७ वैशाख २०८१ शुक्रबार
शिक्षा

‘सबैलाई समेटेर अघि बढ्छु’

काठमाडौं विश्वविद्यालय

अन्य विश्वविद्यालयमा उपकुलपति पद रिक्त हुँदा उपकुलपति पाउन महिनौं कुर्नुपर्ने अवस्थामा काठमाडौं विश्वविद्यालयले भने यस पटक समयमै उपकुलपति प्राप्त गरेको छ। राजनीतिक खिचातानीमा अल्झिएका नेपालका विश्वविद्यालयलाई काठमाडौं विश्वविद्यालयमा उपकुलपति नियुक्तिले नमुना साबित भएको छ। किनभने माघ ७ गते पूर्व उपकुलपति प्राडा रामकण्ठ मकाजुको पद रिक्त हुनासाथ सोही दिन विश्वविद्यालयको कुलपतिको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिस्पर्धाबाट उत्कृष्ट स्थान हासिल गरेका प्राध्यापक डा. भोला थापालाई नयाँ उपकुलपतिमा नियुक्ति गरेका थिए।  

काठमाडौं विश्वविद्यालयको यस पटकको उपकुलपति नियुक्ति चर्चामा रहनुको एउटै कारण हो गठित उपकुुलपति सर्च कमिटीले उपकुलपतिका आकांक्षीहरूको आवेदन नै माग गरेको थियो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा गठित कमिटीमा ४४ आकांक्षीको आवेदन प्राप्त भएको थियो। त्यसमध्ये कमिटीले मापदण्डमा परेका प्राडा रामकण्ठ मकाजु, प्राडा भोला थापा र प्राडा बलचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो। त्यसमध्ये माघ ७ गते प्रतिस्पर्धामा उत्कृष्ट भएर प्राडा भोला थापा उपकुलपतिमा नियुक्त भए। त्यही भएर नवनियुक्त थापा भन्छन्, ‘काठमाडौं विश्वविद्यालयको उपकुलपति बन्न सजिलो छैन।’  

उपकुलपति थापाको नियुक्ति पनि विश्वविद्यालयको अप्ठेरो अवस्थामै भएको हो। किनभने हाल विश्वविद्यालयमा विभिन्न माग राखेर दिनहुँ शिक्षक, विद्यार्थी तथा कर्मचारीको आन्दोलन भइरहेको छ। यस्तो अवस्थामा विश्वविद्यालयको उपकुलपति पद सम्हाल्नु चानचुने कुरा होइन। तर ५३ वर्षीय उपकुलपति थापाले आफूले सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। ‘म यही परिवेशमा जन्मिएको हुँ। मलाई विश्वविद्यालयको सबै वस्तुस्थिति थाहा छ,’ बानेश्वर थापागाउँमा जन्मिएका उपकुलपति थापा भन्छन्, ‘शिक्षक, विद्यार्थी तथा कर्मचारीले आआफ्नो अस्तित्व खोज्नुभएको छ। सबैतिर प्रजातान्त्रिक अभ्यास कायम भएको छ। म सबै पक्षलाई समेटेर विश्वविद्यालयको हितमा अघि बढ्नेछु।’  

उनले ल्याबोरेटरी स्कुलबाट २०३९ सालमा एसएलसी पास गरेका हुन्। विज्ञानमा रुचि राख्ने उनले आइएस्सी पास गरेपछि कोलम्बो छात्रावृत्तिमा आवेदन दिए। तर भारत सरकारबाट स्वीकृति आउन केही दिन लाग्ने भएपछि उनले सोही स्कुलमा बालबालिकालाई पढाउन थालेपछि उनलाई शिक्षण पेसामै लाग्न रुचि बढेको हो। उनले भारतको पन्जाब इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङमा स्नातक पास गरेका हुन्। नेपाल सरकारको छात्रावृत्तिमा पढेकाले उनी नेपाल फर्केर नेसनल कन्स्ट्रक्सन कम्पनीमा मेकानिकल इन्जिनियरिङको रूपमा सेवा गर्न थालेको बताउँछन्। ‘त्यो बेला कहाँ ढाँट्न पाइन्थ्यो र,’ मेकानिकल इन्जिनियर थापाले नागरिकसँग भने, ‘सरकारले पढाएपछि नेपाल फर्केर हामीले अनिवार्य सेवा दिनुपर्ने नियम थियो। नत्र सजाय हुन्थ्यो।’

त्यही बेला प्राध्यापक डा. सुरेशराज शर्माको पहलमा धुलिखेलमा काठमाडौं विश्वविद्यालय (केयु) स्थापना गर्ने कानुनी मान्यता मिल्यो। २०४७ सालमा केयु स्थापना भएको हो। २०५१ सम्म भौतिक पूर्वाधार बन्दै थिए। त्यही बखत काठमाडौं विश्वविद्यालयले नेपालमा पहिलो पटक मेकानिकल इन्जिनियरिङको पठनपाठन सुरु ग¥यो। ‘हामी स्नातक गरेका ६ जनाबाट केयुमा नेपालमै पहिलो पटक मेकानिकल इन्जिनियरको पठनपाठन सुरु भएको हो। तर पछि चारजना बिदेसिए र एक जनाले छाडे। मचाहिँ केयुको पहरेदार भएर बसें,’ २७ वर्ष केयुमा शिक्षण सेवा गरेका उनले नागरिकसँग भने, ‘केयुमा मेकानिकलको तह बढ्दै गएपछि मैले फेरि भारतको राजस्थानस्थित ब्रिला इनस्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीबाट मेकानिकलमै मास्टर गरें। पछि फेरि नर्वेमा नेपालको हाइड्रोपावर डेभलपमेन्टमा विद्यावारिधि गरेको हुँ।’  

अध्ययनपछि नेपालमै शैक्षिक क्षेत्रमा सेवा दिने उद्देश्यका साथ आफूले केयुमै काम गरेको उनको भनाइ छ। ९ वर्ष डिन र ५ वर्ष राजिस्ट्रार भएका उनले भने, ‘म ४४ प्रतिस्पर्धीलाई उछिनेर आफ्नो २७ वर्षको लामो प्राज्ञिक र व्यवस्थापकीय अनुभव तथा अध्ययन अनुसन्धानको आधारमै उपकुलपति छनोट भएको हुँ, हाम्रो विश्वविद्यालयमा अब पदाधिकारी नियुक्ति हुँदा पनि चिनजानको आधार नभएर मापदण्डको आधारमा प्रतिस्पर्धाबाटै नियुक्ति गर्नुपर्ने मापदण्ड बनाएर म अघि बढ्ने छु। म केयुलाई नमुनाको रूपमा स्थापित गर्ने छु।’

यति मात्र होइन उप, सह हुँदै विगत १३ वर्षदेखि प्राध्यापक रहेका उनी हाल केयुमा मुख्य रूपमा शैक्षिक क्यालेन्डर व्यवस्थापन र बैंकको पहुँचमा उच्च शिक्षा पु¥यान मुख्य चुनौती रहेको बताउँछन्। ‘जतिबेला नेपालमा प्राविधिक शिक्षाको पठनपाठन नभएकाले उच्च संख्यामा नेपाली युवा बिदेसिने समस्या थियो त्यसबेला केयुको स्थापना भएको थियो,’ उपकुलपति थापा चिन्ता व्यक्त गर्छन्, ‘तर हाल पनि उच्च शिक्षा हासिल गर्न बिदेसिने युवालाई हामीले रोक्न सकेका छैनौैं। जुन हाम्रा लागि दुर्भाग्य हो।’  

उनी थप्छन्, ‘त्यही भएर अब विश्वविद्यालयमा पढेर पढाएर मात्र हुँदैन, विश्वविद्यालयको फाइन्डिङलाई उद्योग व्यवसासँग जोडेर अघि बढ्ने मेरो लक्ष्य हो। उद्योग व्यवसायीसँग सहकार्य गरी हामीले विश्वविद्यालयभित्र ग्रान्ट ल्याउन सके युवाले रोजगारी र अवसर पाउँछन्।’

प्रकाशित: १६ माघ २०७७ ००:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App