४ वैशाख २०८१ मंगलबार
शिक्षा

कोरोना सर्ने त्रासले विद्यालयमा साथीलाई छुँदैनन्

बालबालिकामा कोरोना सचेतता

कालिमाटीमा रहेकाे नीलबाराही माध्यामिक विद्यालयमा सञ्चालित कक्षा। तस्बिर: नागरिक

बालबालिका स्वाभावले नै चन्चले हुन्छन्। उनीहरु साथीभाई भेट्यो कि खेल्ने कुद्ने र उफ्रने गरिहाल्छन्। यो बालापनको स्वभाविक प्रक्रिया नै हो। तर कोरोना कहरले बालबालिकालाई यतिसम्म सचेत बनाएको छ कि उनीहरु साथीभाईसँग खेल्न कुद्न नै बिर्सिसकेका छन्।

कोरोना अघिसम्म विद्यालयमा साथीभाइको हात समाएर रमाइलो र समूहमा खाजा खाने, खेल्ने र सँगै बेन्चमा बस्ने बालबालिकाहरु साथीलाई नछोएरै अध्ययन गर्ने भएका छन्। उनीहरुलाई स्कुलमा आउन पाउँदा नै रमाइलो लाग्ने गरेको छ।

कालिमाटीमा रहेको नीलबाराही माध्यमिक विद्यालयले बुधबार कक्षा १ देखि ५ सम्मका बालबालिकालाई स्कुलमै उपस्थित गराएर २ घन्टा पठनपाठन गरायो। स्वास्थ्य सुरक्षाको मापदण्ड मास्क, सेनिटाइजर भौतिक दूरी कायम तथा सरसफाइको पूर्ण सुरक्षा अपनाएर कक्षा सञ्चालन गरिरहँदा बालबालिका निकै सचेत बनेको देखियो। कोरोना अघिसम्म कक्षामा साथीसाथीसँगै बस्ने, सँगै खेल्ने, जिस्कने, उफ्रने, खाजा समयमा साथीको हात समाएर रमाइलो गर्दै खाजा खाने, दौडिने गर्ने केटाकेटी बुधबार निकै शान्त स्वभावमा उपस्थित थिए।

साढे १० बजे कक्षा १ देखि ५ सम्मका करिब साढे दुई सय बालाबलिका स्कुल आए। गेटमा उभिएकी पाले बहिनीले सबैलाई हातमा सेनिटाइजर लगाइदिइन्। अरु दिनमा निकै हल्ला मच्चाउने र एकअर्काको जिउमै उफ्रिने चञ्चले बालबालिका शान्त र दूरी कायम गरी लाइनमा थिए। उनीहरु शान्त बनेरै सेनिटाइजर लगाएर कक्षामा प्रवेश गरेका थिए।

कक्षामा शिक्षक प्रवेश गर्नसाथ सबैले हातमा सेनिटाइजर लगाए। एउटा बेन्चमा एक जना मात्र बसेका थिए। सबैले मास्क लगाएका थिए। कोही कोही साथीसँग बोलचाल गरिरहेका थिएनन्। अरु बेला साथीसँगै धेरै समय बिताउन मन पारउने कक्षा १ का आयुष श्रेष्ठ बुधबार आफनो बेन्चमा चुपचाप बसेर शिक्षकले सिकाएका विषयवस्तु सिके। एक साथीले बोलाउँदा परबाटै बोले नजिक गएनन्। नजिक गए वा साथी छोएमा कोरोना सर्छ भन्नेबारे उनलाई सचेत गराउने काम भने कक्षा शिक्षिकाले गराएकी रहिछिन्। ‘स्कुल खुलेपछि मलाई स्कुलमा आएर पढ्न, साथीसँग भेट भएको रमाइलो लाग्यो,’ आयुषले नागरिकसँग भने, ‘तर साथीलाई छोएर मैले खेल्नु हुँदैन, किनभने कोरोना सर्ने कुरा मिसले सिकाउनु भएको छ।’ घर फर्कने समयमा स्कुलमा हात धोइरहेका उनले थपे, ‘अब म घर गएपछि स्कुल ड्रेस साबुन पानीले भिजाएर धुनुपर्छ। अनि कोरोना लाग्दैन।’

सेनिटाजर पनि लगाउनुपर्छ। कोरोना मर्छ। मिसले त कसैलाई छुनु हुँदैन है भन्नुभएको छ। छोएर हात नधोए कोरोना सर्छ नि। मलाई स्कुलमा मिसले सिकाउनु भएको कुरा मन पर्छ। घरभन्दा स्कुलमै रमाइलो लाग्छ।’

युकेजीकी निकै चुलबुले स्वभावकी आयुष्मा श्रेष्ठ पनि कोरोनाबारे साथीसँग छलफल गरिरहेकी भेटिइन्। उनले पनि नीलबाराही स्कुलमा आफ्ना शिक्षकसँग सिकेको कुरा छिमेकी साथीसँग साटिरहेकी थिइन्।

‘हाम्रो मिसले त घरबाट बाहिर निस्कन्दा मास्क लगाउनुपर्ने र केही समान छोएपछि साबुनपानीले हात धुनुपर्छ भन्ने सिकाउनुभएको छ,’ आयुष्माले साथीसँग सुनाइन्, ‘सेनिटाजर पनि लगाउनुपर्छ। कोरोना मर्छ। मिसले त कसैलाई छुनु हँुदैन है भन्नुभएको छ। छोएर हात नधोए कोरोना सर्छ नि। मलाई स्कुलमा मिसले सिकाउनु भएको कुरा मन पर्छ। घरभन्दा स्कुलमै रमाइलो लाग्छ।’

आयुषकी आमा पविता श्रेष्ठ जोगीले पनि स्कुल गएदेखि आफना नानीहरु निकै सचेत बनेको अनुभव सुनाइन्। ‘पहिले जति भन्दा पनि हात धुन नमान्ने आयुष स्कुल गएदेखि पटकपटक साबुनपानीले हात धुने गरेको देख्दा निकै खुसी लाग्छ। यति मात्र होइन आयुष स्कुलबाट आउनासाथ ड्रेस फुकालेर साबुनपानीले आफैंले पखालेर सुकाउँछ। हात, मुख र खुटा साबुनपानीले मिचेर धुन्छ,’ उनले थपिन्, ‘मेरो छोरो कोरोना जोखिमबाट बच्न घरभन्दा स्कुलमै बढी सिकेर सचेत भएको छ। छिमेकी साथीसँग पनि छोएर खेल्दैन। छोयो कि हात धुन्छ। कति राम्रो बानी सिकायो स्कुलले।’ उनको आमा बुवाभन्दा पनि बालबालिकाले शिक्षकले भनेका कुरा छिटो सिक्ने र मान्ने गरेको उनको अनुभव छ। उनका अनुसार घरमा टोलाएर मात्र बसिरहेको छोरा स्कुल जान थालेपछि बोल्ने र अध्ययन गर्ने बनेको छ।

असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आकस्मिक कार्य योजना, ०७७ जारी गरी असोज पहिलो सातादेखि भर्ना, कक्षा सञ्चालनदेखि परीक्षा सञ्चालनसम्मको क्रियाकलाप, कार्यान्वयन प्रक्रिया, समयावधि, कार्यान्वयन गर्ने निकाय र सहयोगी निकायको कार्य योजना नै बनाएर कार्यान्वयन गर्यो।

स्वास्थ्य सुरक्षाका उपाय अपनाएर आलोपालो गरी स्कुल सञ्चालन गर्न निर्देशनसहितकोे यो कार्ययोजना कार्यान्वयन गर्नसाथ धेरै स्थानीय निकायले स्कुल तथा अभिभावकसँग समन्वय गरी भौतिक दूरी कायम उपस्थितकै आधारमा कक्षा सञ्चालन गरिरहेको काठमाडौं महानगरपालिका शिक्षा विकास समन्वय एकाइ प्रमुख नन्दलाल पौडेलले बताए। उनले काठमाडौंको थानकोटमा रहेको प्रभात मावि, गागलफेदीमा रहेको सिद्धि गणेश मावि र कालिमाटीको नीलबाराहीलगायत थुप्रै विद्यालय विद्यार्थी उपस्तिका आधारमा सञ्चालन भइरहेको बताए।

‘स्कुलमा स्वास्थ्य सुरक्षाका उपाय अपनाएर सञ्चालन गरेको पाइएको छ ,’ इकाई प्रमुख पौडेलले भने, ‘अघिपछि सँगै बस्ने, सँगै खाने, खेल्ने, हिँड्ने नानीहरु कक्षाकोठामा मास्क तथा सेनिटाइजर प्रयोग गरी तथा भौतिक दूरी कायम गरी सिकाइ गरिरहेका छन्।’ केन्द्र सरकारले विद्यालय खोल्न निर्देशन दिने तर जिल्ला प्रशासन कार्यालयले बन्द गर भन्ने तथा स्थानीय तहले विद्यालय खोल्ने निर्णय गर्ने कार्याले चुनौती थपिएको उनले बताए।

नीलबाराही स्कुलकी प्रधानाध्यापक डा. जानुका नेपालले सरकारी निर्देशनअनुसारै स्कुलमा स्वास्थ्य सुरक्षाको सबै सावधानी अपनाएर स्कुल सञ्चालन गरिरहेको दाबी गरिन्।

प्रकाशित: १५ आश्विन २०७७ ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App