४ वैशाख २०८१ मंगलबार
शिक्षा

खोटेहाङका शैक्षिक संस्था मंसिर १४ गतेदेखि खुल्ने

कोरोना कहरकाबीच खोटाङको खोटेहाङ गाउँपालिकाले मंसिर १४ गतेदेखि विद्यालयलाई नियमित खुलाउने निर्णय गरेको छ। सोमबार बसेको कार्यपालिकाको बैठकले उच्च स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाएर विगत ८ महिनादेखि अवरुद्ध विद्यालयको पठन–पाठन सूचारु गराउने निर्णय गरेको हो।  

कोभिड–१९ को महामारीका कारण बन्द शैक्षिक संस्थालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा एबं विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ बमोजिम सुचारु गराउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए। गाउँपालिकाले विद्यालय सञ्चालनका लागि गर्नुपर्ने पुर्वतयारी, विद्यालय सञ्चालनका अवधिमा गर्नुपर्ने तयारी, अनुगमन तथा सुपरिबेक्षण, स्थानीय तहको जिम्मेवारी वा उत्तरदायित्वमा भएका व्यवस्थालाई पूर्णपालना गर्दै पठन–पाठन सुचारु गराउने निर्णय गरेको जनाएको छ।

 खोटेहाङ गाउँपालिकामा ४९ वटा सामुदायीक र दुई वटा निजी विद्यालय सञ्चालनमा छन्। कोरोना महामारीका कारण बन्द विद्यालयलाई सुरक्षित तरिकाले खुलाउनका लागि गाउँपालिका, गाउँपालिकाको सामाजिक विकास समिति, गाउँ शिक्षा समिति, वडा शिक्षा समिति, सम्वन्धित विद्यालयका व्यवस्थापन समिति र शिक्षक अभिाकसंघले विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचामा उल्लेख भएका जिम्मेवारी बहन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष राईले बताए।  

बन्द शैक्षिक संस्थालाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सुचारु गराउने निर्णय लगत्तै गाउँपालिकाले पठन–पाठनको वातावरण निर्माणका लागि वडा शिक्षा समितिलाई पत्राचार गरेको छ। प्रअ, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायतलाई बोलाएर विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा अनुशार विद्यालयमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न÷गराउन पत्राचार गरिएको गाउँपालिका अध्यक्ष राईले बताए। ‘कोभिड–१९ को सन्दर्भमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट स्वीकृत विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचामा उल्लेखित व्यवस्थाका आधारमा विद्यालय नियमित खुलाउने निर्णय गरिएको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘यही निर्णलाई टेकेर पठन–पाठनको व्यवस्था मिलाउनका लागि सहजीकरण गर्न वडा शिक्षा समितिलाई पत्राचार गरेका छौँ। वडा शिक्षा समितिले नै वडा–वडामा विद्यालय खुलाउने र शिक्षण सिकाई सहजीकरणको वातावरण बनाउने छन् ।’  

गाउँपालिकाले पठन–पाठनकाक्रममा विद्यार्थीको सरसफाईका लागि विद्यालयलाई बाटा, बाल्टीन र सावुन वितरण गरेको जनाएको छ। गाउँपालिकाले लकडाउनपछि केही समय शिक्षण सिकाई सहजीकरणको प्रयास पनि गरेको थियो।  

प्रकाशित: ९ मंसिर २०७७ ०४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App