८ वैशाख २०८१ शनिबार
शिक्षा

दसैंअघि पहिलो त्रैमासिक परीक्षा सक्ने तयारी

सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरू उत्साहित बनेका छन्। यसका साथै अभिभावक र विद्यार्थी पनि अनलाइन कक्षाप्रति सकारात्मक बनेका छन्।श्रवैकल्पिक सिकाइलाई समेत शैक्षिक सत्रसँग जोडिने कानुनी आधार पाएपछि असोज महिनाको अन्त (दसैंअघि) सम्ममा सबै विद्यालयले पहिलो त्रैमासिक परीक्षा लिने तय गरेका छन्। यसअघि अनलाइन कक्षामा रुचि नदेखाउने विद्यार्थी तथा अभिभावक पनि वैकल्पिक सिकाइले शैक्षिक सत्रमा मान्यता पाउने भएपछि शिक्षकहरूसँग समन्वय गरी अनलाइन कक्षामा आफ्ना छोराछोरीलाई जोड्न थालेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि नै कोभिड–१९ जोखिमका कारण बन्दाबन्दी रहेको अवस्थामा असार १ गतेदेखि कार्यान्वयन हुने गरी वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका जारी गरी विद्यालयलाई शैक्षिक वैकल्पिक माध्यमबाट शैक्षिक गतिविधि अघि बढाउन निर्देशन दिएको थियो। त्यही निर्देशनअनुसार देशभरिका विद्यालयले अनलाइन, जुम, मेसेन्जर, ह्वाट्सएप, रेडियो, टेलिभिजन, फोन तथा प्रिन्टिङ सामग्री प्रयोग गरी पठनपाठन सुरु गरेका थिए। केही विद्यालयले प्रभावकारी रुपमा भर्चुअल कक्षा सञ्चालन गरे पनि धेरैजसो सरकारी विद्यालयका विद्यार्थीले अनलाइन कक्षामा सहभागिता जनाउन सकेका थिएनन्। तर शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भदौ अन्तिम साता चैत मसान्तभित्रै शैक्षिक सत्र पूरा गर्ने गरी पाठ्यवस्तु समायोजन ढाँचा २०७७ जारी गरी वैकल्पिक सिकाइलाई समेत शैक्षिक सत्रसँग जोडिने कानुनी मान्यता दिएपछि सरकारी विद्यालयको अनलाइन कक्षासमेत प्रभावकारी बन्दै गएको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए।

उनले केही दिनअघिसम्म अनलाइन कक्षामा नजोडिने विद्यार्थीसमेत फोनबाट सम्पर्क गरेर कक्षामा जोडिएको बताए। उनले विश्वनिकेतनले असोज ७ गतेदेखि अनलाइनबाटै पहिलो त्रैमासिक परीक्षा सञ्चालनको तयारी गरेको जनाए। सबै विद्यार्थीले किताब घरमा लगिसकेका र उनीहरुले विभिन्न वैकल्पिक माध्यमबाट सिकाइसमेत गरिरहेको उनको भनाइ छ।

‘नजिक र अनलाइन पहुँच नभएकालाई विद्यालयमै बोलाएर ओपन बुक परीक्षा लिने तयारी छ। यसमा प्यासेज दिइन्छ। विद्यार्थीले पढेर सोधिएको प्रश्नको उत्तर लेख्नुपर्छ,’ प्रअ कँडेलले भने, ‘कक्षा १ देखि ७ सम्मको निरन्तर मूल्यांकनकै आधारमा उदार कक्षा नीतिबाट माथिल्लो कक्षा चढाउने हो।’ उनले थपे, ‘विद्यार्थीको प्रस्तुति र गृहकार्य गरेको आधारमा कक्षा चढाउने हो। स्लिपिङ ट्याबलेट खाएर सुतेका विद्यालयलाई समेत पाठ्यवस्तु समायोजन ढाँचाले पढाउन र शैक्षिक सत्र अघि बढाउन कर लाग्यो।’ हाल विश्वनिकेतन माविमा अनलाइन कक्षामा ५० प्रतिशत बढी विद्यार्थीको सहभागिता रहेको उनले जनाए। यसअघि २० प्रतिशत पनि मुस्किलले पुग्थ्यो।

विश्वनिकेतन मात्र होइन, काठमाडौं उपत्यकाका सबै विद्यालयले दसैंअघि नै पहिलो त्रैमासिक परीक्षा सक्ने तयारी गरेको नक्सालस्ति नन्दी रात्रि माविकी प्रअ गीता काफ्लेले बताइन्। उनले असार १ गतेदेखि नै नन्दी रात्रि विद्यालयले वैकल्पिक माध्यमबाट पठनपाठन सुुरु गरेको जनाउँदै विद्यालयका शिशु कक्षादेखि १२ कक्षासम्मका सबै विद्यार्थी अनलाइन तथा हप्ताको एक दिन विद्यालयमा आएर गृहकार्य लिने÷बुझाउने काममा समेत जोडिएको बताइन्। ‘हामीले दसैंअघि नै पहिलो त्रैमासिक परीक्षा सक्ने तयारी गरेका छौं,’ काफ्लेले भनिन्, ‘हामी ३५ जना शिक्षकशिक्षिका बन्दाबन्दीदेखि हालसम्म नियमित सबै विद्यार्थीसँग वैकल्पिक माध्यमबाट जोडिएर शिक्षणसिकाइ प्रक्रियालाई अघि बढाइरहेका छौं।’

डिल्लीबजारस्ति पद्मकन्या माविकी प्रअ रिता तिवारीले पनि दसैअघि नै पहिलो त्रैमासिक परीक्षा गर्ने गरी सबै तयारी पूरा भइसकेको जनाइन्। उनले कक्षा १ देखि ५ सम्मको परीक्षामा केही कठिनाइ देखिए पनि त्यसलाई निरन्तर मूल्यांकनकै आधारमा अघि बढाउने बताइन्। उनका अनुसार कक्षा ६ देखि १२ सम्मको भने अनलाइन परीक्षा नै लिने तयारी भएको छ।

‘अहिले त हाम्रो विद्यालयका शिक्षकशिक्षिकाले दिनमा तीनवटासम्म कक्षा लिइरहनुभएको छ। विद्यार्थी उपस्थिति पनि अनलाइन माध्यम जुम र गुगलमिटमा उत्साहजनक छ,’ उनले भनिन्, ‘पाठ्यवस्तु समायोजन ढाँचाअनुसार कोर्स पनि पूरा भइसकेको छ। दसैंअघि परीक्षा सम्पन्न गर्छौं।’

प्रकाशित: ५ आश्विन २०७७ ०२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App