८ वैशाख २०८१ शनिबार
शिक्षा

थोरै तलबमा काम गर्दै स्वयंसेवक शिक्षक

स्थानीय तहले भर्ना गरेका स्यवंसेवक शिक्षकहरू न्युन तलबमा काम गर्दै आएका छन्। जिल्लाका १० वटा स्थानीय तहमा दोगडाकेदार गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहले स्वयंसेवक शिक्षक भर्ना गरेका छन्। थोरै तलबमा काम गर्दा विद्यार्थीहरूले गुणस्तरीय शिक्षा पाउन नसकेको अभिभावकको भनाइ छ।

सरकारले पारिश्रमिकका लागि न्युनतम मापदण्ड लागु गरेको भए पनि यहाँका स्थानीय तहले आपूm अनुकुल शिक्षकको तलब दिने गरेका छन्। तलबमा एकरूपता नहुनु र उचित पारिश्रमिकको व्यवस्था नहुँदा शिक्षा क्षेत्रको शैक्षिक गुणस्तरमा प्रभाव परेको स्वयंम शिक्षकहरूकै भनाइ छ।

एउटै तहमा अध्यापन गराउने शिक्षकले स्थानीय अनुसार फरक–फरक तलबमापन राखिएको छ। पाटन नगरपालिकाले अन्य स्थानीय तहभन्दा थोरै तलब दिने गरेको छ। पाटन नगरपालिका भित्र आधारभूत तह १ कक्षादेखि ८ सम्म अध्यापन गराउने शिक्षकलाई मासिक ७ हजार ५ सय र मावि तहमा १० कक्षासम्म अध्यापन गराउने शिक्षकलाई ९ हजार ५ सय पारिश्रमिक दिँदै आएको छ। सिगास गाउँपालिकाले आधारभूत तह १ कक्षादेखि ५ कक्षासम्म अध्यापन गराउने शिक्षकलाई मासिक ८ हजार, ८ कक्षासम्म अध्यापन गराउने शिक्षकलाई १२ हजार र मावि तह १० कक्षासम्म अध्यापन गराउने शिक्षकलाई १६ हजार दिँदै आएको छ।

मेलौली नगरपालिकाले आधारभूत तह कक्षा १ देखि ५ सम्म अध्यापन गराउने शिक्षकलाई १० हजार, ८ कक्षासम्म ११ हजार, मावि तह १० कक्षासम्म १४ हजार र कक्षा १२ सम्म अध्यापन गराउने शिक्षकलाई १५ हजार तलब तोकेको छ। डिलासैनी गाउँपालिकाले आधारभूत तह कक्षा १ देखि ५ सम्म अध्यापन गराउने शिक्षकलाई मासिक १० हजार, ८ कक्षासम्म अध्यापन गराउने शिक्षकलाई १२ हजार, मावि तह १० कक्षासम्म अध्यापन गराउने शिक्षकलाई १५ हजार र १२ कक्षासम्म अध्यापन गराउने शिक्षकलाई १८ हजार तलब दिँदै आएको छ।

यस्तै सुर्नया गाउँपालिकाले आधारभूत तह कक्षा १ देखि ५ सम्म मासिक १० हजार, ८ सम्म १५ हजार र मावि तह कक्षा १० सम्म अध्यापन गराउने शिक्षकलाई २० हजार दिँदै आएको छ। पञ्चेश्वर गाउँपालिकाले आधारभूत तहमा कक्षा १ देखि ५ सम्म अध्यापन गराउने शिक्षकलाई मासिक १० हजार, ८ कक्षासम्म १२ हजार र मावि तह १० कक्षासम्म अध्यापन गराउने शिक्षकलाई २० हजार दिँदै आएको छ।

दशरथचन्द नगरपालिकाले आधारभूत तह कक्षा १ देखि ५ सम्म मासिक १३ हजार, कक्षा ८ सम्म १३ हजार ५ सय र मावि तह कक्षा १० सम्म अध्यापन गराउने शिक्षकलाई १८ हजार तलब दिँदै आएको छ। पुर्चौडी नगरपालिकाले आधारभूत तह कक्षा १ देखि ५ सम्म मासिक १३ हजार, कक्षा ८ सम्म १४ हजार र मावि तह कक्षा १० सम्म २० हजार ५ सय दिने गरेको शिक्षा शाखा प्रमुख दिनेश नागारीले बताए।

 यस्तै शिबनाथ गाउँपालिकाले प्रावि तह, निमावि तह र मावि तहमा नेपाल सरकारले तोकेको सम्बन्धित तहको पारिश्रमिक स्केलको ५०/५० प्रतिशतका दरले पारिश्रमिक दिँदै आएको छ। स्थानीय तहले आ–आफ्नै तरिकाले कार्यविधि बनाएकाले स्वयंसेवक शिक्षकको सेवासुविधामा एकरूपता नभएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले बताए।

प्रकाशित: १० फाल्गुन २०७७ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App