१६ चैत्र २०८० शुक्रबार
शिक्षा

अस्मितालाई प्रधानमन्त्री पत्नीको उपहार

प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले समता स्कुलकी छात्रा अस्मिता अधिकारीलाई छात्रवृत्तिमा स्विटजरल्यान्ड जानुअघि ल्यापटप किन्न पैसा दिएकी छिन्। यही शनिबार स्विटजरल्यान्डको चर्चित आइग्लोन कलेजमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न जान लागेकी अस्मितालाई शाक्यले प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बेलुका भेटेकी थिइन्। आफूले राष्ट्र बैंकको कर्मचारीका रूपमा प्रत्येक महिना पाउने निवृत्तिभरणको रूपमा प्राप्त रकमबाट उनलाई ६० हजार रूपैयाँ दिएको समताका संस्थापक उत्तम सञ्जेलले नागरिकलाई बताए।  

परिवारको अप्ठ्यारो आर्थिक स्थिति हुँदाहुँदै पनि छात्रवृत्तिमा पढ्न जाने मौका पाएकी अस्मितालाई शाक्यले मनमा कुनै द्विविधा नलिई अध्ययन गर्न सुझाएकी थिइन्। ‘आफूलाई कहिल्यै कमजोर नठान्नू,’ शाक्यलाई उद्धृत गर्दै सञ्जेलले भने, ‘तिम्रो पछाडि देश छ।’

‘सबै मानिस दुःखबाट सुखमा आउने हो,’ शाक्यले अस्मितालाई आफ्नो मौलिकता नगुमाउन र स्वावलम्बी बन्न आग्रह गर्दै भनेकी थिइन्, ‘म प्रधानमन्त्रीकी पत्नी हुँ, तैपनि म आफ्नो काम आफैं गर्छु, खाना बनाउँछु, भाँडा आफैं माझ्छु।’

कुनै पनि व्यक्तिले विदेशमा गएर राम्रो वा नराम्रो जस्तो काम गरे पनि देशको नाम जोडिने उल्लेख गर्दै राम्ररी अध्ययन गर्नसमेत शाक्यले उनलाई प्रोत्साहित गरेकी थिइन्। कलेजका प्रिन्सिपललाई नेपालका प्रधानमन्त्रीकी पत्नीले पठाएको चिनोका रूपमा एउटा पस्मिना दिन भन्दै उनले अस्मितालाई हस्तान्तरण गरेकी थिइन्।

प्रकाशित: २४ पुस २०७७ ०१:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App