१६ चैत्र २०८० शुक्रबार
शिक्षा

अनमीको परीक्षामा सिएमएको प्रश्नपत्र

घोराहीस्थित राप्ती हेल्थ इन्स्टिच्युटमा ‘अनमी’ अध्ययनरत मञ्जु दर्लामी गत वर्ष कात्तिकमा भएको अन्तिम परिक्षामा फेल भइन्। एनोटोमी एण्ड फिजियोलोजी विषयमा फेल मञ्जुले पुरक (मौका) परिक्षाको अवसर पाइन्। एउटा विषय लागेको खण्डमा मौका परिक्षा दिन पाइने व्यवस्था छ। कोरोना महामारीका कारण लामो समयसम्म मौका परिक्षा हुन सकेन। शनिबार मात्रै उनले मौका परिक्षा दिन पाइन्।  

तर, सिटिइभिटी अन्तर्गतको परिक्षामा गरिएको चरम लापरबाहीका कारण अनमीमा अध्ययनरत मञ्जुले परिक्षा भने सिएमएको दिइन्। उनलाई अनमीको प्रश्नपत्र नदिई सिएमएको प्रश्नपत्र उपलब्ध गराइएको थियो। फरक कार्यक्रमको परिक्षा दिएकी उनले भनिन् ‘अनमीको विद्यार्थी मैले सिएमएको परिक्षा दिएपछि म सोझै फेल हुने निश्चित भयो नि ।’  

एनोटोमी एण्ड फिजियोलोजी नामक विषय सिएमए र अनमी दुवैमा पढाइ हुन्छ। तर, विषयको नाम एकै भए पनि सिएमए र अनमीको पाठ्यक्रम भने फरक हुन्छ। घोराहीस्थित परिक्षा केन्द्रमा भने कुन कार्यक्रमका विद्यार्थीहरू हुन् भन्ने हेक्का राखिएन। अनमीका परिक्षार्थीलाई सिएमएको प्रश्नपत्र बाँडियो र परिक्षा गराइयो। ‘विषयको नाम एउटै भएकाले सुरुमा हामीहरूले ख्यालै गरेनौं,’ मञ्जुले भनिन् ‘पेपरमा सोधिएका प्रश्नहरू फरक÷फरक लाग्यो, पछि सिएमएको प्रश्नपत्र भन्ने थाहा पायौं ।’

पशुपति बुढालाई पनि सुरुमा फरक कार्यक्रमको परिक्षा दिइरहेको छु जस्तै लागेन। उनले प्रश्नहरू घुमाएर दिएको होला भन्ने मात्रै लाग्यो। तर, परिक्षा सकिएपछि उनले पनि बल्ल थाहा पाइन्, ‘आफूले अनमीको नभई सिएमएको परिक्षा दिएछु भन्ने ।’ प्रश्नहरू धेरै फरक थिए, तर पनि घुमाएर सोधेको होला भन्ने लाग्यो, सुरुमा ख्यालै गरेनौं,’ उनले भनिन् ‘परिक्षा सकिएपछि बल्ल थाहा पाएँ, सिएमएको परिक्षा दिएछु भन्ने ।’ एक विषयको मौका परिक्षा दिन पाएकी पशुपतिलाई पनि यो मौका गुमेकोमा ढुक्क छिन्। ‘अनमीको परिक्षा नै नदिएपछि कसरी पास हुने त ?’ उनले भनिन् ‘कम्तिमा हामीहरू अनमीका विद्यार्थी हौं भन्ने परिक्षा केन्द्रले त थाहा पाउनु पर्ने थियो ।’

सिटिइभिटी अन्तर्गत शनिबार लिइएको मौका परिक्षामा भएको यो चरम लापरबाहीले दाङमा ८ जना विद्यार्थीको भविष्य अन्योलमा परेको छ। १८ महिने अनमी कार्यक्रममा अध्ययनरत पशुपति र मञ्जु सहित ८ परिक्षार्थीले सिएमएको परिक्षा दिएका छन्। ‘परिक्षा जस्तो संवेदनशिल विषयमा पनि ध्यान पुर्‍याइएन,’ इन्स्टीच्युटका एक अधिकारीले भने, ‘यस्तो गम्भीर लापरबाही गरेर ८ विद्यार्थीको भविष्यमाथि खेलवाड गरियो।’  

सिटिइभिटी लुम्बिनी प्रदेश संयोजक अरबिन्द चौधरीले अनमीका विद्यार्थीलाई सिएमएको परिक्षा दिन लगाइएको भए गम्भीर गल्ती भएको बताए। उनका अनुसार विषयको नाम एकै भए पनि सिएमए र अनमीको पाठ्यक्रम भने निकै फरक हुन्छ। ‘सिएमए र अनमीको एउटै नाम गरेको एनोटोमी एण्ड फिजियोलोजी नामक विषय हुन्छ,’ उनले भने, ‘तर, पाठ्यक्रम भने फरक हुन्छ। सिटिइभिटीले अनमीकै प्रश्नपत्र पठाएको थियो। कसरी फरक प्रश्नपत्र परिक्षार्थीलाई दिइयो, कमजोरी कहाँ भयो रु यसको अनुसन्धान गर्छौं।’

सिएमएको परिक्षा दिएका अनमीका विद्यार्थीहरूका बारेमा सिटिभिटीले अर्को निर्णय नलिए उनीहरू स्वतः फेल हुनेछन्। सिटिइभिटीका प्रदेश प्रमुख चौधरीले पनि केन्द्रको गर्ने निर्णयका आधारमा मात्रै उनीहरूको परिक्षा के हुने भन्नेमा आफूले भन्न सक्ने बताए। ‘सम्बन्धित परिक्षा केन्द्रले त्यहाँ भएको तथ्य सहितको पत्र केन्द्रमा पठायो भने केन्द्रले केही निर्णय गर्ला,’ उनले भने, ‘अन्यथा विद्यार्थीले अनमीको परिक्षा नदिएको स्वतः ठहरिने छ।’

परिक्षा केन्द्र तोकिएको शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका परिक्षा संयोजक सर्जन गौतमले सिएमए र अनमीको परिक्षा विषयको नाम एकै भएकाले प्रश्नपत्र साटफेर हुन पुगेको बताए। ‘परिक्षार्थीले पनि सुरुमा यो कुराको ख्याल गरेनन्, उनीहरूले सुरुमै थाहा पाएको भए सच्याइन्थ्यो ।’ उनले भने, ‘साँझ मात्रै गलती भयो भन्ने थाहा भयो।’ उनका अनुसार शिक्षालयले सिटिइभिटीलाई यहाँ भएको गल्तीका बारेमा जानकारी गराउँदैछ। यसका आधारमा समस्या समाधान हुने उनले दाबी गरे।

प्रकाशित: ५ माघ २०७७ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App