coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

धादिङमा खुल्न थाले विद्यालय

नीलकण्ठ नगरपालिकामा रहेको महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरु । तस्बिर : सरिता/नागरिक

कोराना भाइरस (कोभिड-१९) महामारीका कारण बन्द रहेका धादिङका विद्यालय सञ्चालन भएका छन्। करिब नौ महिनापछि स्वास्थ्य मापदण्ड पालना गराएर सञ्चालनमा आएका छन्। कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेबाट बन्द थिए। धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीसहित कोरोना भाइरस संक्रमणको जोखिम कम भएका क्षेत्रमा भौतिक दूरी कायम राखेर सञ्चालनमा आएको हो। केही विद्यालयले भने अझै विद्यालय खुलाएका छैनन्।

नीलकण्ठ नगरपालिका वडा नं २ साँखुमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा पनि लामो समयपछि पढाई सञ्चालन भएको छ। दुई सिप्ट गरेर विद्यालयमा पढाई सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यपक जानुका कडेंलले बताइन्। ‘भौतिक दूरी कायम गरेर लामो समयपछि पढाई सञ्चालन गरेका छौँ’, प्रधानाध्यपक कडेंलले भने, ‘विद्यालयमा प्रवेश गर्ने शिक्षक तथा विद्यार्थीको ज्वरो नाप्ने, साबुन पानीले हात धुने व्यवस्था गरिएको छ भने मास्क अनिवार्य गरेका छौँ।’ विद्यालयले लकडाउनको समयमा पनि बैकल्पिक शिक्षालाई जोड दिएर पठनपठन संचालन गरेको कडेंलले बताइन्।

लामो समयको बन्दका कारणले बालबालिकाहरुको पढाइमा धेरै असर पुर्‍याएको छ। त्यसैले सरकारले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालयहरु सञ्चालन गर्न सकिने तथा अन्य बैकल्पिक माध्यमबाट शैक्षिक क्रियाकलाप अगाडि बढाउने भनेको थियो। तर बैकल्पिक माध्यमबाट प्रभावकारी शिक्षण सिकाइ हुन नसकेको अभिभावकहरुले गुनासो गर्दै आएका छन्। त्यसैले अहिले जिल्लमा विद्यार्थीहरुको उपस्थितिमा नै पढाइ सुरु गर्ने थालिएको छ। केही स्थानीय तहहरुले विद्यालय सञ्चालन गरिसकेका छन् भने केहीले गर्ने तयारी गरेका छन्।  

लामो समयसम्म लकडाउन भएपछि विद्यार्थीहरुको पढाइ अन्यौलमा परेको हुँदा स्वास्थ्य सुरक्षा अपनाउँदै पठनपाठन कार्य सुरु गरिएको सिद्धलेक गाउँपालिका वडा न. ४ मा रहेको जलेश्वरी माविका प्रधानाध्यपक भोजराज अर्यालले बताए। ‘कोरोना भाइरसको संक्रमणको जोखिमका कारण पढाइ प्रभावित नहोस् भनेर लकडाउनमा पनि दैनिक तीन घण्टा टोल टोलमा कक्षा सञ्चालन गरेका थियौँ, प्रधानाध्यपक अर्यालले भने, ‘अहिले स्वास्थ्य सुरक्षाका आवश्यकीय मापदण्ड पूरा गरेर नै पठनपाठन सञ्चालन गरेका हौँ। यसरी सञ्चालन गर्दा सामाजिक दूरी कायम गरी सञ्चालन गर्न सकिने उनको भनाइ छ।  

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण चैत महिनादेखि शिक्षण संस्था बन्द थिए। बन्दका कारण विद्यालयको पठनपाठन ठप्प भए भने नियमित पठनपाठन, परीक्षा लगायतमा प्रभाव बनेको थियो। शिक्षण कार्यलाई नियमित बनाउन शहरी क्षेत्रका केही विद्यालयहरुले अनलाइन कक्षा पनि सञ्चालन समेत गरेका थिए। सबै ठाउँमा इन्टरनेटको पहुँच नहुनु र विद्याथीहरुसंग नेट चलाउने उपकरणहरु नहुँदा ग्रामीण भेगका विद्यार्थीहरुमा यो पद्धति प्रभावकारी हुन सकेको थिएन।  

कोरोना भाइरसको संक्रमण रोक्न सुरुवातको अवधिमा स्थानीय तहहरुले विद्यालयलाई क्वारेन्टिनका रुपमा पनि व्यवस्थापन गरेका थिए। तर अहिले कतिपय विद्यालयबाट क्वारेन्टिनस्थल हटाइएको छ र त्यहाँ पठनपाठन सञ्चालन गरिएको छ। धादिङ जिल्लाभर सामुदायिकतर्फ ५ सय ४३ वटा र संस्थागत तर्फ ५३ वटा विद्यालयहरु रहेको शिक्षा विकास तथा समन्वय इकाई धादिङले जानकारी दिए।

प्रकाशित: १० मंसिर २०७७ १०:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App