८ वैशाख २०८१ शनिबार
शिक्षा

कोरोनाको ‘इपिसेन्टर’ मा परीक्षाको तयारी

कोरोना संक्रमणको केन्द्र बनेको प्रदेश १ को राजधानी विराटनगरमा कक्षा ११ को परीक्षा सञ्चालनको तयारी सुरु भएको छ। संक्रमण तीव्र भइरहेका बेला परीक्षाको तयारी थालिएको भन्दै अभिभावकहरु अदालत जाने तयारीमा जुटेका छन्।

विराटनगर महानगरमा मात्रै  हालसम्म संक्रमित संख्या  दुई हजार नाघिसकेको छ। संक्रमणको इपिसेन्टर बनेको महानगरमै कक्षा ११ को परीक्षा सञ्चालनको सूचना महानगरले निकालेपछि अभिभावकले चिन्ता प्रकट गरेका हुन्। ‘शिक्षा मन्त्रालय जोखिम कायमै रहेकाले विद्यालय नखोल्नु भनिरहेको छ’, अभिभावकहरु भन्दैछन् ‘तर, महानगरले भने परीक्षा चलाउने सूचना गर्दैछ। यो चाडपर्वका मुखमा शुल्क असुल्ने उपाय मात्रै हो।’

विराटनगरमा कोरोना संक्रमण दैनिक बढिरहेको बेला परीक्षा लिने हतारो गर्न नहुने भन्दै अभिभावकहरुले त्यसविरुद्ध अदालतको ढोका घच्घच्याउने तयारी गरेका छन्। विराटनगरभित्रका २७ वटा विद्यालयमा असोज २५ गतेबाट कार्तिक ३ गतेसम्म परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने गरी निर्देशिका जारी गरेको छ। त्यही अनुसार महानगरभित्रका विद्यालयमा परीक्षा सञ्चालनको तयारी भएको हो।

कक्षा ११ को परीक्षा सञ्चालन गर्न विद्यालयहरुले महानगरपालिकालाई समन्वय गरिदिन आग्रह गरेपछि महानगरले समन्वय मात्र गरेको महानगरको शिक्षा शाखा प्रमुख दुर्गा खतिवडाले बताए। उनले ‘सरकारले जारी गरेको निर्देशनकै परिधिमा रहेर परीक्षा सञ्चालनको तालिका सार्वजनिक गरिएको बताए। माघ महिनामा कक्षा ११ को परीक्षा लिँदा एउटै कक्षामा नयाँ र पुराना विद्यार्थीहरु राख्नुपर्ने समस्या आउने भएकोले परीक्षा सञ्चालनको तयारी गरिएको उनको भनाई छ। अभिभावक राजु दाहाल यसले संक्रमणको त्रास फैलाउने भन्दै अदालतसम्मै पुग्ने बताउँछन्।

महानगर भने परीक्षा सञ्चालन गर्दा स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पुरा गर्ने, एउटा कक्षामा १८ जनाभन्दा बढी विद्यार्थी नराख्ने तयारी गरेकोले परीक्षा सञ्चालन गर्दा समस्या नहुने बताउँछ।

 

 

प्रकाशित: १२ आश्विन २०७७ ०५:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App