१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

कपिलवस्तुका विद्यालयमा असोज ११ देखि पढाई सुरु

सरकारले जारी गरेका विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार कपिलवस्तु नगरपालिकाले विद्यालयमा सिकाइ केन्द्र मार्फत पठनपान सुरु गर्ने निर्णय गरेको छ। नगर शिक्षा समितिको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको स्वास्थ्य प्रोटोलकको पालना गरी विद्यालयमा सिकाइ केन्द्र संचालन गरी पठनपाठन गर्न पाउने निर्णय गरिएको हो।  

यो निर्णयसंगै नगर क्षेत्रमा रहेका सरकारी र निजी गरी ८३ विद्यालयमा लर्निङ सेन्टरको माध्यमबाट असोज ११ गतेबाट पठनपाठन सुरु हुने नगरपालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत हरिप्रसाद ज्ञवालीले बताए। कोभिड-१९ का कारण लामो सयमदेखि बन्द भएको विद्यालयमा प्रबिधिको पहुँच अभावले भर्चुअल कक्षा संचालन गर्न कठिनाई भएकाले निदेशिका अनुसार विद्यालमया लर्निङ सेन्टर मार्फत पढाई सुरु हुने उनले बताए।  

‘विद्यार्थी र विद्यालयको अवस्था बिश्लेषण गर्दा हामीले विद्यालमया लर्निङ सेन्टरको माध्यमबाट पढाई सुरु गर्ने निर्णय गरेका हौ’ उनले भने। स्वः सिकाई र स्वः अध्ययनमा जोड दिन बढीमा एक समूहमा २५ जना विद्यार्थी सेन्टरमा रहने छन्। भौतिक दूरी, स्वास्थ्य सुरक्षाको पालना गरी साप्ताहिकरुपमा समयतालिका प्रकाशन गरी सेन्टरमा पढाईने छ। भर्ना अभिलेखीकरण, स्थानान्तरणका लागि असोज दोश्रो सातासम्मको समयावधि दिईएको नगरपालिका शिक्षा शाखाका प्रमुख युवराज भुसालले बताए।  

नगरपालिकामा पठनपाठन संचालन गर्नै विषयमा सरकारी र निजी विद्यालयका प्रअसंग छलफल समेत गरिएको थियो। नगरप्रमुख किरण सिंहले सरोकारवाला सबैसंग आवश्यक छलफल, समन्वय गरी विद्यालयमा लर्निङ सेन्टरको माध्यमबाट पढाई सुरु गर्न लागेको बताए। उनले विद्यालयमा आवश्यक स्वास्थ्य सुरक्षा अनिवार्य पालना गर्न समेत निर्देशन दिएका छन्। 

उता बाणगंगा नगरपालिकामा भने गाउँटोलमा समूह बनाई घर घर मै गएर सुरक्षित तरिकाले पढाई सुरु गरी सकिएको छ। जिल्लाका अन्य पालिकाहरुले समेत निर्देशिका अनुसार पढाई सुरु गनै तयारी गरेका छन्।

प्रकाशित: ९ आश्विन २०७७ १२:४० शुक्रबार