२३ फाल्गुन २०७७ आइतबार
शिक्षा

बुवाको सेवाले दिलायो अन्तर्राष्ट्रिय अवार्ड

१२ वर्षअघि बुवा बिरामी परेपछि कृष्ण मुरारी गौतम (चट्याङ मास्टर)को जीवन नै परिवर्तन भएको थियो । त्यही घटनाकै कारण स्थापना भएको संस्थाले आज उनलाई २० हजार अमेरिकी डलरको विश्व प्रख्यात युनेस्को अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार दिलाएको छ । त्यही क्षण सम्झेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा युनेस्कोको आयोजनामा भएको पुरस्कार हस्तान्तरण कार्यक्रममा शिक्षामन्त्रीको हातबाट पुरस्कार, मेडल र प्रमाणपत्र दिँदा उनी केहीबेर भावुक बनेका थिए ।  

पुरस्कार पाउँदा उनले बिरामी बुवाको सेवा गरेरै यहाँसम्म आइपुगेको सम्झे । ‘यो पुरस्कार त्यत्तिकै कहाँ पाएको हुँ र, पिताजीको सेवा गर्दागर्दै यहाँसम्म आइपुगेकाले अवार्ड पाएको हुँ,’ उनले भने, ‘पिताजीको सेवामा बाधा उत्पन्न गर्ने मेरा परिवारलाई समेत मैले छाडेर हिँडेँ । आमाबुवाभन्दा यो संसारमा कोही ठूलो छैन ।’  

१२ वर्षअघि गौतमका बुवालाई बिर्सने रोग (डिमेन्सिया) लाग्यो । पाँच दाजुभाइमध्ये जेठा छोरा कृष्ण गौतममाथि पिताजीको स्याहारसुसार गर्ने जिम्मेवारी आयो । अन्य दाजुभाइ र तिनका परिवारले पिताजीलाई नहेर्ने भएपछि आफूले पिताजीको सम्पूर्ण जिम्मेवारी लिए । गौतम पिताजीकै सेवा गर्न सबै काम छाडेर घरै बसे ।

सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष, चीन, भारतलगायत अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय संस्थामा ग्रामीण विकासविदको रूपमा काम गरिसकेका गौतमले जब सबै काम छाडेर पिताजीको दिलोज्यानले दिसापिसाब सोहोर्नेदेखि खानपिनको व्यवस्था, स्वास्थ्य सरसफाइ सबैमा ध्यान दिन थाले तब त्यही विषयमा उनको परिवारमा कलह बढ्दै गयो । ‘मैले पिताजीकै सेवा गर्दागर्दै एजिङ नेपाल संस्था स्थापना गरेँ । तर मेरा पत्नी र ससुरालीले मलाई यो काम गर्दा केही फाइदा नहुने, घरबाटै पैसा खर्च गरी सबै सम्पत्ति सिध्याएको भनेर मेरो काममा अवरोध गरेपछि मैले घरपरिवार छाडेको हुँ,’ उनले भने । ६७ वर्षीय गौतम हाल काइँलो भाइ प्रकाश गौतमको परिवारसँग बस्छन् । 

‘पिताजीको सेवामा मलाई काइँलो भाइ प्रकाश र उनको परिवारले साथ दिएको छ,’ उनी खुसी हुँदे भने, ‘जब म एउटा सक्षम छोराले आफ्नो बुवालाई आफ्नो कमाइले स्याहार्दा परिवारबाटै यत्रो विरोध भयो भने अरुको के हालत होला भनी मैले सन् २०११ मा काइँलो भाइ प्रकाश र उनकी पत्नीको सहयोगले एजिङ नेपाल संस्था स्थापना गरेँ । अनि ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्न थाले ।’ उनले अवार्ड पाएको पनि यही कामका लागि हो ।

प्रकाशित: ७ माघ २०७७ ०७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App