८ वैशाख २०८१ शनिबार
शिक्षा

‘भाषालाई अर्थतन्त्रसँग जोडे मात्र जगेर्ना हुनसक्छ’

अन्तर्राष्ट्रिय मातृभाषा दिवस

युनेस्कोले तय गरेको ‘समाज र शिक्षामा मातृभाषाको प्रवद्र्धन’ नारासहित आइतबार (२१ फेबु्रअरी) मा विश्वभरि मातृभाषा दिवस मनाइएको छ । नेपालमा पनि भाषा आयोगले मातृभाषालाई जोगाउन बहुभाषिक शिक्षा उपलब्ध गराइ बालबालिकाको अध्ययनको क्रममा भाषिक कठिनाई हटाउने लक्ष्यका साथ दिवस मनायो । आयोगका अध्यक्ष लवदेव अवस्थीले नेपालमा पहिचान भएका १ सय ३१ भाषालाई कसरी जोगाउने र त्यसको प्रयोग तथा प्रवद्र्धन गर्नेबारे विज्ञहरूसँग भर्चुअल छफलफल गरेका थिए ।  

अध्यक्ष अवस्थीले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर वृद्धि गर्न बालबालिकालाई मातृभाषामा पढाइ गराउनुपर्ने जोड दिए । आयोगले त्यस अनुसार विभिन्न स्थानीय तहसँग सहकार्य गरी काम अगाडि बढेको बताए । कार्यक्रममा शिक्षाविद् बिमलकुमार फुयालले समावेशी लोकतन्त्र सुदृढिकारणका लागि बहुभाषिक नीति र अभ्यास विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै भाषाको उत्थान र प्रवद्र्धन गर्न अर्थतन्त्रसँग जोड्नु पर्ने जोड दिए । अहिले पनि चेपाङलगायत धेरै समुदायमा साझ बिहानको खाना कै समस्या भए पनि उनीहरू पैसा तिरेर विदेशी भाषा सिक्ने गरेको र रोजगारीका लागि कोरिया, जापानलगायतका देश जाने तयारीमा रहेको भन्दै भाषालाई अर्थतन्त्रसँग जोडे मात्र भाषाको जर्गेना हुन सक्ने उनको भनाइ थियो । ‘भाषाको अर्थतन्त्र वा अर्थतन्त्रसँग जोडिएको भाषाको व्यवस्था हुनुपर्छ,’ शिक्षाविद् फुयालले भने ‘व्यक्ति, समाज र मुलुक सबैको मेरुदण्डनै अर्थतन्त्र हो ।’  

आयोगका सल्लाहकार प्राडा तेजरत्न कंस्कारले भारतमा थुप्रै भाषा बोल्नेको समुदाय रहेको र उनीहरूको त्यहाँको सरकारले पहिचान गरी सबैको संरक्षण र प्रवद्र्धन गर्न सेन्ट्रल इन्डियन ल्याङवेज इन्स्टिच्युट स्थापना गरेरै अघि बढेको उदाहरण दिँदै नेपालमा पनि त्यस प्रकारको छुट्टै संयन्त्र स्थापना हुनुपर्ने माग गरे । ‘लिपि नभएको र लोप हुँदै गएका भाषाहरूलाई बचाउन र पहिचान भएका १ सय ३१ वटा भाषाको संरक्षण गर्नका लागि हाम्रो सरकारले संयन्त्र स्थापना गर्नुपर्छ,’ सल्लाहाकार कंसकारले भने ‘यो हामी सबैको जिम्मेवारी हो । भाषा आयोगले पहल गर्नुपर्छ ।’ कार्यक्रममा भाषाविद् अमृतयोन्जन तामाङले मातृभाषामा शिक्षा, हामी कहाँ छौं ? भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले भाषाको प्रवद्र्धन गर्न विद्यालय तहमा मातृ भाषामा शिक्षक दरबन्दी सृजना गर्नुपर्नेमा जोड दिए ।  

भाषा आयोगका अर्का सल्लाहकार नोवेलकिशोर राईले भाषाको संरक्षण गर्न विद्यालयमा बालबालिकालाई मातृ भाषाबाटै पढाउन सुझाव दिए । उनले भाषा आयोगको संरचना पनि साँगुरो भएकोले पूर्ण रूपमा काम गर्न समस्या आएको बताए । हालसम्म आयोगका सदस्यहरू नियुक्ति नहुनु आफैँमा अर्को समस्या भएको सल्लाहकार राईको भनाइ थियो । ‘स्कुलमा भाषा पढाउने शिक्षक दरबन्दी सृजना नगरेसम्म भाषाको विकास हुँदैन,’ उनले भने, ‘सरकारले मातृभाषा, दोस्रो भाषा, अन्तर्राष्ट्रिय भाषा र शास्त्रीय भाषा गरी चार विषयमा स्पष्ट भएर मात्रै अघि बढ्नुपर्छ ।’  

आयोगका सूचना अधिकृत डा. लोकबहादुर लोपचनले युनेस्कोले सन् २०२२ देखि २०३२ लाई आदिवासी भाषा दशकको रूपमा घोषणा गरेकाले सोही सन्दर्भमा यस वर्षपको मातृभाषा दिवस अब कसरी अगाडि जाने भन्ने विषयमा नीति तथा कार्यक्रम तय गरेर हरेक देशअघि बढ्नु पर्ने बताए । नेपालमा जनगणाले १ सय २३ भाषा पहिचान गरेको र ८ वटा भाषा आयोगले पहिचान गरी हालसम्म कुल १ सय ३१ भाषा बोल्ने समुदायको पहिचान भएको उनले जनाए । मातृभाषालाई जोगाउन आयोगले स्थानीय सरकारसँग सहकार्य गरी प्रारम्भिक बाल विकास र कक्षा १ सम्म अध्यापन गराउने शिक्षकलाई तालिम दिएर पठनपाठन सुरु गरेको सूचना अधिकृत लोपचनले बताए ।  

‘आयोगले गोर्खा, काभ्रेपलानचोक, पाँचथर, दाङ, ललितपुर, कालिनचोक, सुनसरी, सुर्खेतलगायतका जिल्लामा रहेका स्थानीय तहमा रहेका विद्यालयमा मगर, उराउ, थामी, तामाङ, पहरी, थारुलगायतका भाषामा पठनपाठन सुरु गरिएको छ,’ उनले भने ‘अब दनुवार, डोटेली, बजिका, वान्तवालगायतका भाषामा यो वर्ष काम सुरु हुन्छ ।’

प्रकाशित: ११ फाल्गुन २०७७ ०२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App