८ वैशाख २०८१ शनिबार
शिक्षा

त्रिविका प्राध्यापकले घेरे पदाधिकारी

त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरूले करारको माग गर्दै आफनै पदाधिकारीलाई ६ घन्टा घेराउ गरेका छन्। त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरूले आफूहरूले विश्वविद्यालयमा लामो समयदेखि सेवा दिइरहेको र भविष्यको सुनिशिचतताका लागि कारार नियुक्ति माग गर्दै शान्तिपूर्ण आन्दोलन गर्दा कुनै सुनुवाइ नभएपछि बाध्य भएर उपकुलपतिलाई कार्यालय प्रवेश निषेध गरी घेराऊ गरेको बताएका छन्। समान कामको समान ज्याला हुनु पर्ने र आंशिकलाई करार नियुक्ति गरिनुपर्ने माग गर्दै बिहीबार बिहान १० बजेदेखि साढे तीन बजेसम्म कार्यलय प्रवेश निषेध गरी घेराउ गरेका थिए।  

बिहीबार देशभरिकै ६० आंगिक कलेजका एक हजारको संख्यामा आंशिक प्राध्यापकहरू विश्वविद्यालय परिसरमा पुगी नाराबाजीसहित उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यालय घेराऊ गरी प्रवेश निषेध गरेको आंशिक प्राध्यापक संघका संरक्षक एवं आन्दोलन मूल समिति संयोजक शशीकुमार शर्माले बताए।  

आफूहरूले पटकपटक शान्तिपूर्ण आन्दोलन गर्दा प्रत्येक सरकारले माग पूरा गर्ने प्रतिबद्धता गर्ने तर पछि धोखा दिने शैलीको विरोध गर्दै यस पटकको आन्दोलन माग पूरा गराएपछि मात्र टुंगो लगाउने शर्माले बताए। त्रिचन्द्र कलेजमा प्राणीशास्त्रमा १२ वर्षदेखि आंशिक प्राध्यापककै रूपमा पठनपाठन गराउँदै आएका शर्माले विश्वविद्यालयले आंशिकहरूको कामको सम्मान नगरी दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरेको गुनासो गरे।  

‘देशभरि कुल २ हजार २ सय आंशिक प्राध्यापकहरू त्रिविमा कार्यरत छन्,’ शर्माले भने, ‘आंगिक कलेजहरूमा ६० प्रतिशत भार आंशिक शिक्षकले थेगेका छन्। स्थायीहरू त निजी कलेजहरूमा पढाउन जानुहुन्छ,’ उनले थपे ‘विद्यार्थीहरू पनि आंशिकलाई मन पराएका छन्। तर पनि हामीलाई एक पिरियडको ३६० रूपैयाँ र त्यसमा पनि १५ प्रतिशत कर कटाइन्छ। यसले हामी आंशिकमाथि ठूलो अन्याय भएको छ।’

आन्दोलनरत अर्का आंशिक प्राध्यापक सुरेश भट्टराईले पनि विश्वविद्यालयले समान कामको ज्याला पनि समाननै दिनुपर्ने माग राख्दै आफूहरू आन्दोलनमा उत्रेको बताए।  

‘हामी प्राध्यापकहरूलाई आफ्नै पदाधिकारीलाई घेराउ गर्न वा प्रवेश निषेधको कुनै इच्छा होइन तर हामीमाथि अन्याय भएकोले हामी बाध्य भएर उपकुलपति घेराऊ गर्न पुगेका हौं। पढ्ने पढाउने बौद्धिक गतिविधि भएकोले विश्वविद्यालयले आंशिकलाई प्रक्रिया पुर्याएरै करार गर्नुपर्ने हाम्रो माग हो।’  

२०६३ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले १३८० आंशिकको दरबन्दी दिएका थिए। पछि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा फेरि आंशिकहरू करारको माग गर्दै आन्दोलन गरे। उनले पनि ३ सय दरबन्दी दिए। यी सबै प्रकृया पुर्याएर स्थायी भइसकेका छन्। अब कुल देशभरि २ हजार २ सय आंशिक प्राध्यापक कार्यरत छन्। यी सबैलाई करारको नियुक्ति दिनुपर्ने उनीहरूको माग रहेको छ।  

‘त्रिविको स्थायी प्राध्यापकहरू अवकाश पाए। भएकाले कक्षा भार सम्हाल्न सकेनन्,। त्रिविले सेवा आयोग खुलाएन मुख्य कमजोरी यही भयो,’ प्राध्यापक भट्टराईले भने, ‘हप्ताको १२ पियिरड स्नातकोत्तरमा र १५ पिरियड स्नातकमा हामीले कक्षा लोड लिएका छौं। स्थायीहरू आ–आफना कलेजमा पढाएको भए हामी आंशिकहरूले निजीमा पढाउँथ्यौं। आंगिक कलेज ओट्ने र निजीमा पढाउने त्रिविका स्थायी प्राध्यापकले गर्दा पनि विश्वविद्यालयमा समस्या आएको हो।’

त्रिविका अनुगमन निर्देशनालय महाशाखा प्रमुख विष्णु खनालको संयोजकत्वमा तीन सदस्सीय वार्ता टोलिले पनि आन्दोलनकारीसँग छलफल गरेको भएपनि कुनै निष्कर्ष ननिस्केकोले अब करार नियुक्ति दिए मात्र वार्ता गर्ने आंशिक प्राध्यापक शर्माको भनाई छ।  

उता विश्वविद्यालयले वार्ताकोलागि वातावरण तया गरिरहेको संयोजक खनालको दाबी छ। ‘वार्ता समिति गठन भएलगत्तै हामीले आन्दोलनरत आंशिक शिक्षकहरूसँग एकपटक वार्ता गर्यौं,’ समिति संयोजक खनालले नागरिकसँग भने, ‘आंशिक पनि हाम्रै शिक्षकहरू हुनुहुन्छ। वहाँहरूको समस्या समाधान छलफलबाटै हुन्छ। उपकुलपतिज्यू पनि यस विषयमा संवेदनशील हुनुहुन्छ। अब छिटै बार्ताबाटै निकास निकालिन्छ।’

प्रकाशित: ३ पुस २०७७ ०२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App