८ वैशाख २०८१ शनिबार
शिक्षा

नपढ्ने विद्यार्थीका माग र गलत योजना बनाउने शिक्षकलाई तह लगाएरै छोड्छुः उपकुलपति सिंह

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले विश्वविद्यालयमा एक घण्टा पढाएर भाग्ने ‘हेल्मेट’ शिक्षकलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले भने,'आफू एक घण्टा नपढाउने र विद्यार्थीलाई विश्वविद्यालयको नेतृत्वविरुद्ध जुलुस गर्न लगाउन केही गलत प्रवृतिका शिक्षकका कारण शैक्षिक उन्नयनमा विभिन्न समस्या सिर्जना हुँदै आएको छ।'  

विश्वविद्यालयको १०औँ सिनेटले यहाँ अध्यापनरत शिक्षकलाई सात घण्टा पढाउने निर्णय गरिसकेको छ। यही पुस २६ गते मौका परीक्षा दिन पाउनुपर्छ भन्दै मध्यपश्चिम इञ्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीले उपकुलपतिको कार्यकक्ष तोडफोड गरेपछि पत्रकार सम्मेलन गरेका उनले सो घटनामा संलग्न विद्यार्थी र नियोजित ढङ्गले विद्यार्थी उक्साउने शिक्षकलाई चिनिसकिएको हुँदा उनीहरुलाई सार्वजनिक सम्पतिमाथि तोडफोड गर्ने कसूरमा सार्वजनिक मुद्दा लगाउने बताए।  

'यहाँ केही क्याम्पस प्रमुखले नै कुनामा बसेर हुलदङ्गा गर्न विद्यार्थी उक्साएका छन्,' उनले भने,'नपढ्ने विद्यार्थीका माग र गलत योजना बनाउने शिक्षकलाई तह लगाएरै छोडिन्छ।' मध्यपश्चिम विश्वविद्यालयलाई दुहुनो गाई बनाएर रु.७६ करोड बेरोजु लगाउने मान्छेहरुले नै यसलाई अस्तव्यस्त बनाएको उनको आरोप छ।  

उपकुलपति प्रा डा सिंहले भने,'व्यवहारिक माग भए त्यसको समाधान र सुनुवाइ गर्न छुट्टै समिति बनाइएको छ। वार्तामा आउनुस्, हुने कुरा हुन्छ र नहुने कुरा हुँदैन। तर कुनै पनि गलत कुरामा सम्झौता हुँदैन।' विश्वविद्यालयमा अध्यापन शिक्षक नै तोडफोड गराउने र विद्यार्थी भड्काएर निजी कलेजमा भर्ना गर्न लगाउने शिक्षकको विवरण आइसकेको उल्लेख गर्दै उनले त्यस्ता गलत शिक्षकलाई बेलैमा सुध्रिन अन्यथा कारवाहीको भागिदार हुनुपर्ने स्पष्ट पारे। रासस

प्रकाशित: २८ पुस २०७७ ०६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App