८ वैशाख २०८१ शनिबार
शिक्षा

मेयरद्वारा नमूना विद्यालय भवनको शिलान्यास

प्रदेश २ को एकमात्र महिला मेयर रिनाकुमारी साहले नमूना विद्यालय भवनको शुक्रबार शिलान्यास गरेकी छन्। रौतहटको मौलापुर नगरपालिकाको सोनरनियाँमा बन्न लागेको नमूना विद्यालय भवनको सोही नगरपालिकाको प्रमुख साहले एक समारोहबीच शिलान्यास गरेकी हुन्।  

नेपाल सरकारको एक करोड ४५ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको जनता माध्यमिक विद्यालय सोनरनियाको आठ कोठे अत्याधुनिक पक्की भवनको शिलान्यास कार्यक्रममा नगरपालिकाको वडा नम्बर ८ का अध्यक्ष वसन्त यादव तथा वडा नम्बर ९ का अध्यक्ष रामलाल साहसहित नगरका अन्य पदाधिकारी, विद्यालय व्यवस्थापन समिति तथा निर्माण व्यावसायीको सहभागिता रहेको प्रधानाध्यापक राजेन्द्र साहले जानकारी गराएका छन्।  

विद्यालय निर्माणको ठेक्का शिव कन्स्ट्रक्सन प्रालिले प्राप्त गरेको छ। तोकिएको समयभित्र विद्यालय भवन निर्माण हुने निर्माण व्यावसायीको प्रतिनिधिले प्रतिबद्धता व्यक्त गरेका छन्। विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा नगर प्रमुख साहलाई विद्यालयका प्रधानाध्यापक साहले दोसल्ला ओढाएर सम्मान गरेका छन्।

कार्यक्रममा विद्यालयबाट सरुवा भई गएका पूर्व प्रधानाध्यापक रामएकबाल राय यादवलाई बिदाइ पनि गरिएको छ। मौलापुर नगरपालिकाको एक मात्र नमूना विद्यालयको रुपमा रहेको मावि सोनरनियाँमा विद्यार्थीको चाप अत्यधिक रहेको तर सुविधा सम्पन्न भवनको अभाव रहेको सन्दर्भमा भवन निर्माणले पठनपाठन तथा शिक्षाको गुणस्तरमा सुधार हुने अपेक्षा रहेको प्रअ साहको भनाइ छ।

प्रकाशित: १२ मंसिर २०७७ ०८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App