८ वैशाख २०८१ शनिबार
शिक्षा

सहरमा अनलाइन, गाउँमा अफलाइन

धनगढी उप–महानगरपालिका–४, बसपार्कका सन्दीप भट्टको हिजोआजको दिनचर्या घरमै ल्यापटप खोलेर अनलाइन कक्षा लिनमै वितिरहेको छ। उनी स्थानीय ऐश्वर्य विद्या निकेतनमा कक्षा ७ मा अध्ययनरत छन्। ‘विद्यालयले नियमित अनलाइन कक्षा सञ्चालन गरेदेखि भने घरबाटै कक्षामा सहभागी हुँदै आएको छु,’ सन्दीपले भने, ‘विगत डेढ महिनादेखि अनलाइन कक्षा लिँदै आएको छु।’ उनी बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कापी कलम समातेर ल्यापटप अगाडि बस्दै आएका छन्। उनी शिक्षकले पढाएका कुरा कापीमा नोट गर्दै बस्छन्। उनले भने, ‘विद्यालय बन्द छ। शिक्षकहरूले इन्टरनेटबाट पढाएको कुरा टिप्दै बस्छु।’ कोरोनाका कारण चैतदेखि बन्द भएको पढाइ पुनः डेढ महिनादेखि सुचारु भएको उनले बताए। उनले अनलाइन कक्षाले पनि अध्यापनमा सहयोग भएको बताए।

उनी मात्रै हैन कैलाली बहुमुखी क्याम्पसमा बिए तेस्रो वर्षमा अध्ययनरत तेज बोहरा पनि एक महिनादेखि अनलाइन कक्षा पढिरहेका छन्। पछिल्लो समयमा सुदूरपश्चिमको प्रदेश राजधानी रहेको धनगढीका प्रायः विद्यालयले विद्यार्थीहरूलाई अनलाइन कक्षामार्फत पढाइरहेका छन्। तर, ग्रामीण क्षेत्रका विद्यार्थी भने गाउँमा इन्टरनेट नभएका कारण अनलाइन कक्षाबाट वञ्चित छन्। कोरोना कहरका कारण गाउँमा न त विद्यालय खुलेका छन्, न त अनलाइन कक्षा नै। गौरीगंगा नगरपालिकाका विदेश चौधरीले किताब नसमातेको ७ महिना वित्नै आँट्यो। उनले भने,‘कक्षा ८ बाट पास भएँ, किताब पाइयो तर पढ्न पाएको छैन।’ सहरका विद्यार्थीहरू अनलाइन कक्षाबाट पढाइ सुरु गरिरहँदा आफूहरू भने नयाँ किताब कापी थन्काएर धान काट्नमा व्यस्त रहेको बताए। कोरोना संक्रमणको महामारी रोकथाम र नियन्त्रण गर्न सरकारले लकडाउन गरेपछि बन्द भएका शैक्षिक संस्था अहिलेसम्म खुल्न सकेका छैनन्। चौधरी जस्तै गाउँका विद्यार्थीहरू नयाँ कापी किताब थन्काएर घरायसी काम धन्दामा व्यस्त छन्। विद्यालय बन्द हुँदा बालबालिकाहरू किताबमा भन्दा पनि अरू कुरामा बढी समय व्यतित गर्ने गरेका छन्।  

विद्यालय बन्द भएपछि गाउँका विद्यार्थीहरू अहिले माछा मार्ने, चरा छोप्ने, गिट्टी कुट्ने, नदीमा पौडी खेल्ने, मोबाइलमा कार्टुन हेर्ने, पशु चौपाया चराउन जंगल जाने गरेका छन्। कोरोना कहरमा लामो समयदेखि विद्यालय बन्द रहेका कारण बालबालिकाहरू पढाइप्रति विमुख भइरहेका छन्।  

अहिले सहरका विद्यालयले अनलाइन कक्षा सुरु गरेका छन् भने सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि टेलिभिजन, रेडियो तथा इन्टरनेटमार्फत् कक्षा सञ्चालन गरिएको छ। संघीय सरकारले कोरोना भाइरसका कारण प्रभावित शिक्षाको पठनपाठन दसैंपछि सञ्चालन गर्न निर्देशन दिइसकेको जनाइएको छ। सोही अनुसार सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि दशैपछि पठनपाठन सुरु गर्ने तयारी गरेको जनाएको छ। मन्त्रालयका प्रवक्ता झंकरबहादुर विष्टले भने, ‘संघीय सरकारले दसंैपछि पठनपाठन सुरु गर्न निर्देशन दिएको छ। सोहीअनुसार मन्त्रालयले पनि तयारी गरिरहेको छ।’ मन्त्रालयले अहिले विद्यार्थीहरूलाई पठनपाठनमै व्यस्त बनाउन शिक्षा निर्देशनालय दिपायललाई एक करोड रूपैयाँ विनियोजन गरेको छ। पठनपाठनलाई प्रभावकारी बनाउन अनलाइन कक्षा, पाठ्यसामग्री, प्रचारप्रसारलगायत गतिविधि सञ्चालन गर्न सो रकम विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका प्रवक्ता विष्टले ९० प्रतिशत बालबालिकाको हातमा पाठयपुस्तक वितरण गरिसकिएको बताए। उनले भने,‘जेठमा नै पाठ्यपुस्तक वितरण गरिएको हो।’ प्रवक्ता बिष्टले सुदूरपश्चिम प्रदेशमा १२ प्रतिशत विद्यार्थी इन्टरनेटको पहु“चमा रहेको बताए। उनले भने, ‘काठमाडौंबाट अनलाइनमा आएका कुरा सुदूरपश्चिम प्रदेशमा काम गर्दैन र धनगढीबाट तयार भएका सामग्री पहाडी तथा ग्रामीण क्षेत्रमा पुग्दैन।’

प्रकाशित: १ कार्तिक २०७७ ०३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App