१६ चैत्र २०८० शुक्रबार
शिक्षा

नेपाली सेनाद्वारा विद्यालय भवन निर्माण

चन्दननाथ नगरपालिका–२ स्थित कर्णाली माध्यमिक विद्यालय अनामनगरमा नेपाली सेनाले भवन निर्माण गरिदिएको छ। नागरिक सैनिक सहयोग कार्यक्रम अन्र्तगत २५ लाख रुपैयाँमा दुई तलाको विद्यालय भवन निर्माण गरिएको हो। भवन निर्माण भएपछि विद्यालयमा पठनपाठनमा सहज हुने प्रधानाध्यापक मिनप्रसाद शर्माले बताए। जुम्लास्थित नन्दबक्स गणका सैनिक जनशक्तिले विद्यालयको भवन बास्केट बल कोर्टसहितका संरचना निर्माण गरेको उनले जनाए। ‘सेनाले शैक्षिक क्षेत्रमा काम गर्न थालेपछि निकै सहज भएको छ,’ उनले भने, ‘विद्यालयसँग समन्वय गरेर भवन निर्माण भएसँगै सेना र नागरिकबीचको सम्बन्धमा सुमधुर बनेको छ।’

नेपाली सेना उत्तरपश्चिम पृतनापती उपरथी विज्ञानदेव पाण्डेले भवनको उद्घाटन गर्दै नेपाली सेना समाजका हरेक समस्यासँग जुध्न एकाकार भएर लाग्ने बताए। ‘नेपाली सेनाले समुदायमा थुप्रै काम गर्दै आइरहेको छ,’ उनले भने, ‘यस्ता कार्यक्रमले जनता र सेनाबीचको सम्बन्धमा थप सुधार भएको छ। आगामी दिनमा पनि हरेक निकायसँग समन्वय गरेर काम गर्न हामी तयार छौं।’

अनामनगर विद्यालयमा अध्ययनरत विद्यार्थी संख्या धेरै रहेका कारण भवनको अभाव थियो। विद्यालय व्यवस्थापन समितिले आग्रह गरेपछि श्री २४ नम्बर बाहिनी अड्डा पूर्व बाहिनीपती दिपक बानीयाँले समन्वय गरेका थिए। त्यहीँअनुसार विद्यालय भवन निर्माण भएको बताइएको छ। नेपाली सेनाले विद्यालय भवन निर्माण गरिदिएपछि शिक्षक, अभिभावकका साथै विद्यार्थीहरू खुसी भएका छन्।

प्राविधिक प्रतिवेदनअनुसार ५६ लाख रुपैयाँको भए पनि नेपाली सेनाबाट २५ लाख रुपैयाँ मात्रै रकम विनियोजन भएको थियो। नेपाली सेनाले चार कोठे पक्की भवन बास्केटबल कोर्ट, शौचालयलगायतका भौतिक पूर्वाधार निर्माण गरेको वाहिनीपति यमबहादुर सापकोटाले जानकारी दिए। ‘गत वर्षको कातिकदेखि काम सुरु भएको थियो,’ उनले भने, ‘कोरोना भाइरसको जोखिमको अवस्थामा पनि सामाजिक दूरी कायम गर्दै सानो समूहमा निर्माण कार्यलाई निरन्तरता दिएका थियौं।’

जुम्ला तातोपानी गाउँपालिका–४ को गणेश आधारभुत विद्यालय भवन पनि नेपाली सेनाले निर्माण गरिदिएको छ। भवन नहुँदा उहाँका विद्यार्थी खुला ठाउँमा बसेर पढ्न बाध्य थिए। खलंगास्थित तत्कालिन भगवती दल गणले गाउँमा पक्की भवन निर्माण गरिदिएपछि अहिले सहज भएको छ। यहाँ पनि नेपाली सेनाले आफ्नै लागतमा भूकम्प प्रतिरोधी भवन निर्माण गरेको हो। विद्यालय संरचना निर्माणमा नेपाली सेनाले ठूलो योगदान गर्दै आएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए।

विद्यालयका साथै गाउँमा सिंचाई, मठमन्दिर निर्माण तथा सरसफाई र विपद्को समयमा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ। जिल्लाको गुठिचौर गाउँपालिकास्थित शंकर प्राविमा पनि नेपाली सेनाले विद्यालय भवन मर्मत गरिदिएको थियो।

प्रकाशित: १२ आश्विन २०७७ ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App