२३ फाल्गुन २०७७ आइतबार
शिक्षा

प्रअले भवन भत्काए, विद्यार्थी चौरमै पढ्न बाध्य

विद्यालय भवन भत्काइएपछि चौरमा बसेर पढ्दै गरेका विद्यार्थी । तस्बिर : नागरिक

बराहताल गाउँपालिका–१ स्थित काफलगैरामा भैरव आधारभूत विद्यालय छ । कक्षा ३ सम्म पढाइ हुने विद्यालयमा अघिल्लो वर्षसम्म दुई कोठे कच्ची भवन थियो । ५० भन्दा बढी विद्यार्थी नियमित अध्ययन गर्थे । गाउँलेले आफ्ना नानी–बाबु अध्ययन गर्ने विद्यालयमा थप कक्षा कोठाको माग गरे । भवन माग्दै स्थानीय वडादेखि गाउँपालिकासम्म धाए । गाउँपालिकाले भैरव आधारभूत विद्यालयको भवन निर्माणका लागि १६ लाख रुपैयाँ छुट्यायो ।  

स्थानीयले भवन निर्माणका लागि ढुंगा जम्मा गरे । २१ किलोमिटर टाढा भेरीकिनारको रानीघाटबाट बोरामा बालुवा बोकेर ल्याए । तत्कालीन विद्यालयका प्रधानाध्यापक सुन्दरकुमार विकले नयाँ भवन बनाउन भन्दै पुरानो भवन भत्काउन लगाए । अहिले यहाँ न पुरानो भवन छ, न नयाँ भवन बनेको छ । विद्यार्थी चौरमै राखेर पढाउनुपर्ने बाध्यता छ ।

‘तत्कालीन प्रअका कारण पुरानो भवन पनि भत्कियो, नयाँ भवन बन्न सकेन,’ वडाध्यक्ष तुलादेव भारतीले भने, ‘साना नानीबाबुलाई चौरमा राखेर पढाउनुपर्ने बाध्यता छ ।’ वडाध्यक्ष भारतीका अनुसार व्यवस्थापन समितिले ढुंगा र बालुवा जुटाउने र प्रअले सिमेन्टलगायत सामग्री व्यवस्थापन गर्ने गरी कार्यविभाजन गरिएको थियो । ‘हामीले भवन निर्माणका लागि आवश्यक पर्ने ढुंगा र बालुवा जम्मा ग¥यौं,’ तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर वलीले भने, ‘प्रअले सिमेन्टलगायत सामाग्री खरिद गरेर ल्याउनुपर्नेमा हामीलाई थाहै नदिई विद्यालयको खातामा आइसकेको पैसा रानीवनको विद्यालयलाई दिएछन् ।’ उनका अनुसार सिमेन्ट, सरियालगायत सामग्री खरिदका लागि वीरेन्द्रनगर गएका प्रअले हार्डवेयर व्यवसायीसँग कमिसन मागेका थिए । ‘कमिसनमा कुरा नमिलेपछि प्रअले अर्को विद्यालयलाई पैसा पठाएको थाहा भयो,’ उनले भने, ‘न पहिलेको भवन बाँकी रह्यो, न नयाँ भवन बन्यो ।’ विद्यालय भवन हुँदासम्म दैनिक ५०/५५ विद्यार्थी नियमित अध्ययनका लागि आउँथे । अहिले भवन छैन । पानी परेको दिन, हावाहुरी चलेको दिन विद्यालय बन्द हुन्छ । एक जना कार्यालय सहयोगीका भरमा विद्यालय सञ्चालन भइरहेको छ । चालु शैक्षिक सत्रमा ११ जना विद्यार्थी मात्रै भर्ना भएका छन् ।

‘अहिले पाँच/सात जना विद्यार्थी मात्रै नियमित आउँछन्,’ कार्यालय सहयोगी ढकबहादुर चुनाराले भने, ‘आएका विद्यार्थीलाई चौरमा राखेर पढाउने गरेको छु ।’ नजिक अर्को विद्यालय छैन । सुँगुरखालको वसन्त नेपाल राष्ट्रिय प्राविमा पुग्न तीनदेखि चार घण्टाको समय लाग्छ । ‘पैसा हुनेहरू वीरेन्द्रनगरमा कोठा भाडामा लिएर आफ्ना छोराछोरी पढाउँछन्,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ससबहादुर भण्डारीले भने, ‘केही नहुनेका छोराछोरी गाईबाख्रा चराउन जंगल जान्छन् ।’

वडाध्यक्ष भारतीले नयाँ भवन निर्माणका लागि पहल भइरहेको बताए । उनले कोरोना संक्रमणका कारण पालिकाको बजेट घटेकाले नयाँ भवन तत्कालै भने बनाउन नसकिने बताए । ‘धेरै दुःख गरेर अघिल्लो वर्ष १६ लाख रुपैयाँ छुट्याउन सफल भएको थिएँ,’ वडाध्यक्ष भारतीले भने, ‘प्रअको बदमासीले भवन भन्न सकेन, नयाँ भवन बनाउनका लागि पालिका र अन्य सरोकारवाला निकायमा कुरा भइरहेको छ ।’

प्रकाशित: २३ माघ २०७७ ०७:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App