८ वैशाख २०८१ शनिबार
शिक्षा

त्रिविको शैक्षिक सत्र तीन महिना धकेलियो

कोभिडका त्रासका कारण शैक्षिक क्षेत्रमा नकारात्मक असर परेको छ। त्रिभुवन विश्वविद्यालयले गत वर्षकै परीक्षा सम्पन्न गरिसकेको छैन। यस्तो अवस्थाकै कारण विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको शैक्षिक सत्र तीन महिनापछाडि सार्ने निर्णय गरेको छ। विश्वविद्यालयका विभिन्न संकायका डिनहरूको माघ पहिलो साता बसेको संयुक्त बैठकको निर्णयअनुसार नयाँ शैक्षिक सत्र सार्वजनिक गरेको हो।  

विश्वविद्यालयका शिक्षाध्यक्ष शिवप्रसाद भुसालले स्नातक तहको शैक्षिक सत्र फागुनमा र स्नातकोत्तर तहको वैशाखमा सुरु हुने निर्णय भएको बताए। सोहीअनुसार विश्वविद्यालयले शैक्षिक क्यालेन्डरसमेत सार्वजनिक गरेको उनको भनाइ छ। यसअघि स्नातक तहको नयाँ शैक्षिक सत्र मंसिरदेखि सुरु हुने त्रिवि नियममा उल्लेख छ। तर कोभिडकै कारण यस वर्ष शैक्षिक सत्र देखि तीन महिनापछि सार्नुपरेको उनको भनाइ छ। कोभिडका कारण विश्वविद्यालयका कक्षाहरू १० महिनादेखि बन्द रहे भने परीक्षाहरू अझै सम्पन्न भएको छैन। ‘२०७६ चैत–वैशाखमा हुनुपर्ने परीक्षाहरू बल्ल सुरु भएका छन्। स्नातक र स्नातकोत्तर तहका विभिन्न परीक्षा सञ्चालन भइरहेका छन्,’ शिक्षाध्यक्ष भुसालले नागरिकसँग भने, ‘अब त्रिविका संस्थान र संकायहरूले फागुनलाई नै आधार मानेर नयाँ भर्ना खुलाइरहेका छन्। स्नातकको कक्षा फागुन २५ गतेदेखि सुरु हुन्छ।’ स्नातकोत्तर तहको कक्षा वैशाखमा सुरु हुने भएकाले भर्नादेखि प्रवेश परीक्षाको काम चैतभित्रै सक्नुपर्ने उनले बताए।  

उच्च शिक्षाको ८० प्रतिशत भार थेगेको त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भविष्यलाई ख्यालमा राखेरै फागुनदेखि कक्षा सञ्चालन गर्ने निर्णय गरेको शिक्षाध्यक्ष भुसालले दाबी गरे। स्नातक तहको परीक्षा अब पुसमा हुने र परीक्षा सम्पन्न भएको तीन महिनाभित्र नतिजा प्रकाशित गर्ने शैक्षिक क्यालेन्डर विश्वविद्यालयले प्रकाशित गरेको उनले जनाए। विश्वविद्यालयका रजिस्ट्रार पेशल दहालले कोभिडको उच्च जोखिमकै कारण विश्वविद्यालयको शैक्षिक सत्र तीन महिना धकेलिएको जनाए। त्रिविमा करिब ५ लाख बढी विद्यार्थी अध्ययन गर्छन्। प्रायः निम्न वर्गकै विद्यार्थीले उच्च शिक्षाका लागि त्रिवि रोज्ने गर्छन्। कोभिडका कारण अनलाइन कक्षा सञ्चालन गरिए पनि खासै प्रभावकारी हुन सकेन। त्यही भएर परीक्षा पनि ढिला भएको हो। 

‘विश्वविद्यालयका त वर्षकै परीक्षाहरू सबै विद्यार्थी उपस्थितकै आधारमा भइरहेका छन्,’ रजिस्ट्रार दाहालले नागरिकसँग भने, ‘अर्कोतर्फ कक्षा १२ को नतिजा पनि माघमै प्रकाशित भयो। स्नातकमा तिनै विद्यार्थी भर्ना हुने हो।’ उनले थपे, ‘अवस्था सामान्य भए आउँदा शैक्षिक सत्रहरू पुनः पुरानैमा फर्काइनेछ।’ हाल सबै संकाय तथा संस्थानका विभिन्न विषयमा नयाँ भर्ना खुलिसकेको उनले बताए।

प्रकाशित: २४ माघ २०७७ ०२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App