८ वैशाख २०८१ शनिबार
शिक्षा

विद्यार्थीको रोल नम्बरमा पनि जोरबिजोर प्रणाली!

कोरोना कहरपछि विद्यालयमा आएका दिप्रुङ चुईचुम्मा गाउँपालिकाका छात्र÷छात्रा । तस्बिर : नागरिक

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाई सहजीकरणका माध्यमबाट पठन–पाठनलाई सुचारु गराएको छ। कोरोना महामारीकाक्रममा अवरुद्ध पठन–पाठनलाई गाउँपालिकाले विद्यार्थी सिकाई सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम सुचारु गराएको हो। गाउँपालिकाभित्रका ४८ विद्यालयमा आइतबारदेखि सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा सतर्कता अनपाएर विद्यालयको अनुकूलतामा सिफ्ट कायम गरेर विद्यार्थीको रोल नम्बरमा जोर÷बिजोर प्रणाली अपनाएर सिकाई सहजीकरण सुरु गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए।  

यसबाहेक गाउँपालिकाले जारी गरेको ‘गाउँटोल वस्ती सिकाइ सहजीकरण अभियान कार्यविधि’ अनुसार गाउँटोल वस्तीमा सिकाइ केन्द्र व्यवस्थापन गरी पठन–पाठन गर्न सकिने व्यवस्था मिलाइएको छ। कोरोना कहरका कारण लामो समयपछि विद्यार्थी विद्यालय पुग्दा उत्साहित देखिएका छन्। कुनै एक जनालाई कोरोना संक्रमण देखिएको अवस्थामा भने अन्यलाई पनि सर्ने त्रास भने देखिएको छ।  

कोरोना कहरकैबीचमा पनि दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पठन–पाठनलाई सुचारु गराउने प्रयास गरेको थियो। असार मसान्त बित्दा समेत कोभिड–१९ को असर नघट्दा शैक्षिक क्यालेण्डर नै तलमाथि हुने अवस्था आएपछि गाउँपालिकाले साउन ७ गतेदेखि भदौ ३ गतेसम्म गाउँटोलमै सिकाइ सहजीकरणको व्यवस्था मिलाएको थियो। दिनानुदिन कोरोना भाइरसको संक्रमण बढीरहेको तथा स्वास्थ्य संकट निम्तिने खतरालाई मध्यनजर गर्दै सो सिकाइ सहजीकरणलाई रोकेको गाउँपालिकाले पुनः पठन–पाठनलाई अघि बढाएको हो।  

‘विद्यालयले आफ्नो अनुकुलमा बिहान, दिउँसो वा बेलुका सिफ्ट कायम गरेर पठन–पाठनमा सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ। जोरबिजोर रोल नम्बरका आधारमा विद्यार्थीलाई सिकाइ केन्द्रमा आउने व्यवस्था मिलाइएको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘विद्यार्थीलाई कक्षामा भौतिक दूरी कायम गरेर राखिने छ। भिडभाड हुने भएकाले टिफिन टाईम कटौती गरिएको छ।’  

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४८ विद्यालयमा ५ हजार ५१२ विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा आएका विद्यार्थीलाई एक बेञ्चमा एक जना वा दुई जनालाई मात्र राख्ने व्यवस्था गरिएको छ। विद्यार्थीको संख्या बढी भएको अवस्थामा सम्भव भएसम्म गाउँमै सिकाइ केन्द्र स्थापना गरेर पठन–पाठनलाई सुचारु गराइएको गाउँपालिकाका शिक्षा शाखा संयोजक मणीकुमार गिरीले बताए। कोरोना भाइरसका कारण विद्यार्थीमा परेको मनोवैज्ञानिक असर न्यूनीकरण गर्दै शिक्षक–विद्यार्थीबीचको लामो ‘ग्याप’ कम गर्नका लागि गाउँपालिकाले सिकाइ सहजीकरणको विधि अपनाएको हो।  

शैक्षिक–सत्रको सुरुबाट पठन–पाठन गर्न नसकिएकाले यसपल्टको वर्षे विदा कटौती गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। ‘बैसाखबाट सुरु हुनुपर्ने पठन–पाठन हालसम्म ठप्प रह्यो। हालसम्म सिकाइ उपलब्धी शुन्य छ। विद्यार्थीमा पढ्ने बानी हट्दै जान थालेको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘तत्काल नै यो कोरोना संक्रमण अन्त्य हुने अवस्था पनि देखिन्न। महामारी रहिरह्यो भन्दैमा सिकाई उपलबधी बिना विद्यार्थीलाई माथिल्लो कक्षामा अपग्रेड गर्ने कुरा पनि भएन। त्यही भएर सामाजिक दूरी कायम गरेर पठन–पाठन सुचारु गरिएको हो।’  

गाउँपालिकाको असोज ९ गतेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका अनुसार पठनपाठनलाई सुचारु गराउने निर्णय गरेको थियो। जिल्लाका अन्य स्थानीय तहले पनि अवरुद्ध पठनपाठनलाई आ–आफ्नै तरिकाले सुचारु गराउने तयारी गरिरहेको छ।

प्रकाशित: ११ आश्विन २०७७ १३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App