१६ फाल्गुन २०७७ आइतबार
शिक्षा

पाठ्यक्रममा लेप्चादेखि होमस्टेसम्म

इलामको सूर्याेदय नगरपालिकाले विद्यालयको आधारभूत तहका लागि तयार गरेको पाठ्यक्रम लोकार्पण गरिँदै । तस्बिर : नागरिक

भौतिक र सामाजिक विकासमा नवीन अवधारणा अवलम्बन गरिरहेको सूर्याेदय नगरपालिका शिक्षा क्षेत्रको गतिविधिमा एक खुट्किलो उक्लिएको छ। नगरले विद्यालयको आधारभूत तहका लागि स्थानीय लोपोन्मुख समुदायको संस्कृतिदेखि होमस्टेसम्म समेटिएको पाठ्यक्रम तयार गरेको छ।

आधारभूत तहका बालबालिकालाई आफ्नो स्थानीय तहको कला, संस्कृति, धर्म, अर्थ, इतिहास, परम्परा, मूल्यमान्यतालगायत विषयमा जानकारी दिने उद्देश्यले पाठ्यक्रम तयार गरिएको हो। कक्षा १ देखि ३ सम्म साप्ताहिक पाठ्यभार ५, वार्षिक १ सय ६० पाठ्यघण्टा तथा कक्षा ४ देखि ८ सम्म साप्ताहिक पाठ्यभार ४ र वार्षिक १ सय २८ पाठ्यघण्टा तोकिएको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ अनुसार पाठ्यभार र पाठ्यघण्टा निर्धारण गरिएको नगरको शिक्षा शाखाका नवीनराज पौडेलले बताए। ‘पाठ्यक्रम तयार भइ लोकार्पण भइसकेको छ,’ उनले भने, ‘त्यसैअनुसार पाठ्यपुस्तक लेखन गर्न कार्यशाला चलिरहेको छ।’ उनले आउँदो शैक्षिकसत्रदेखि पढाइ समेत सुरु हुने जानकारी दिए।  

सूर्याेदय नगरपालिका पर्यटकीय नगरी घोषित भइसकेको छ भने देशकै लोपोन्मुख लेप्चा समुदायको मुख्य बसोबास यही नगरपालिकामा छ। जिल्लाकै सबैभन्दा बढी चिया उत्पादन हुने सूर्याेदय अलैंची, दूध, अम्लिसो र तरकारी खेतीमा अग्रणी मानिन्छ। भारतसँग सीमा जोडिएको, सूर्याेदय नगर जैविक विविधताका हिसाबले पनि महत्वपूर्ण मानिएको छ। सूर्याेदय दृश्यावलोकनका लागि प्रख्यात अन्तुडाँडा, पर्यटकीय क्षेत्र कन्याम, हर्कटे, पशुपतिनगर, फिक्कल बजार सूर्याेदय नगरमै पर्छन्। मुख्यगरी यिनै विषयवस्तुबारे बालबालिकामा ज्ञान र सीप अभिवृद्धि गर्न नगरले पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गरी विज्ञहरू झिकाएर करिब ३ वर्षको अध्ययन र छलफलपछि पाठ्यक्रम तयार गरेको हो।

पाठ्यक्रमले बालबालिकामा स्थानीय सरकारको गतिविधिबारे आधारभूत जानकारी दिने, आफ्नो धर्म, संस्कार, चाडपर्व, जात्रा, मेला, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता परम्परा र सम्पदाको पहिचान, वातावरणीय सरसफाइ, घरायसी पशुपालन, दुग्ध व्यवसाय, कृषिप्रणालीको उपयोग, स्वास्थ्य, स्वस्थ खानपान, सन्तुलित भोजन, योगासन, ध्यानका विषयमा जानकारी हासिलको सक्षमता विकास हुने लक्ष्य राखेको छ। यस्तै, विपद्बाट सुरक्षित हुने र बच्ने उपाय, नैतिक मूल्यमान्यता र सदाचारका विषयमा प्राप्त ज्ञान–सूचनाको दैनिक व्यवहारमा अनुसरण, प्राकृतिक सम्पदा र स्रोतको पहिचान, उपभोग, परिचालन, समुदाय, प्रहरी, नागरिक समाजको भूमिका तथा अन्तरसम्बन्धबाट विकसित हुने सामुदायिक सचेतना, सुरक्षाका उपाय अवलम्बन र पर्यटकीय नगरीका रूपमा नगरको विकास गर्ने रणनीतिक योजना अवलम्बनको लक्ष्य राखिएको छ। पाठ्यक्रममा अर्गानिक उत्पादन, चिया, अलैंची, दूधलगायतको कृषि र पर्यटकका लागि व्यवस्था गरिएको होमस्टे समेटिएको छ। स्थानीय सरकारको परिचयदेखि मेयर–उपमेयरका कामसमेत पाठ्यक्रमले समेटेको छ।

मेयर रणबहादुर राईले सुगौली सन्धि, नेपाल–भारतको पूर्वी सीमाविन्दूलगायतमा पनि सूर्याेदय नगरसँग जोडिएका तथ्य–तथ्यांक विशिष्ट किसिमको रहेको बताए। ‘ऐतिहासिक, भौगोलिक, आर्थिक, पर्यटकीय हरेक हिसाबले सूर्योदय नगरको पहिचान विशिष्ट छ,’ उनले भने, ‘यहाँका बालबालिकामा आफ्नो ठाउँ, आफ्नो स्थानीय तहको सकेसम्म सबैखाले आधारभूत ज्ञान, सीप विकास गराउन पाठ्यक्रम तयार गरिएको हो।’ मेयर राईले पाठ्यक्रम तयार भएसँगै सूर्याेदय नगरपालिका शिक्षाको क्षेत्रमा एक खुड्किलो उक्लिएको जनाए। चियाको राजधानीका रूपमा समेत परिचित नगरमा चियाकै पाठ्यक्रम तयार गर्ने योजना रहेपनि पाठ्यक्रम विकास केन्द्रसँगको समन्वयमा सबैखाले विषय समेटेर आधारभूत तहकै पाठ्यक्रम तयार गर्न सफल भएको उनको भनाइ छ। ‘पाठ्यक्रम तयार गर्ने काम निकै प्राविधिक रहेछ,’ उनले भने, ‘यसका लागि ३ वर्षसम्म निकै मेहनत गर्नुपर्‍यो।’  

नेपालको संविधानको अनुसूची ८ मा माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहलाई दिने व्यवस्था छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७१ ले आधारभूत तहमा १ सय पूर्णाङ्कको मातृभाषा वा स्थानीय विषय राख्न पाउने उल्लेख गरेको छ। जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शम्भु थापामगरले स्थानीय पाठ्यक्रम बनाउने व्यवस्था पहिले नै भएपनि कार्यान्वयन नभएका बेला सूर्याेदयले नयाँ काम थालनी गरेको बताए। ‘जिल्लामा स्थानीय पाठ्यक्रम बनाउनुपर्ने ठाउँमा बरु अंग्रेजी पढाउने लहर आयो तर स्थानीय पाठ्यक्रम बनेको थिएन,’ उनले भने, ‘पाठ्यक्रमले निर्दिष्ट गरेको विषय बालबालिकाको व्यवहार, पेसा, आम्दानीलगायतसँग जोडियो भने बढी व्यावहारिक हुन्छ।’ उनले यसअघि पनि शिक्षालाई व्यावहारिक बनाउने काम नै प्रमुख चुनौतीका रूपमा रहेको जनाए।  

सूर्याेदय नगरपालिका जिल्लाको शैक्षिक इतिहासमा पनि अगुवा छ। शैक्षिक विकासको क्रममा २००३ सालमा फिक्कल बजारमा चन्द्र पाठशाला स्थापना भएको थियो। २०१० साल जेठ १० मा सूर्याेदयकै करफोकमा करफोक विद्या मन्दिर हाइस्कुलस्तरमा प्रवेश गरेको हो। यसअघि २००४ सालमा सदरमुकाममा स्थापना भएको आदर्श माध्यमिक विद्यालयलाई जिल्लाकै जेठो स्कुल मानिएको थियो। तर, इतिहासकार युद्धप्रसाद वैद्यले सूर्याेदय नगरपालिकाको अहिलेको लिखित दस्तावेजअनुसार चाहिँ फिक्कल बजारमा २००३ सालमा स्थापना भएको चन्द्र पाठशाला नै अहिलेसम्म भेटिएका लिखित प्रमाणमध्ये जिल्लाको जेठो स्कुल देखिएको बताए।  

२००९ सालमा भाषाशास्त्री महानन्द सापकोटाको अध्यक्षतामा सूर्याेदयकै करफोकमा साहित्य सम्मेलन आयोजना गरियो। यो सम्मेलनमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, साहित्यकार बालकृष्ण समलगायतको समेत सहभागिता थियो। ‘पूर्वमा स्वामी सोमेश्वरानन्दले छरेको शिक्षाको बीऊ झाँगिएर अहिलेको अवस्थामा आएको छ,’ मेयर राईले भने, ‘यसलाई फलाउने, फुलाउने काम अब हाम्रो काँधमा आएकाले आफ्नो कर्तव्य पूरा गर्दैछौं।’ नगरको शिक्षा शाखाका अनुसार सूर्याेदय नगरमा ६६ सामुदायिक, ३३ संस्थागत र एउटा गुठी विद्यालय छन्। तीनैखाले विद्यालयमा नयाँ पाठ्यक्रम पढाइ हुने शाखाले जनाएको छ।

प्रकाशित: २६ पुस २०७७ १५:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App