coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

१० महिनापछि स्कुल जान पाउँदा मनै फुरुङ्ग

वसन्तपुरस्थित नवआदर्श माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ७ की पूजा चौधरी आइतबार झोला बोकेर स्कुल जान पाउँदा निकै खुसी देखिन्थिन्। उनको अनुहार निकै हँसिलो थियो। स्कुल पुग्नासाथ उनले स्कुलले व्यवस्था गरेको सेनिटाइजर हातमा लगाइन्। त्यसपछि थोरै सेनिटाइजर हातमा लिएर कक्षाकोठामा पसिन्। त्यो सेनिटाइजर उनले बस्ने बेन्च र डेस्कमा दलिन्। मुखमा मास्क लगाएकी चौधरीले शिक्षिका शान्ति शाक्यलाई १० महिनापछि स्कुल आउन पाउँदा मनै फुरुङ भएको बताइन्। कोभिडको जोखिमका कारण १० महिनादेखि बन्द रहेका काठमाडौं उपत्यकाका धेरैजसो विद्यालय आइतबारदेखि खुलेका छन्।  

यसैगरी शिशु कक्षाका नानीहरू पनि साथीभाइसँग खुलेर हाँसखेल गरिरहेका थिए। कक्षा शिक्षिका मंगला श्रेष्ठ नानीहरूको व्यवस्थापनमा व्यस्त थिइन्। शिशु कक्षाका नानीहरू पनि१० महिनापछि विद्यालय आउन पाउँदा दंग देखिन्थे। धेरै महिनापछि विद्यार्थीलाई प्रत्यक्ष पढाउन पाउँदा निकै सन्तुष्टि मिलेको शिक्षिका श्रेष्ठले बताइन्।  

विद्यार्थीले पनि स्कुलले यसअघि अनलाइन कक्षा सञ्चालन गरे पनि मोबाइल र वाइफाईको नहुँदा पठनपाठन अघि बढाउन नसकेको गुनासो गर्दै स्कुल खुल्दा निकै रमाइलो लागेको अनुभव सुनाए।  

‘स्कुलले अनलाइन कक्षा सञ्चालन गरे पनि घरमा वाइफाई नभएकाले मैले १० महिनादेखि पढ्न पाएकी छैन,’ चौधरीले नागरिकसँग भनिन्, ‘आज स्कुलको गेटमा आउना साथ मेरा आँखा रसाए।’ उले भावुक हँुदै भनिन्, ‘अनलाइन शिक्षा हामी गरिबका लागि होइन रहेछ। किनभने हामीसँग मोबाइल फोन र वाइफाई दुवै छैन। आमाबुवा ज्यालामजदुरी गर्नु हुन्छ। धेरै दिनपछि स्कुल देखेरै आँखामा आँशु आए। साथीभाइसँग १० महिनापछिको भेट र शिक्षकहरूको अनुहार हेरेर पढ्न पाउँदा धेरै विषयवस्तु बुझिने रहेछ।’

प्रिन्सिपल प्रमोद श्रेष्ठका अनुसार नवआदर्श माविमा शिशु कक्षादेखि १२ सम्म यस वर्ष २ सय ८० जना विद्यार्थी भर्ना भएका छन्। अभिभावक आफ्ना नानीहरूलाई विद्यालय पठाउन राजी भएको उनले बताए। ‘काठमाडौं महानगरपालिका शिक्षा विभागले अझै पनि विद्यालय खोल्नेबारे ठोस निर्णय गर्न सकेको छैन,’ प्रिन्सिपल ेश्रेष्ठले भने, ‘डेढ महिनादेखि हामीले अनलाइन कक्षा चलायौं तर प्रभावकारी भएन। शिक्षकले मात्र बोल्ने, विद्यार्थी केही नबोल्ने, बहुमत विद्यार्थीैसँग नेट र मोबाइलको सुविधा नभएकाले अनलाइन कक्षा सञ्चालन चुनौतीपूर्ण रहयो। अभिभावकहरूकै अनुरोधमा आइतबारदेखि स्कुल खोल्यौं। ८५ प्रतिशत विद्यार्थी स्कुल आए। शिक्षकको काम नै विद्यार्थीसँग पठनपाठनमा रमाउने भएकाले हामीलाई स्कुल खुलेकै ठिक छ।’

आइतबारदेखि काठमाडौं उपत्काका सबै विद्यालय महानगरपालिकाको स्वीकृतिबेगर नै खुलेका छन्। अब स्कुलमै भौतिक उपस्थितिमा पठनपाठनलाई निरन्तता दिने विद्यालय सञ्चालक बताउँछन्। स्कुल खोलेपछि विद्यार्थी, शिक्षक र अभिभावक मात्र होइन, स्कुल नै उज्यालो बनेको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलको अनुभव छ। यो स्कुलमा शिशु कक्षादेखि १२ सम्म तीन हजार एक सय विद्यार्थी अध्ययनरत छन्। कक्षा ११ की छात्रा लीना झाले स्कुल आउन पाउँदा खुसी लागेको बताइन्। उनले सबै क्षेत्र खोलेर स्कुल मात्र बन्द गर्नु बेठीक भएको पनि बताएन्। ‘घरमा कक्षामा पढेजस्तै हुँदैन। केही पनि बुझिँदैन,’ उनले भनिन्, ‘हामी घरभन्दा स्कुलमै सुरक्षित छौं। घरमा एउटा कोठामा कोचिएर बस्नुभन्दा विद्यालयको खुला चौर, उज्यालो र हावादार कक्षाकोठामा सेनिटाइजर र मास्क लगाएर पढ्दा हामी सुरक्षित हुुन्छौं।’ प्रधानाध्यापक कँडेलले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर स्कुल सञ्चालन गरेको दाबी गरे।  

काठमाडौं महानगरपालिका संस्थागत विद्यालय महाशाखा प्रमुख मोती खनालले महानगर शिक्षा विभागले विद्यालय खोल्नेबारे अझै निर्णय नगरेको स्पष्ट पारे। ‘महानगर शिक्षा समितिले विद्यालय कसरी खोल्ने र स्वास्थ्य सुरक्षा मापदण्ड केके अपनाउने भन्नेबारे छलफल गरिरहेको छ,’ उनले भने, ‘उपत्यकामा कोरोना जोखिम कायमै छ। यसबारे छलफल भइरहेको छ।’

प्रकाशित: ५ माघ २०७७ ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App