१५ चैत्र २०८० बिहीबार
शिक्षा

नौकुण्ड गाउँपालिका बाहेक अन्य क्षेत्रमा सञ्चालनमा आएका विद्यालय बन्द

रसुवाको नौकुण्ड गाउँपालिका बाहेक अन्य क्षेत्रमा सञ्चालनमा आएका विद्यालय बन्द भएका छन्। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण बन्द भएका विद्यालय केही समयअघिदेखि सञ्चालनमा आएका थिए।  

जिल्लाको नौकुण्ड र उत्तरगया गाउँपालिकामा रहेका विद्यालयले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सिफ्ट अनुसार अध्यापन सुरु गरेका थिए। साथै कालिका गाउँपालिका भित्रका केही विद्यालय सञ्चालनमा आएका थिए।  

बुधबार जिल्ला प्रशासन कार्यालय रसुवाले सूचना जारी गरेर तत्काल विद्यालय सञ्चालन नगर्न आग्रह गरेसँगै खुलेका विद्यालय बन्द भएका छन् भने खुल्ने तयारीमा रहेका विद्यालयले तत्काल विद्यालय सञ्चालन नगर्ने भएका छन्। नौकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाले स्वास्थ्य प्रोटोकल पूरा गरेर सिफ्ट अनुसार विद्यालय सञ्चालन गरेको बताइन्। गाउँपालिकाले बैकल्पिक शिक्षण कार्यविधि अनुसार विद्यालय सञ्चालन गरेको जनाएको छ।  

उनका अनुसार सञ्चालनमा आएका विद्यालय बन्द गर्ने योजना छैन। ‘अहिले हाम्रो गाउँपालिका भित्रका ३० वटै विद्यालय सञ्चालनमा आएका छन्’, उनले भनिन््, ‘प्रशासनको सूचनापछि केही विद्यालयले सञ्चालन गर्ने कि नगर्ने भनेर सोधेका छन्।’ गाउँपालिकाले अर्को निर्णय नहुँदासम्म अध्यापन जारी राख्न आग्रह गरेको छ।  

उत्तरगया गाउँपालिकामा सञ्चालनमा रहेका विद्यालय भने बिहीबारदेखि बन्द भएका छन्। गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङका अनुसार सञ्चालनमा रहेका केही विद्यालयमा प्रहरी पुगेर बन्द गराएको छ। ‘विद्यालयले सिफ्ट अनुसार अध्यापन गराइरहेका थिए’, उनले भनिन्, ‘प्रहरी नै आएर विद्यालय बन्द गरेपछि त बन्द गर्नुको बिकल्प रहेन।’  

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकाले बिहीबारदेखि विद्यालय सञ्चालनमा ल्याउने तयारी गरेपनि प्रशासनको सूचनाका कारण नयाँ सूचना जारी गरेर विद्यालय सञ्चालनमा नल्याउने बताएका छन्।  

गोसाइँकुण्ड गाउँपालिकामा रहेका विद्यालयले बिहीबार विद्यालय पुगेका विद्यार्थीलाई कक्षा नलिइ फर्काएका छन्। विद्यालय पुगेका विद्यार्थीलाई विद्यालय प्रशासनले विद्यालय खुल्ने बेलामा खबर दिने भनेर फिर्ता गरेका छन्।  

गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याउनका लागि फेस सिल्डसहित आवश्यक सामग्री वितरण गरेको थियो। गाउँपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयले विद्यालय सञ्चालनमा ल्याउनका लागि तयारी पूरा गरिसकेका थिए।  

जिल्लाको कालिका गाउँपालिकाले औपचारिक रूपमा विद्यालय सञ्चालन बारे कुनै पनि निर्णय नगरेको जनाएको छ। गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेका अनुसार विद्यालयहरूले पठनपाठन सञ्चालनका लागि तयारी गरेका छन्। गाउँपालिकामा रहेको नीलकण्ठ नमुना माविमा रहेको आइसोलेसनलाई पनि जीवजीवे ग्रामीण अस्पतालमा सारिएको छ।

प्रकाशित: १५ आश्विन २०७७ ११:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App