७ वैशाख २०८१ शुक्रबार
शिक्षा

विद्यालयमा छात्रा टिकाउन नर्स

छात्राहरुलाई महिनावारीको बेला जनचेतनाका लागि प्रत्येक विद्यालयमा नर्स

वागमती प्रदेश समाजिक विकास मन्त्रालयले छात्राहरुलाई विद्यालयमा टिकाइ राख्न प्रत्येक विद्यालयमा नर्सको ब्यवस्था गर्ने तय गरेको छ।  

असोज ८ गते सार्वजनीक सूचना जारी गरी यस प्रदेशको प्रत्येक स्थानीय तहमा कम्तीमा दुई माध्यमिक विद्यालयमा एक/एक स्टार्फ नर्स ब्यवस्था गर्नको लागि २ सय ३८ नर्स माग गरेको छ।  

सरकारी विद्यालयमा विशेष गरी छात्राहरु महिनावारीको समयमा विद्यालय आउँदैनन्। यसले गर्दा उनीहरुको प्रत्येक महिना चार दिन विद्यालयमा कक्षा छुट्ने गरेको र कतिपय अवस्थामा छात्राहरु महिनावारी भएकै कारण लाजले स्कुलै छाड्ने गरेका छन्।  

यसै कारण वागमती प्रदेश समाजिक विकास मन्त्रालयले स्वास्थ्य बालबालिका स्वस्थ विद्यालय लक्ष्यसहित प्रत्येक स्थानीय तहको कम्तीमा दुई माध्यमिक विद्यालयमा एक/एक नर्सको ब्यवस्थापनको निति अघि सारेको छ। यही नीति अन्तर्गत मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गरी चालु आर्थिक वर्ष कुल एक सय १९ स्थानीय तहको लागि २ सय ३८ नर्सको ब्यवस्था गर्ने निर्णय गरेको मन्त्रालयको प्रवक्ता दिपेन्द्र सुवेदीले बताए।  

उनले गत वर्ष मन्त्रालयले एक सय २१ माविमा एक÷एक नर्सको ब्यवस्था गरेको र नर्स ब्यवस्थापन गरिएका स्कुलहरुमा बालबालिकाको स्वास्थ्य राम्रो भएको र छात्राहरुको समेत सहभागिता राम्रो भएको देखिएकोले यो वर्ष बागमती प्रदेशको सबै स्थानीय तहको कम्तीमा दुई विद्यालयमा एक एक नर्सको ब्यवस्था गर्ने निर्णय मन्त्रालयले गरेको उनको भनाई छ।  

बागमती प्रदेशले प्रत्येक नर्स बराबर ५ लाख खर्चका दरले यो वर्ष २ सय ३८ नर्सको लागि ११ करोड ९० लाख रकम निकासा गरेको प्रवक्ता सुवेदीले बताए। गत वर्ष एक सय २१ र चालु आर्थिक वर्षका लागि २ सय ३८ गरी कुल ३ सय ५९ नर्सका लागि हालसम्म कुल १७ करोड ९५ लाख रकम निकासा गरीसकेको प्रवक्ता सुवेदीले जनाए।  

बागमती प्रदेशमा कुल सात हजार पाँच सय सरकारी विद्यालय रहेकोमा एक हजार तीन सय मावि तह संचालका विद्यालयहरु छन्।  

‘सरकारी स्कुलमा बिशेष गरी छात्राहरु महिनावारी हुँदा बखत निकै चुनौतिको सामना गर्नु परेको देखिन्छ। नर्स ब्यवस्था गरिएका स्कुलहरुमा बालबालिकामा किसोरावस्थामा हुने समस्याहरुको ब्यवस्थित तरिकाले समाधान भएको देखियो,’प्रवक्ता सुवेदीले नागरिकसँग भने ‘त्यही भएर बागमती प्रदेश समाजिक विकास मन्त्रालयले यो वर्ष २ सय ३८ नर्सको ब्यवस्था गर्न रकम छुटाएर स्कुल समेत छनौट गरिसकेको छ।’  

उनले थपे ‘अगामी तीन वर्ष भित्र प्रदेशको सबै माविमा एक नर्सको ब्यवस्था गर्ने हाम्रो सरकारको लक्ष्य छ। यति मात्र होइन नर्स भएका स्कुलहरु जंकफुडरहित सकुलको रुपमा स्थापना भएका छन्।’ उनका अनुसार भक्तपुरको वागेश्वरी मावि र चितवनको नारायणी नमुना मावि नर्सको परामर्स अनुसारै जंकफुडरहित बन्न सफल भएको हो।

‘स्कुलमा आउने अभिभावकहरुसँग नर्सले जंकफुड खादा बालबालिकामा कुपोषणको समस्याबारे अभिभावकहरुलाई सचेत गराएको र स्कुलको क्यान्टिनमा समेत जंक फुड नराखिएपछि स्कुल जंकफुडरहित बनेको हो,’ प्रवक्ता सुवेदीले भने ‘स्कुलमा ब्यवस्था गरिएका नर्सहरुले अभिभावक, शिक्षक, विद्यार्थी र वारिपरिका ब्यक्तिहरुलाई समेत खानादेखि सरसफाइबारे जनचेतनामुलक सूचना दिने रहने।’

यो वर्ष नर्सका लागि छनौटमा परेका काठमाडौं त्रिपुरेश्वरको विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेललका अनुसार उनको स्कुलमा ३ हजार बढी विद्यार्थी अध्ययन गर्छन्। उनको स्कुलमा पनि छात्राहरुकै संख्या बढी छ।  

‘विद्यालय बालबालिकाको पहिलो घर हो, विशेषगरी बालबालिकाहरु किशोर अवस्थामा शरीमा हर्मोनको परिवर्तनबाट बेखबर हुन्छन्,’ प्रधानाध्यापक कँडेलले नागरिकसँग भने ‘बालबालिकाहरु सबै कुरा शिक्षकहरुसँग सेयर गर्न सक्दैनन्। नर्सहरुसँग नजिक हुन्छन्। जसले गर्दा विशेष गरी छात्राहरु पहिलो महिनावारी हुँदाको सबै जानकारी नर्सबाट पाउँछन्। सरसफाई, शारीरिक परिवर्तन तथा मनोपरामर्श समेत पाएपछि बालबालिकामा हर्मोनको परिवर्तनले हुने मानसिक तनाव दूर हुन्छ।’ उनी थप्छन् ‘स्वस्थ बालबालिका पढाइमा समेत अब्बल बन्छन्।’

चालु आर्थिक वर्षका लागि काठमाडौ उपत्यकाका काठमाडों महानगरपालिका, कागेश्वरी नपा, तारकेश्वर नपा, टोखा नपा, कीर्तिपुर नपा, दक्षिणकाली नपा, नागार्जुन नपा र बुढानिलकण्ठ नपा गरी आठ नगरपालिकाका १६ माविा छनौट भएका छन्।

प्रवक्ता सुवेदीका अनुसार स्थानीय तहले विद्यालयमा विद्यार्थीको संख्या, छात्रा संख्या बढी भएको, दलित, जनजाति, मधेशी, सिमान्तकृत विद्यार्थीको उपस्थित भएको र विद्यालयको तीन वर्षको नतिजा राम्रो भएको आधारमा नर्सको ब्यवस्थापन गर्न मावि छनौट गरेका हुन्।

प्रकाशित: ९ आश्विन २०७७ ०८:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App