१६ चैत्र २०८० शुक्रबार
शिक्षा

बैतडीमा विद्यालय सञ्चालनको तयारी

बैतडीका विभिन्न स्थानीय तहहरुले विद्यालय खोल्ने तयारी गरेका छन्। लामो समयदेखि कोरोना महामारी विद्यालय बन्द हुँदा विद्यार्थीलाई असर परेको भन्दै विद्यालय सञ्चालन गर्ने तयारी गरेका हुन्।  

असोज पहिलो सातादेखि पञ्चेश्वर गाउँपालिका, शिवनाथ, गाउँपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाले विद्यालय सञ्चालनको तयारी गरेका हुन्। जिल्लाका अन्य स्थानीय तहहरुले पनि स्वास्थ्य सतर्कता अपनाएर विद्यालय सञ्चालन गर्न सरोकारवालासँग छलफल चलाएका छन्।

जिल्लामा कोरोना भाइसको संक्रमण कम हुँदै गएको र लामो समयदेखि विद्यालय बन्द रहेकाले विद्यालय सञ्चालनमा ल्याउने तयारी भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले  बताए।  

स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा ल्याइने बताइएको छ। लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीमा नकारात्मक असर परेकाले विद्यालय सञ्चालनको तयारी गरिएको बताइएको छ। शिक्षण सिकाइलाई सहज बनाउनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय खोल्ने निर्णय भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए। विद्यालयका प्रअ अन्य सरोकारवालाहरुसँग बैठक गरेर विद्यालय खोल्ने निर्णयमा पुगेको उनले बताए।

केही समय अघिसम्म जिल्लाका अधिकांश विद्यालयमा क्वारेन्टिन बनाइएको थियो। हाल बाहिरबाट आएकाहरुलाई अन्यत्र वा होम क्वारेन्टिनमा राख्न थालिएपछि विद्यालय सञ्चालन गर्न सहज भएको हो। क्वारेन्टिन बनाइएका विद्यालयहरुमा निसंक्रमिकरण गरेर विद्यालय सञ्चालन हुनेछन्।

प्रकाशित: ४ आश्विन २०७७ ०८:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App