नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका संस्थापक अध्यक्ष स्वर्गीय प्राडा दीपक भट्टराईद्धारा लिखित ‘नेपाल इन्जिनियरिङ कलेज स्थापना, विकास र सम्भावना’ नामक पुस्तकको आइतबार एक समारोहबीच भक्तपुरमा विमोचन गरिएको छ। संघीय साँंसद् महेश वस्नेत, स्वर्गीय लेखककी धर्मपत्नी इल्या भटराई, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँंगुनारायण नगरपालिकाका मेयर एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सोमप्रसाद मिश्र, कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठ, पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक प्राडा इन्जिनियर टेकराज ज्ञवालीलगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन्।
पुस्तकमा कलेज स्थापनाको वर्ष २०४८ देखि २०७५ र त्यसपछिका विषयवस्तु समावेश छन्। नेपाल इन्जिनियरिङ कलेज स्थापनाका कथा पुस्तकमा समेटिएका छन्। साथै कलेजको विकासक्रम, पछिल्ला वर्षहरुमा संस्थापकहरुबाटै भएका रडाको, लेखक भट्टराईमाथिको लाञ्छनायुक्त दोषारोपण र कलेजको सम्भावनाबारे उल्लेख गरिएका छन्। स्वर्गीय लेखकले लेखेको पुस्तक उनको स्वर्गीय भएको एक वर्षपछि प्रकाशनमा ल्याइएको हो। पुस्तकका प्रकाशन लेखककी धर्मपत्नी इल्या भट्टराई रहेकी छिन्। पुस्तक एक सय नौ पृष्ठको रहेको छ।
कार्यक्रममा कलेजमा निर्माण सम्पन्न गरिएको स्वर्गीय भट्टराईको शालिक अनावरण पनि गरिएको छ। कलेजको एउटा भवन दीपक स्मृति भवन अगाडि बनाइएको शालिक अनावरण गरिएको हो। करिव १२ लाख ८० हजारका लागत इष्टमेटमा शालिक निर्माण गरिएको शालिक निर्माण गर्न गठित समितिका सदस्य एवं कलेजको प्रशाशन तथा लेखा प्रमुख श्रीमा शर्माले जनाइन्। त्यसका लागि तीन लाख ९५ हजार एक सय रुपैयाँं कलेजका शिक्षक र कर्मचारीबाट प्राप्त भएको र बाँकी पैसा कलेजले व्यहोरेको उनले जनाइन्।
कार्यक्रममा संघीय सांसद वस्नेत, स्वर्गीय दीपक भट्टराईकी धर्मपत्नी इल्या, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख गेलाल, चाँंगुनारायण नगरपालिकाका प्रमुख मिश्र, कलेजका प्रिन्सिपल प्राडा श्रेष्ठ, पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक प्राडा इन्जिनियर ज्ञवालीलगायत नेपाल इन्जिनियरिङ कलेज स्थापनामा स्वर्गीय भट्टराईको योगदानबारे चर्चा गरेका थिए।
प्रकाशित: ३० कार्तिक २०७७ १२:०५ आइतबार