८ वैशाख २०८१ शनिबार
शिक्षा

करारलाई स्वतः स्थायी गर्दै खुला विश्वविद्यालय

दूर तथा खुला शिक्षा प्रणालीमा प्रविधि प्रयोग गरी उच्च शिक्षाको संरचनामा नपुगेको वर्ग, क्षेत्र र समुदायलाई पहुँच  पुर्‍याउने  उद्देश्यले स्थापित खुला विश्वविद्यालयले करारमा नियुक्त गरिएका शिक्षकलाई आन्तरिक रूपमा स्थायी गर्ने नियम बनाउने तयारी गरिरहेको छ।गत वर्ष मात्र करारमा नियुक्त गरिएका २७ शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाटै स्थायी गराउनुपर्ने भन्दै विश्वविद्यालयका शिक्षकले दबाब दिएपछि विश्वविद्यालयका पदाधिकारीले केही दिनअघि मात्र बसेको विश्वविद्यालयको चौथो सभाबाट आन्तरिक प्रतिस्पर्धाबाटै स्थायी गर्ने नियम पास गराउन प्रस्ताव लगेका थिए।तर सभाका सदस्यले असहमति जनाएपछि पास हुन सकेन।

तापनि विश्वविद्यालयका उपकुलति लेखनाथ शर्माले करारमा नियुक्त शिक्षकलाई नै आन्तरिक रूपमा प्रतिस्पर्धा गराई स्थायी गराउनेतर्फ काम गरिरहेका छन्।नेपालकै ठुलो र पुरानो त्रिभुवन विश्वविद्यालयमा पनि यसैगरी करारका शिक्षक आन्दोलनकै भरमा स्थायी भएकाले विश्वविद्यालयको शैक्षिक अवस्था दिनदिनै खस्कँदै गएको अवस्थामा भर्खरै बामे सर्दै गरेको जनताको करबाटै सञ्चालित सरकारी खुला विश्वविद्यालयले भने सुरुमै आन्तरिक प्रतिस्पर्धाबाट करारका शिक्षकलाई स्थायी गर्नु उचित नहुने विश्वविद्यालयकै प्राध्यापकको भनाइ छ।कतै यो विश्वविद्यालय खुलाको नाममा प्रमाणपत्र बाँड्ने शैक्षिक संस्थाको रूपमा स्थापित पो हुने हो कि भन्ने चिन्ता चौतर्फी छ।

‘केही दिनअघि मात्र विश्वविद्यालयको भर्चुअल सभा बसेको थियो, प्राध्यापकदेखि सहायक प्राध्यापकसम्मलाई आन्तरिक रूपमै स्थायी गराउने विषय सभामा आयो तर पास भएन,’ स्रोतले भन्यो, ‘सभाले पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बरालको संयोजकत्वमा समिति गठन गरी समितिले दिएको सुझावअनुसार जाने भने पनि सो समिति गठन नै नगरी करारलाई आन्तरिक रूपमै नियुक्ति गर्ने नियम उपकुलपतिले पास गाराउनेमा जोड गरिरहनुभएको छ ।’

हाल यो विश्वविद्यालयमा प्राध्यापक दुई, सहप्राध्यापक तीन र सहायक प्राध्यापक नौ गरी २६ जना कारारमा कार्यरत रहेको र एकजनाले राजीनामा दिएको रजिस्ट्रार कमल ढकालले बताए।उनले सुरुमा विश्वविद्यालयले तीन संकायका लागि ३७ शिक्षक माग गरे पनि २७ जना मात्र छनोटमा परेको बताए।यो विश्वविद्यालयमा व्यवस्थापन तथा कानुन, सामाजिक शास्त्र तथा शिक्षा संकाय र विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय गरी तीन संकायमा २३ कार्यक्रम सञ्चालिन भइरहेको छ।उनले आन्तरिक प्रतिस्पर्धाबाटै करारका शिक्षकलाई स्थायी गराउने प्रक्रिया छलफलमा रहेको जनाए ।

प्रकाशित: ५ कार्तिक २०७७ ०७:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App