coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

काठमाडौं महानगरको निर्देशिका बिनानै भौतिक उपस्थितिमा विद्यालय खोल्ने तयारी

काठमाडौं उपत्यकाका विद्यालयहरुले महानगरपालिकाको निर्देशन बिनानै विद्यालय संचालन गर्ने तयारी गरेको छ। विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन संचालन गर्ने बारे सार्वजनिक सूचना प्रकासित नै गरी जानकारी दिएको छ।  

महिनौ दिन महागरपालिकाको निर्देशन कुर्दा समेत विद्यालय संचालनबारे कुनै निर्देशन नआएको तर विद्यार्थी र अभिभावकहरु विद्यालयमै उपस्थित भएर आफ्ना नानी पढाउन दबाब दिएकोले विद्यालय खोल्नु पर्ने अवस्था सृजना भएको विद्यालय संचालनकहरुको भनाइ छ।  

कोभिड जोखिमका कारण देखाउँदै काठमाडौं उपत्यकाका पालिकाहरुले विद्यालय नखोल्न निर्देशन दिएका थिए। सोहि कारण ९ महिनादेखि उपत्यकाका सबै विद्यालयहरु बन्दनै छन्। भने विद्यालयहरुले संचालन गर्दै आएको अनलाइन कक्षा खासै प्रभावकारी नभएको डिल्ली बजारमा रहेको बिजय स्मारक माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्ली शर्माले बताए। त्यही भएर उपत्यकाका विद्यालयहरु आफ्नै रिस्कमा भए पनि विद्यालय खोल्नु परेको उनको तर्क छ।  

त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविले मंगलबार अत्यन्त जरुरी सूचना निकालेर हालसम्म अनलाइन कक्षा संचालन भइरहेकोमा अब अगामी माघ ४ गतेबाट शिशुकक्षादेखि १० कक्षासम्म विद्यालयमै भौतिक रुपमा उपस्थित भई कक्षा संचालन गरिने सार्वजनिक सूचनानै प्रकासित गर्यो। यो स्कुलले विद्यालयमा कक्षा संचालन हुने दिनहरु तय गरि सूचना प्रकासित गरि अभिभाव, शिक्षक तथा स्कुलमै टाँस गरेको छ। जस अनुसार शिशु कक्षादेखि ३ सम्म स्कुलले विगतमा संचालन गरेकै समयमा हुने तय गरेको छ भने कक्षा चार र पाँचको सोेमबार, बुधबार र शुक्रबार विद्यार्थीको भौतिक उपस्थितमै विद्यालय संचालन हुने तय गरेको छ। यसैगरी कक्षा ६ को सोमबार, मंगलबार र बुधबार कक्षा संचालन हुने छ। यसैगरी कक्षा ७ देखि ९ सम्म आइतबार, मंगलबार, बिहिबार र शुक्रबार कक्षा हुन्छ। भने कक्षा १० को पठनपाठन साताभरिनै विद्यार्थीहरु विद्यालयमा भौतिक उपस्थित भएर अध्ययन गर्नु पर्ने तय गरेको छ।  

यसकासाथै यो स्कुलले बाँकी दिनहरुको कक्षा अनलाइनबाट संचालन गर्ने समेत तय गरेको छ। स्कुलका प्रधानाध्यापक हेरम्बराज कँडेलले उपत्यकामा सबै क्षेत्र खुला भइसकेको बताउँदै उनले स्कुलमा स्वास्थ्य सुरक्षाका सबै साधानस्रोतहरु अपनाएर मात्र विद्यालय आफ्नै रिस्कमा खोल्ने तय गरिएको जनाए। ‘महानगर शिक्षा विभागसँग निजी तथा सरकारी विद्यालयहरु विद्यालय खोल्नेबारे एक चरणको छलफल भयो। तर कुनै निष्कर्ष निस्केन,’प्रअ कँडेलले भने ‘शैक्षिक सत्रनै अन्त्य हुन लागि सक्यो तर शिक्षा विभागले विद्यालय कसरी संचालन गर्ने र शैक्षिक सत्र पुरा गराउने बारे चासो दिएको देखिएन।’ उनले थपे ‘विद्यालय बन्द मात्र गरेर शिक्षक र कर्मचारी तथा विद्यार्थी घर बस्नु कुनै विकल्प होइन। त्यही भएर हामी आफ्नै रिस्कमा अभिभावको आग्रहमा विद्यालय माघ चार गतेबाट भौतिक उपस्थितमै संचालन गर्ने तय गरेका हौं।’  

तर विद्यालयमा विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकहरु आउँदा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, सेनिटाइजर बोक्नु पर्ने, स्कुलमा ब्यवस्था गरिएको साबुन पानीले हात धोएर मात्र कक्षामा पठनपाठन गराउने, कक्षाकोठामा सामाजिक दूरी कायम गरिने विद्यालयहरुले तय गरेका छन्।  

डिल्लीबजारमा रहेको बिजयस्मारक माविले अगामी माघ ४ गतेदेखि स्कुल संचालन गर्ने सबै तयारी गरिसकेको स्कुलका प्रअ डिल्ली शार्माले बताए। उनले अब महानगरपालिका शिक्षा विभागले निर्देशन दिएपनि नदिएपनि आफूहरु माघ चार गतेदेखिनै विद्यालय खोल्ने अभिभावक, शिक्षक तथा विद्यार्थीलाई सूचना जारी गरिसकेको बताए। यो स्कुलले पुसदेखि कक्षा ११ को कक्षा पनि संचालन गरिसकेको छ भने कक्षा १२ को पहिलो आन्तरिक परीक्षा समेत सम्पन्न गरिसकेको प्रअ शर्मा बताउँछन्। 

‘काठमाडौ महानगरपालिकाले हालसम्म विद्यालय संचालनबारे केहि बोलोको छैन,’ प्रअ शर्मा भन्छन्, ‘शैक्षिक सत्रनै सकिन लाग्यो। नत केन्द्र सरकारले नै शैक्षिक सत्र कहिले सम्पन्न हुने, ०७८ को नयाँ शैक्षिक सत्र कहिले सुरु हुने बोल्न सकेको छ नत महानगरपालिकालेनै कुनै सूचना जारी गरेको छ।’ उनले थपे ‘९ महिना निर्देशन कुर्दे वित्यो। अब कति कुर्ने। शिक्षकले घरै बसी तलब खाए भन्ने आरोप हामीमाथि लाग्दै आएको छ। यो चुनौति चिर्न पनि माघ चार बाटै आफ्नै रिस्कमा विद्यालय खोल्ने निर्णयमा पुग्यौं।’ यसैगरी अनामनगरमा रहेको नेपाल मेघा स्कुलले पनि आफ्नै रिस्कमा विद्यार्थीको भौतिक उपस्थितमै स्वास्थ्य सुरक्षाका सबै मापदन्डहरु अपनाएर पुस दोस्रो सातादेखि विद्यालयमा पठनपाठन सुरु गरिसकेको छ।  

भक्तपुरको सिएमसी, काठमाडौंको दरबार स्कुल, पद्मोद्वय मावि डिल्लीबजार पदमकन्या मावि डिल्ली बजार, रानीपोखरीको संस्कृत मावि, कालिमाटिको निलबाराही, वाफलको ज्ञानोदय माविलगाएत उपत्यकाका सबै विद्यालयले पनि अभिभावकहरुलाई माघ ४ गतेबाटै विद्यालय खोल्ने तयारीको लागि सूचना पठाइसकेको प्रअ शर्माले जनाए।  

निजी विद्यालयहरुको छाता संगठन एन प्याबसनका अध्यक्ष रितु सापकोटाले चालु शैक्षिक सत्र वित्न लाग्दा समेत महानगरले विद्यालय खोल्नेबारे निर्णय नगर्दा शैक्षिक सत्र पुरा गर्न चुनौति थपिएको बताए। ‘हामी निजी विद्यालय संचालकहरु महानगरको निर्णय कुर्दै बसेका छौं,’ अध्यक्ष सापकोटाले भने ‘अब महानगरले तत्काल निर्देशन जारी नगरे अब निजी विद्यालय पनि माघबाटै विद्यालय खोल्न तर्फ लाग्छ।’

भक्तपुरको सिएमसीका एक अभिभावकले उपत्यकामा सबै क्षेत्र खुला भएको तर विद्यालय नखोल्ने विषयनै मान्य नभएको जनाए। ‘९ महिनादेखि छोरो घरमै छ,’ति अभिभावकले भने‘अनलाइन कक्षाले खासै बालबालिकाको चौतर्फी विकास नगरेको मेरो अनुभव।’ उनले सुझाए ‘बरु स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर नानीहरु विद्यालय मै गएर पढ्दा सृजनात्मक बन्ने र उनीहरु साथीभाइबीच रमाउँछन् पनि।’ उनका अनुसार बालबालिकाहरु लामो समय घरमा बस्दा, साथीभाइबीच भेटघाट नहुँदा मानसिक तनावमा हुने गरेका छन्।  

उता काठमाडौं महानगरपालिकाले भने अझै उपत्यकामा कोरोनाको उच्च जोखिम भएकोले विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितमा पठनपाठन गराउने गरी विद्यालय खोल्ने पक्षमा छैन। महानगर शिक्षा विभाग प्रमुख नमराज ढकालले महागरले हालसम्म विद्यालय खोल्नेबारे कुनै निर्णय नगरेको स्पष्ट पारे।  

‘महानगरले अहिले कोरोना जोखिम उच्च रहेकोले विद्यालय बन्दनै गर्ने निर्णयमा छ,’ प्रमुख ढकालले नागरिकसँग भने‘ विद्यालय खोल्ने वा नखोल्ने बारे महानगर शिक्षा समितिको बैठकले मात्र निर्णय गर्ने छ।’

प्रकाशित: ३ माघ २०७७ ०६:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App