coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

सबै परीक्षा सञ्चालनको बाटो खुला

कोरोना जोखिमका कारण ७ महिनादेखि रोकिएका सबै तहका परीक्षा सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्न बाटो खोलिदिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रोकिएका सबै तह र प्रकृतिका परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको थियो । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना त्रासका कारण चैतदेखि रोकिएका सबै परीक्षा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्ने निर्णय भएको बुधबार जानकारी दिएका हुन् ।

परीक्षा सञ्चालनको स्वीकृति पाएसँगै त्रिविका ७ लाख र कक्षा १२ का चार लाख बढी विद्यार्थीको परीक्षा सञ्चालनको बाटो खुलेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोनाका कारण विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन र रोकिएका सबै परीक्षा सञ्चालन गर्न अनुमति प्रस्ताव परिषद्मा पेस गरेका थिए । त्यही प्रस्तावमा छलफल गर्दै मन्त्रिपरिषद्ले परीक्षा सञ्चालनको अनुमति दिएको उनले जनाए ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्ने गरी परीक्षा सञ्चालनका निकाय आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद् तथा शिक्षण संस्थालाई सबै तह, विषय र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको उनले जनाए ।

व्यावसायिक तालिम प्रदायक संस्थालाई पनि स्वास्थ्य मापदण्ड पालना गरेर विभिन्न व्यवसायका लागि तालिम प्रदान गर्न स्वीकृति दिइएको छ । त्यस्ता तालिममा २५ जनाभन्दा बढीको सहभागिता भने नगर्न भनिएको छ । त्यस्ता तालिम छोटो अवधिका लागि हुनुपर्ने पनि सरकारले जनाएको छ ।

कोरोना संक्रमण बढ्दो जोखिमका कारण लकडाउन जारी गरिएपछि एसइई, कक्षा ११ र १२ को परीक्षा रोकिएको थियो । एसइई परीक्षा विद्यायले आन्तरिक मूल्यांकनबाटै लिए भने कक्षा ११ र १२ का साथै त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा रोकिएका छन् ।

बोर्ड प्रवक्ता जंगबहादुर अर्यालले बोर्डले परीक्षाको सबै तयारी गरिसकेको र परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशनसम्मको कार्ययोजासमेत तयार पारिसकेको बताए । उनले सरकारले परीक्षाको अनुमति दिएलगत्तै अब बोर्डले बैठक बसी परीक्षा मिति तय गर्ने जनाए । ‘छिटै बोर्ड बैठकले परीक्षा सञ्चालनको सूचना प्रकाशित गर्छ,’ उनले भने, ‘तर दसैंअघि परीक्षा सम्भव नभएकाले मंसिरतिर गर्ने बोर्डको तयारी छ ।’

प्रकाशित: २२ आश्विन २०७७ ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App