१५ चैत्र २०८० बिहीबार
शिक्षा

बेलकाको गुरुङचौरीमा इन्जिनियरिङ पढाई

सामुदायिक विद्यालयमा पहिलो पटक स्कुल बस

बेलका ४ को इन्जिनियर स्कुलमा बस सञ्चालनबारे छलफल गरिदै । तस्बिरः महेश्वर

नाम चलेका सहर बजारका एकाधबाहेक निजी तथा आवासीय (बोर्डिङ) ले ‘स्कुल बस’ सेवा सरकारी तथा सामुदायिक विद्यालयले सञ्चालन गरेको कमै देखिन्छ। उदयपुरको बेलका नगरपालिकास्थित एक सामुदायिक विद्यालय भने यही शैक्षिक वर्षदेखि बस सञ्चालनमा ल्याउने तयारीमा छ।  

बेलका नगरपालिका ४ को जनता नमुना मावि गुरुङचौरी उदयपुरमा पहिलो स्कुल बस सञ्चालन गर्ने विद्यालयमा दरिन लागेको हो। चालु शैक्षिक वर्षदेखि प्राविधिकधारतर्फ सिभिल इन्जिनियरिङ पठनपाठन थालेको उक्त विद्यालयले टाढाका विद्यार्थीलाई आउजाउ गर्न सहज बनाउन बस सञ्चालन गर्न लागेको प्रधानाध्यापक सम्मर राईले बताए। उनका अनुसार बस खरिद प्रक्रियासमेत अन्तिम चरणमा पुगेको छ।  

खरिद प्रक्रिया टुंगो लगाईसकेकाले नमूना मावि गुरुङचौरी जिल्लाकै पहिलो स्कुल बस चलाउने सामुदायिक विद्यललयमा दर्ज हुने उनले बताए। स्कुलले बस चलाउन खरिद प्रक्रिया टुंग्याएर भुक्तानीसमेत गरिसकेको राईले बताए। प्रअ राईले सामुदायिक विद्यालयलाई बस चलाउँदा नेपाल सरकारले खरिदमा भन्सार छुटको व्यवस्था गरेकाले किन्न सहज भएको बताए। भन्सार सहुलियत भएपछि ६० लाख पर्ने ४० सिट क्षमताको बस १८ लाख ५० हजार रुपैयाँमै किन्ने गरी रकम भुक्तानी गरी बस मगाईसकेको प्रअ राईले बताए।  

राईले निजी विद्यालयसँग प्रतिष्पर्धा गर्न पनि बस ल्याउन लागिएको बताए। ‘गुणस्तरीय शिक्षा मात्र भएर नहुने रहेछ, अभिभाबकको ध्यान खिच्ने उपाय पनि चाहियो’ प्रअ राईले भने ‘निजी विद्यालयलेजस्तै बस चाहिने निश्कर्षसहित किन्ने निर्णय गर्‍यौं।’ आर्थिक वर्ष ०७६/७७ मा नमूना विद्यालय घोषित मावि गुरुङचौरीमा चालु शैक्षिक वर्षदेखि ईन्जिनियरीङ पठनपाठन गर्ने भएप्छि टाढाटाढाबाट विद्यार्थी आउन बसले सहज बनाउने बुझाई छ।

कक्षा शिसु (इसिडी) देखि कक्षा १२ सम्म साधारण र प्राविधिकतर्फको पठनपाठन गराउनु पर्दा विहान ८ः०० देखि साँझ ५ः०० बजेसम्म कक्षा सञ्चालन गर्नुपर्ने अवस्था स्कुललाई छ। त्यसमाथि नेपाली र अंग्रेजी दुवै माध्यामको पढाई गर्नुपर्दा समय मिलाउन बस सञ्चालन गर्नैपर्ने बाध्यता आईपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज तामाङले बताए।  

उनका अनुसार प्राविधिक शिक्षाप्रति विद्यार्थीको बाक्लो आकर्षण भएकाले टाढाटाढाका  विद्यार्थीलाई आउजाउ गर्न यातायात सुविधा अनिवार्य भएर बस किन्ने निर्णय गरिएको हो। पहिलो चोट एउटा बस किन्ने निर्णय गरिएको भन्दै तामाङले विद्यार्थी संख्या बढ्दै गयो र आवश्यक परे अन्य बस थप्ने व्यवस्था पनि विद्यालयले गर्ने बताए। विद्यार्थी संख्या, सेवा क्षेत्रको दूरी र स्कुलको क्षमता अनुसार निकट भविष्यमा थप २/३ वटा स्कुल बस किनेर सञ्चालनमा ल्याउन योजना उनले सुनाए।  

अहिलेसम्म धनीमानीका छोराछोरी मात्र इन्जिनियर, डाक्टर हुने गरेको हाम्रो समाजमा गरिव तथा बिपन्न वर्गका जनताका छोरीछोरीले पनि गुणस्तरीय शिक्षा पाउन गाउँकै सामुदायिक विद्यालयमा प्राविधिकतर्फ इन्जिनियरिङ पढाईको थालनी गरिएको अध्यक्ष तामाङले बताए। त्यसका लागि गुणस्तरीय शिक्षा, भरपर्दो पठनपाठन, यातायात सुविधा र शिक्षामैत्री वातावरण अत्यावश्यक भएको ठहर गर्दै त्यसप्रति विद्यालयले चासो बढाएको अध्यक्ष तामाङको भनाई छ।

निजी विद्यालयसँग शैक्षिक प्रतिस्पर्धासँगै भौतिक पूर्वाधारमा कम हुन नदिन पनि सामुदायिक विद्यालयहरुले आफुलाई सुधार गर्नैपर्ने खाँचो स्कलले महसुस गरेको उनले बताए।

प्रकाशित: १० आश्विन २०७७ ०७:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App