७ वैशाख २०८१ शुक्रबार
शिक्षा

स्कुल खोल्ने मापदण्ड के ?

अति प्रभावितमा खुल्यो, कम प्रभावितमा खुलेन

भक्तपुर नगरपालिका क्षेत्रमा खोलिएका स्कुलहरुमा पढ्दै स्कुले बालबालिका ।

भक्तपुरमा कुल चार वटा नगरपालिकाहरु छन्। ती नगरपालिकाहरुमध्ये कोरोनाले सवैभन्दा बढी मृत्यु हुनेको संख्या भक्तपुर नगरपालिकामा छ। तथ्यांक अनुसार भक्तपुर नगरपालिका क्षेत्रमा मृत्यु हुनेको संख्या अहिलेसम्म ४३ जना पुगेको छ। २८ जना पुरुष र १५ जना महिला गरी यो नगरपालिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको तथ्यांक छ। जिल्लाका चार वटा नगरपालिकामध्ये कोरोनाबाट मृत्यु हुनेको सवैभन्दा बढी संख्या यही नगरपालिका क्षेत्रमा छ। अन्य तीन वटा नगरपालिकाहरुमा यो भन्दा कम संख्यामा मात्रै मृत्यु भएको छन्।

तर कोरोनाबाट सवैभन्दा बढी मृत्यु भएको भक्तपुर नगरपालिका क्षेत्रमा पुस १ गतेदेखि नै स्कुलहरु औपचारिक रुपमा खुलेका छन्। अन्य नगरपालिकाहरुमा स्कुल खोल्ने अहिलेसम्म कुनै अतोपतो छैन। स्थानीय सरकारको रुपमा रहेको भक्तपुर नगरपालिकाले पुस १ गतेदेखि कक्षा ८, ९ र १० कक्षा सञ्चालन गर्न अनुमति दिएसँंगै यहाँंका सवै स्कुलहरु औपचारिक रुपमै खुल्न थालेका हुन्।  

संस्थागत विद्यालय संघ (इसान) नेपालका केन्द्रीय अध्यक्ष प्रेमजन थापा भौतिक उपस्थितिमै कक्षा सुरु गर्नुको विकल्प नभएको बताउँंछन्। त्यसकारण भक्तपुर नगरपालिकाको निर्णय स्वागतयोग्य भएको उनको भनाइ छ। ‘कोरोनासँंगै सधै डराएर कहिलेसम्म स्कुल बन्द गरिराख्ने? उनले थपे, ‘बरु सवै सुरक्षाका उपायहरु अपनाएर स्कुल सञ्चालन गर्नुपर्छ।’  

भक्तपुरपछि कोरोनाले मृत्यु हुने बढी संख्या रहेको नगरपालिकामा मध्यपुर थिमि नगपरपालिका क्षेत्र पर्छ। यो नगरपालिकामा २५ जना पुरुष र १४ जना महिला गरी कुल ३९ जनाको मृत्यु भएको छ। तर यो नगरपालिकामा अहिलेसम्म स्कुल पूरै बन्द छ। कोरोनाको कहरबीच पनि लुकिछिपी स्कुल खोलेको भन्दै नगरपालिकाले अनुगमन गरेको थियो। अनुगमनको क्रममा खुलेका केही स्कुलहरुलाई नखोल्न नगरपालिकाले चेतावनीसमेत दिएको थियो।  

मध्यपुर थिमि नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख ज्ञानेन्द्र बनले नगरपालिका क्षेत्रमा अहिले पनि कोरोना महामारी कायमै रहेकोले लुकिछिपी खोलिएका केही स्कुलहरुलाई नखोल्न निर्देशन दिएको जनाए। कोरोना महामारी जारी रहेकाले अर्काे सूचना जारी नभएसम्म स्कुलहरु न्गरपालिका क्षेत्रभित्र खोल्न नदिने उनले स्पष्ट पारे।  

भक्तपुर र मध्यपुर थिमिपछि तेश्रो बढी संख्यामा जिल्लाको सूर्यविनायक नगरपालिकामा कोरोनाबाट मृत्यु भएका छन्। यहाँं १३ पुरुष र १३ जना महिला गरी कुल २६ जनाको मृत्यु भएको छ। साथै सवैभन्दा कम चाँंगुनारायण नगरपालिकामा सात पुरुष र एक महिला गरी आठ जनाको मृत्यु भएको छ। यसरी यहाँंका चार वटामध्ये सवैभन्दा बढी कोरोनाबाट मृत्यु भएको भक्तपुर नगरपालिकामा स्कुलहरु सञ्चालन भएका छन् भने त्यो भन्दा कम प्रभावित नगरपालिकाहरुमा स्कुलहरु खोल्ने अनिश्चित छ। यसले स्कुल खोल्ने मापदण्ड के हो भनी प्रश्न उठेको छ।

प्रकाशित: ८ पुस २०७७ १२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App