६ वैशाख २०८१ बिहीबार
शिक्षा

चौतर्फी विरोधपछि विराटनगरमा परीक्षा स्थगित

चौतर्फी विरोध भएपछि विराटनगरमा हुने भनिएको कक्षा ११ को परीक्षा स्थगित भएको छ। कोरोना भाइरसको संक्रमण बढिरहेको बेला विराटनगरमा असोज २५ गतेबाट परीक्षा सञ्चालन गर्ने तय भएको थियो।

सरकारले विद्यालय तत्काल नखोल्न दिएको निर्देशन अवज्ञा गर्दै विराटनगर महानगरपालिकाले निजी विद्यालय सञ्चालकसँगको मिलेमतोमा परीक्षा लिने तयारी गरेको आरोप लागेको थियो। महानगरका मेयर भीम पराजुली आफै निजी शैक्षिक संस्थाका सञ्चालक समेत हुन्।

कोरोना संक्रमण बढिरहेको बेला चाडपर्वको मुखमा शुल्क असुल्नकै लागि मात्र परीक्षा लिने तयारी भएको भन्दै अभिभावकले आक्रोश प्रकट गरेका थिए। सरकारले माघसम्ममा परीक्षा लिन निर्देशन दिएको भएपनि तत्काल परीक्षा लिने तयारी गर्दा थप जोखिम बढाउने भन्दै अभिभावक र विद्यार्थीहरु आक्रोशित थिए।

विद्यार्थीहरुले परीक्षा स्थगित गर्न माग गर्दै सोमबार विराटनगर महानगरपालिकामा धर्ना दिएका थिए भने अभिभावकहरु अदालत जाने तयारीमा थिए। चौतर्फी विरोध भएपछि जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार बसेको सर्बपक्षीय बैठकले परीक्षा स्थगित गर्ने सहमति गरेको हो।

परीक्षा स्थगित सम्बन्धि निर्णय भने जिल्लास्तरीय क्राइसिस मेनेजमेन्ट कमिटिको बैठकबाट हुने प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।

परीक्षा गर्न नसकिने अवस्था हुँदाहुँदै परीक्षाको तालिका सार्वजनिक भएका कारण विद्यार्थीहरु अन्यौलमा परेकोले सबैको सहमतिमा परीक्षा स्थगित गर्ने तयारी गरेको प्रशासन कार्यालयले जनाएको छ। बढ्दो कोरोना महामारीमा प्रदेश १ कै उच्च संक्रमण दर रहेको विराटनगरमा महानगरपालिकाले असोज २५ देखि कार्तिक ३ गतेसम्म परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो। निजी विद्यालयहरुले शुल्क असुल गर्नकै लागि परीक्षा लिने वातावरण बनाउन महानगरलाई दबाब दिएका थिए।  

 

प्रकाशित: १२ आश्विन २०७७ १२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App