै (८ वटा) वडामा परियोजना सञ्चालन गरिरहेको छ । बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा सहयोग गर्ने मुख्य लक्ष्य लिएर सञ्चालित परियोजना निकै प्रभावकारी भएको भन्दै स्थानीयले अपनत्व ग्रहण गरेपछि काम गर्न सहज भएको सिडिएसका अध्यक्ष इश्वर राना मगरले बताए ।  

अध्यक्ष मगरले परियोजनाका सबै गतिबिधि बालबालिकालाई केन्द्रि गरेर गर्ने गरिएको छ । लक्षित बर्गलाई प्रत्यक्ष लाभ पुर्याउने उदेश्यले गाउँगाउँमा ‘बाल अक्षय कोष’ स्थापना गरेको परियोजनाले सहकारीर्फत संकलित रकमको घुम्ती कोष परिचालन गरेको छ । कोषको रकम बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा मात्र खर्च गर्न वडामा ‘गाउँ/नगर बाल संरक्षण संबद्र्धन उपसमिति’को गठन गरी त्यसकै सिफारिसमा खर्च गर्ने गरिएको छ । कुनै बालबालिका बिबिध कारणले बीचमै पढाई छाड्न बाध्य भए उनीहरुको पढाई निरन्तरता दिन कोषले सहयोग जुटाउने गरेको छ ।  

पहिलो र दोस्रो फेजको कार्यक्षेत्र अनुसार खोलिएको अक्षय कोषमा हाल ८३ लाख ३५ हजार रुपैंया संकलन भएर घुम्ती कोष परिचालन भईरहेको संस्थाका सामाजिक संरक्षण अधिकृत चेतराज श्रेष्ठले बताए । उनका अनुसार कोषको रकम परिचालन गर्दा वडाध्यक्ष, कोष पदाधिकारी, सहकारी र संबद्र्धन उपसमिति पदाधिकारी तथा बाल क्लबको सहमति अनिवार्य गरिएको छ । कोष दुरुपयोग नगरी बालअधिकार केन्द्रित गर्न यसो गरिएको अधिकृत श्रेष्ठले बताए ।  

परियोजनाको सम्पूर्ण लक्ष्य बालबालिकाको शिक्षा र स्वास्थ्यमा केन्द्रित गरिएकाले उनीहरुको शिक्षामा हौसला प्रदान गर्दै गरिवी र अभावका बीच पनि उच्च शिक्षा अध्ययन गर्ने वातावरण मिलाउन संस्था प्रतिबद्ध रहेको सिडिएसका सचिव देवबहादुर गिरीले बताए । अक्षय कोषको सहयोगबाटै हालसम्म १८ बालबालिकाले उच्च शिक्षाको अवसर पाएको गिरीले बताए । शैक्षिक वर्ष ०७७ समेत गरी १८ बालबालिकाले विद्यालय शिक्षा परीक्षा (एसइइ) उत्तिण गरेर उच्च शिक्षा पढिरहेको संस्थाले जनाएको छ ।  

सेभ द चिल्ड्रेनका जिल्ला संयोजक दीपकराज बुढाथोकीले बालअधिकारमा केन्द्रित भएर सेभले यो दोस्रो चरणको परियोजना उदयपुरमा लागु गरेको बताए । बालअधिकारको दीगो र व्यवस्थित ग्यारेन्टी गर्ने उदेश्यले जिल्लाका १६ वटा वडामा बाल अक्षय कोष खोलेर सहकारीमार्फत परिचालन गर्दै बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा सहयोग गर्दै आएको र कार्यक्रम प्रभावकारी भएको बुढाथोकीले बताए ।  

परियोजनाले गर्ने कार्यक्रमलाई प्रभावकारी र बढी लाभदायक बनाउन उदयपुरगढीमा गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ भने कटारीमा नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठको संयोजकत्वमा सल्लाहकार समिति बनाइएको छ । वडाध्यक्षलगायत जनप्रतिनिधि र सरोकारवाला संस्था तथा व्यक्तिहरुलाई समेटिएको समितिले परियोजनाले गर्ने हरेक कामलाई प्रभावकारी र फलदायी बनाउन आवश्यक सुझाव सल्लाह र अनुगमनसमेत गर्ने गरेको छ ।  

पछिल्लो समयको परियोजनाको प्रगतिबारे गतसाता मात्र संस्थाले सल्लाहकार समितिसँग समीक्षा बैठक राखी आवश्यक सुझाव सल्लाह लिएको छ । गत बिहीबार बसेको समीक्षा बैठकमा सल्लाहकार संयोजक केप्छाकी, वडाध्यक्षहरु, सदस्यहरु, गाउँपालिका कृषि विकास समिति र आर्थिक विकास समितिका सदस्यलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । संस्थाका कार्यक्रम संयोजक मंगल खुनाहाले प्रस्तुत गरेको परियोजनाको प्रगति प्रतिबेदनमाथि छलफल गर्दै समीक्षा बैठकले आगामी दिनमा थप राम्रा कार्यक्रम गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको थियो ।  

परियोजनाको गतिबिधिले गाउँपालिकाका ८ वटै वडाका बालबालिकामा प्रभावकारी लाभ मिलेको निश्कर्ष निकालेको समीक्षा बैठकले सहयोगप्रति दातृ निकाय सेभ द चिल्ड्रेन र साझेदार गाउँपालिकालाई धन्यबाद प्रस्ताव पनि पारित गरेको अधिकृत श्रेष्ठले बताए ।

प्रकाशित: ११ फाल्गुन २०७७ ०४:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App