८ वैशाख २०८१ शनिबार
शिक्षा

'स्कुल खुल्दा मनै रमाईलो'

दंगीशरण गाउँपालिकामा रहेको लक्ष्मी नारायण आधारभुत विद्यायमा पढाई हुँदै ।

घोराही उपहानगरपालिका हापुरकी समिक्षा दाहालका ६ महिना घरभित्रै गुम्सिएर बिते। हापुर मावि निघुवारमा कक्षा १० मा अध्ययनरत उनलाई लाग्थ्यो ‘स्कुल कहिले खुल्ने होला?’ कक्षा ९ पास भएपछि कोरोना कहरका कारण विद्यालय बन्द भएपछि ६ महिना सम्म १० कक्षामा पढ्ने उत्साह मत्थर बन्यो।  विद्यालयका साथीहरुसंग लामो समय सम्म भेटघाट हुनै पाएन।  

‘कक्षामा पढ्ने साथीहरुसंग भेट पनि लामो समयसम्म हुन सकेन,’उनले भनिन् ‘अनि लामो समयसम्म पढ्न पनि पाईएन, घरभित्रै थुनिएर बस्दा साह्रै अप्ठ्यारो महशुस भयो।’ ६ महिनापछि उनको त्यो असहजता मेटिएको छ। उनी नियमित विद्यालय जान थालेकी छिन्। ‘६ महिनापछि बल्ल स्कुल जान पाईयो,’उनले भनिन् ‘स्कुल गएर पढ्न पाउँदा अहिले धेरै खुशी लागेको छ।’ विद्यालय जान पाउँदाको हर्षसंगै कोरोना संक्रमणको त्रासदीले पनि घच्घच्याई रहन्छ। उनले भनिन् ‘कोरोनको डर त लागिहाल्छ , तर मास्क लगाएर विद्यालय जान्छु,अनि विद्यालयमा नियमित रुपमा हात धुन्छौँ।’

हापुरकै केशव बस्नेतले विद्यालयका साथीहरुसंग ६ महिनापछि बल्ल भेट्न पाए। अनि ६ महिनासम्म अध्ययनदेखि टाढा रहेका उनको अध्ययन पुनः सुरु हुन पाउँदा उनी पनि दंग छन्। ‘यो वर्षभरी नै पढ्न पाईन्न कि भन्ने डर लागिरहेको थियो,’ उनले भने ‘एक वर्षसम्म पढ्न नपाएको भए त हामीहरुलाई ठूलो घाटा हुन्थ्यो नि।’ उनी पनि अहिले नियमित रुपमा आवश्यक स्वास्थ्य सुरक्षाको सावधानी अपनाएर विद्यालय आउँछन्। ‘मास्क अनिवार्य प्रयोग गर्छौँ,अनि भौतिक दूरी कायम गरेर बसेर पढ्छौँ,’ उनले भने ‘विद्यालयले पनि हात धुनका लागि साबुन पानीको व्यवस्थापन गरिदिएको छ, नियमित हात धुन्छौँ।’

सोही विद्यालयमा अध्ययनरत जया बस्नेत पनि असोज सुरु भएलगत्तै विद्यालय जान्छिन्। कोरोना संक्रमणको त्रास त छ नै। तथापी आफू सुरक्षित रहेर उनी नियमित कक्षा लिईरहेकी छिन्। ‘यस्तो महामारीका बेला कोरोन सर्ला कि भन्ने डर त हुन्छन नि,’जयाले भनिन् ‘तर हामीहरु आँफू सुरक्षित रहेर अध्ययन गरिरहेका छौँ।’ उनलाई पनि यो वर्ष विद्यालयमा पढ्न जान पाईएला भन्ने लागेकै थिएन। कोरोनाको महामारी ब्यापक बनिरहेका बेला उनको पढाई पनि अनिश्चित हुनेमा उनी ढुक्क जस्तै थिईन्।  

तर सरकारले सिकाई निर्देशिका २०७७ जारी गरेसंगै सामाजिक दूरी कायम राखेर विद्यालय सञ्चालन गर्न अनुमति दियो। अनि विद्यालयले सरकारले तोकेका मापदण्ड पुरा गरेर पठनपाठन सुरु गर्यो। ‘मलाई पनि विद्यालय खुल्छ अनि पढ्न पाईएला भन्ने लागेकै थिएन,’ उनले भनिन् ‘तर सरकारले विद्यालय खुल्ने वातावरण बनाईदियो, हामी फेरि स्कुल जान पायौँ।’

सरकारले जारी गरेको निर्देशिकालाई टेकेर जिल्लाका अधिकांश सामुदायिक तथा निजी विद्यालयहरुले सिफ्ट निर्धारण गरेर पठनपाठन सुरु गरेका छन् भने केहि विद्यालयहरुमा पठनपाठन सुरु हुने प्रकृयामा छ। तर कोरोनाको महामारीका बेला फेरि विद्यालय बन्द हुने हुन् कि भन्ने त्रास पनि विद्यार्थीहरुमा छ। असोज पहिलो सातादेखि नियमित अध्ययनका लागि विद्यालय पुग्ने बालबालिकाहरु अब विद्यालय बन्द नभैदिए हुन्थ्यो भन्नेमा छन्। ‘६ महिनापछि बल्ल बल्ल स्कुल जान पायौँ, पढ्न पाएका छौँ,’ घोराहीस्थित हिन्दुबिद्यापीठन नेपालमा ९ कक्षामा अध्ययनरत छायाँ बस्नेतले भनिन् ‘अब स्कुल बन्द नभैदिए हुन्थ्यो।’ उनलाई पनि कोरोनाको त्रासदी  । तर एक वर्षसम्म पढ्न नपाए आफ्नो एक वर्षको समय पढ्न नपाएर खेर जाने चिन्ता पनि उत्तिकै छ।  

जिल्ला शिक्षा समन्वय ईकाईका अनुसार केहि स्थानीय तहका विद्यालयहरुले सिफ्ट निर्धारण गरेर पठनपाठनलाई सुरु गरेका छन् भने केहिले समुदायस्तरमा सिकाई केन्द्र खडा गरेर पनि पठनपाठन सुरु गरेका छन्। ‘सरकारले जारी गरेको सिकाई निर्देशिकालाई टेकेर जिल्लामा पठनपाठनको वातावरण निर्माण भएको छ,’ ईकाईका प्रमुख देवमणी चौधरीले भने ‘केहिले समुदाय स्तरमै पुगेर सिकाई गरिरहेका छन् भने कोरोना संक्रमणको जोखिम नभएका स्थानमा विद्यालयमै पनि सिफ्टवाईज अध्ययन भैरहेको छ।’ उनका अनुसार जिल्लाको बंगलाचुली गाउँपालिकामा रहेका विद्यालयहरुले ५ कक्षासम्मका विद्यार्थीहरुलाई नियमित रुपमा पठनपाठन सुरु गरिसकेका छन्। ६ देखि १० कक्षासम्मका बालबालिकाहरुलाई भने कसरी पढाउन सकिन्छ भन्ने विषयमा गाउँपालिकाले गृहकार्य गरिरहेको छ।  

लामो समयसम्म विद्यालय जानबाट बञ्चित बालबालिकाहरु विद्यालयमा पठनपाठनका लागि जान निकै उत्साहित देखिएको विद्यालयहरुले जनाएका छन्। दंगीशरण गाउँपालिका सलौरास्थित लक्ष्मी नारायण आधारभुत विद्यालयमा पनि विद्यार्थीको उपस्थिती उत्साहजनक छ। यो विद्यालयले कक्षा अनुसार आलोपालो गरेर पठनपाठन सुरु गरेको छ। ‘हामीहरुले भौतिक दूरी कायम राखेर विद्यार्थीलाई बस्ने वातावरण बनाएका छौँ, अनि आवश्यक स्वस्थ्य सुरक्षाको प्रबन्ध मिलाएका छौँ,’विद्यलयका प्रधानाध्यापक गोविन्दप्रसाद आचार्यले भने ‘विद्यालय खुलेपछि विद्यार्थीहरु निकै उत्साहित भएका छन्, दिनहुँ विद्यार्थीहरुको संख्या थपिईरहेको छ।’

प्रकाशित: ११ आश्विन २०७७ ११:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App