coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

रामेछापको उमाकुण्डमा शिक्षाको मुहार फेरिँदै

रामेछापको उमाकुण्ड गाउँपालिकामा शैक्षिक क्षेत्रको मुहार फेरिन थालेको छ। गाउँपालिकाले ‘हामी सुधार्छौं, हाम्रै सामुदायिक विद्यालय’ भन्ने मूल नारासहित शैक्षिक कार्यलाई तीव्र रूपमा अघि बढाएपछि शैक्षिक क्षेत्रको मुहार फेरिन थालेको हो।  

गाउँपालिकाले आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क प्राप्त गर्ने नागरिकको मौलिक हकलाई कार्यान्वयन गर्दै अघि बढाएको गाउँपालिका प्राविधिक सहायक ङावा शेर्पाले बताए।  

उनका अनुसार गाउँपालिकाले शिक्षा ऐन बनाएर पालिका भित्रको शिक्षामा रहेको समस्या पहिचान गरी सुधारका लागि सरोकारवालाहरूसँग छलफल गर्दै प्रधानाध्यापकहरूसँगको बैठक, शिक्षक, विद्यार्थी, अभिभावक, समुदाय, वडा, गाउँ शिक्षा समिति सबैको सहभागितामा शिक्षासम्बन्धी कार्यलाई उच्च प्राथमिकताका साथ बजेट विनियोजन गरेको हो।  

२०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले गाउँपालिका भित्रका विद्यालय भवन भत्काएपछि बालबालिकाको पढाइ प्रभावित बनेको थियो। कतिपय सरकारी विद्यालयको संरचना जीर्ण बन्दै गएको र भूकम्पले थप क्षति भएपछि सामुदायिक विद्यालयले ठूलो भौतिक क्षति व्यहोर्नुपरेको थियो।  

जीर्ण पूर्वाधारको सामना गरेका विद्यालयले नियमित पठनपाठन सञ्चालनमा समेत समस्या खेप्न बाध्यता थियो। अहिले गाउँपालिकाभित्र ४६ वटा विद्यालयका भौतिक स्वरूप परिवर्तन हुन थालेका छन् ।  कतिपय विद्यालयको संरचनाहरू निर्माण हुने चरणमा छन्।  

विद्यालयमा पुराना जस्ताको टहराको भरमा पढाइ सञ्चालन गरिएकोले बर्खामा पानी चुहिने र हिउँदमा चिसो खेप्दै निरन्तर पढाइ सञ्चालन हुन्थ्यो।

भौतिक संरचना पुननिर्माणले तीव्रता पाएसँगै प्रत्येक वडाका विद्यालयका मुहार फेरिएको उनको भनाइ छ। ‘विद्यालयको मुहार फेरिएसँगै पठनपाठनमा सहज हुनुका साथै विद्यार्थीमा उत्साह थपिदिएको छ, ‘शेर्पाले नागरिक न्यूजसँग भने, ‘गाउँपालिकाभित्रका विद्यालयको आवश्यकता अनुसार भवन, शौचालय, पुस्तकालयका लागि आवश्यक भवन निर्माण भइरहेका छन् ।’  

विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न प्रारम्भिक बालविकास सहजकर्तालाई ‘मन्टेश्वरी’ विधिको तालिम दिई कक्षाकोठाको सजावट आकर्षक र मनोरञ्जनात्मक बनाउन पर्याप्त शैक्षिक सामग्री, खेल सामग्री, सिकाइ सामग्री, मनोरञ्जन सामग्री र अडियोभिडियो सामग्रीको व्यवस्थापन गरी गुणस्तरको थालिएको छ।  ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्र्तगत केही विद्यालयमा नर्स नियुक्ति गरिएको छ ।  

अस्थायी टहरामा कष्टका साथ पढ्दै आएका विद्यार्थी पक्की भवन, शौचालय, ल्याबको सुविधासहितको सेवा पाएपछि खुसी भएका छन् ।  

विद्यालय प्रशासनले  खेलमैदान, खानेपानीको सुविधा तथा अन्य गतिविधिलाई नियमित रूपमा सञ्चालनमा ल्याएको छ । यस्ता कार्यले विद्यालयका शिक्षक तथा अभिभावकले पनि पढाइमा सुधार हुने अपेक्षा लिएका छन् ।  

गाउँपालिका भित्रका विद्यालय भवन पुनर्निर्माण पूरा हुँदै गएको छ। अस्थायी टहरा तथा जीर्ण कक्षा कोठामा बसेर अध्ययन गर्ने  विद्यार्थी अहिले आधुनिक प्रविधिसँग जोडिएको शेर्पा बताउँछन् ।  

‘भूकम्पप्रतिरोधी भवनमा बसेर पढ्ने वातावरण तयार भएपछि विद्यार्थी, शिक्षक र अभिभावकमा खुसी छाएको छ,  शेर्पा भन्छन्, ‘शिक्षण पेसा सिक्ने र सिकाउने बौद्धिक पेसा हो। विद्यालयमा सिकाउने विधिमा कसरी फरक ल्याउन सकिन्छ भन्ने कुरामा पनि ध्यान दिएका छौं।’  

विद्यालय समयमा शिक्षक र विद्यार्थीबीच आपसमा वार्तालाप र अन्तरसंवाद हुन जरुरी छ। ‘शिक्षक र विद्यार्थीबीच अन्तरसंवाद भयो भने सिकाइ र क्रियाकलाप प्रभावकारी हुन सक्छ,’ उनी भन्छन्, ‘कक्षालाई शान्त बनाउने भन्दैमा शिक्षक–विद्यार्थी मौन रहनु, चुप लाग्नु होइन। शिक्षक विद्यार्थीको अन्तरसंवादलाई निरन्तरता दिनु नै असल सिकाइको विधि हो। हामीले यस्ता परिपाटीको  पनि निर्माण गरिरहेका  छौं ।’  

विकासको पहिलो प्राथमिकता नै शिक्षा हुने भएकाले शिक्षित, सभ्य र समृद्ध गाउँपालिका बनाउन समेत शिक्षा आवश्यक पर्ने उनको तर्क छ। ‘शिक्षा समाज विकासको मेरूदण्ड हो। शिक्षित समाजविना समृद्ध समाजको परिकल्पना गर्न सकिँदैन। शिक्षाको विकासबिना मानव समाजको विकास पनि सम्भव छैन,’ उनले भने, ‘उज्ज्वल भविष्यको आशामा विद्यालय प्रवेश बालबालिकाहरूको सुन्दर भविष्य निर्माण गर्न एंव आफ्ना सन्तानको उज्ज्वल भविष्य निर्माणको लागि संघर्षरत अभिभावकको लगानी सुरक्षित गर्न सबै सरोकारवाला निकायहरू सजक, उत्तरदायित्व र जिम्मेवार बन्नु आवश्यक छ।’

स्थानीय बासिन्दा सिमान्त बराइली पहिलेभन्दा अहिले शिक्षामा गुणस्तरीयता आएको बताउँछन् । ‘शिक्षामा गुणस्तर आएको छ। हामीले पढ्ने समयमा जस्ताको टहरमा बसेर पढ्नुपथ्र्यो, उनले भने, ‘अहिले विद्यालयका पक्की भवनहरू बनेका छन् । यसले साँच्चै नै विद्यार्थीले गुणस्तर शिक्षा आर्जन गर्नमा मद्दत गर्छ।’

अर्को स्थानीय सुदीप सुनुवार पनि गाउँपालिकाले अहिले शिक्षामा महत्वपूर्ण काम गरिरहेको बताउँछन् । ‘प्रत्येक वडामा शैक्षिक क्षेत्रलाई सुधारका लागि गाउँपालिकाले विभिन्न भौतिक संरचनाहरू निर्माण गरिरहेको छ,’ उनले भने,‘अर्कातिर शिक्षामा गुणस्तर बढाउन विभिन्न कार्यक्रम पनि भइरहेका छन् ।’  

प्रकाशित: ६ फाल्गुन २०७७ १०:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App