८ वैशाख २०८१ शनिबार
शिक्षा

शैक्षिक सत्र असार १ मा सुरु गर्न नियमावली संशोधन

चालु शैक्षिक सत्र आगामी जेठमा सकिने भएको छ। शिक्षा नियमावली संशोधन गरेर उक्त व्यवस्था गरेसँगै कोभिडका कारण प्रभावित विद्यालय तहको शैक्षिक सत्र कहिले सकिने भन्ने अन्योल पनि टुंगिएको छ। योसँगै नयाँ शैक्षिक सत्र २०७८ असार १ गतेदेखि सुरु हुने टुंगो लागेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

 यसका लागि मन्त्रिपरिषद्को निर्णयअनुसार शिक्षा नियमावली संशोधन गरिएको मन्त्रालयका सचिव गोपीनाथ मैनालीले बताए।उनले हाल शिक्षा नियमावली, २०६९ लाई संशोधन गरी दुई विशेष प्रावधानको व्यवस्था गरिएको जनाए। यसअघि नियमावलीमा शैक्षिक सत्र वैशाखदेखि सुरु भएर चैतसम्म सक्ने व्यवस्था थियो।

 संशोधित नियमावलीमा विशेष परिस्थितिमा महामारी तथा विपतको समयमा मन्त्रालयले वैशाखदेखि चैतको साटो अवस्था हेरेर आफैंले शैक्षिक सत्र तोक्न सक्ने व्यवस्था गरेको छ। ‘यो वर्षको विद्यालय तहका सबै परीक्षा जेठको दोस्रो सातासम्म सक्नेगरी नियमावली संशोधन भएको छ,’ सचिव मैनालीले नागरिकसँग भने, ‘जेठको तेस्रो सातादेखि विद्यालय तहको नयाँ भर्ना प्रक्रिया सुरु गर्न विद्यालहरूले सूचना प्रकाशन गर्नुपर्छ र जेठको अन्तिमसम्म भर्ना सक्नुपर्छ।’ 

असार १ गतेदेखि नयाँ शैक्षिक सत्र २०७८ को सुरुवात गर्ने नियमावलीमा व्यवस्था गरिएको उनको भनाइ थियो। उनले दुई शैक्षिक सत्र २४ महिनाको हुने भएकाले चालु शैक्षिक सत्रलाई दुई महिना बढाएर र नयाँ शैक्षिक सत्रलाई १० महिना अगाडि ल्याएर शैक्षिक सत्र मिलाउने उनले जनाए।

यसैगरी एसइईसम्बन्धी पनि अर्को व्यवस्था गरिएको छ। संशोधित नियमावलीअनुसार यसपटको एसइईमा स्थानान्तरणको व्यवस्था गरिएको छ। ‘यसपटक कोभिडका कारण विद्यार्थी आ–आफ्ना जिल्लामै रहेकाले र कक्षा पनि वैकल्पिक माध्यमबाटै भएकाले स्थानान्तरणसहितको रजिस्ट्रेसनको व्यवस्था गरिएको छ,’ सचिव मैनालीले नागरिकसँग भने, ‘आकस्मिक कार्ययोजना ल्याइएको छ, जसबाट विद्यार्थीहरू जहाँ छन् त्यही नजिकैको स्कुलबाट एसइई दिने व्यवस्था गरिएको छ।’ 

यसअघि स्थानान्तरणसहितको एसइईको परीक्षा दिन पाउने व्यवस्था थिएन। स्थानान्तरणसहितको रजिस्ट्रेसनका लागि विद्यालयलाई फागुन ६ गतेसम्मको समय दिइएको छ। राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले मन्त्रिपरिषद्ले एसइई बोर्डले नै सञ्चालन गर्ने निर्णय गरेको बताए। ‘अब परीक्षा सञ्चालनको प्राविधिक तयारी गरेर बोर्ड अघि बढ्छ,’ उनले भने, ‘बोर्ड लिखित पत्राचारको पर्खाइमा छ।’

प्रकाशित: ३ फाल्गुन २०७७ ०३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App