८ वैशाख २०८१ शनिबार
शिक्षा

‘क्वारेन्टिन बनाइएका विद्यालयमा भर्ना हुन मान्दैनन् विद्यार्थी’

सरकारले असोज १ देखि विद्यार्थी भर्ना गर्न विद्यालयलाई निर्देशन दिएको छ। सोही निर्देशनानुसार विद्यालयले भर्ना अभियान शुरु गरेका छन् तर क्वारेन्टिन बनाएका विद्यालयमा भने विद्यार्थी भर्ना हुन हिच्किचाइरहेका छन्। क्वारेन्टिन भएका विद्यालयमा निर्मलीकरण गरिएको भए पनि अभिभावक तथा विद्यार्थीहरु हिच्किकाउने गरेको मावि सेन्टर तुलसीपुरका प्रधानाध्यापक भागवत पौडेलले बताए।  

लामो समयको बन्दाबन्दी हुनु र जेठ १० गतेदेखि विद्यालयमा क्वारेन्टिन बनाएको हुँदा विद्यालयमा भर्ना हुने सङ्ख्यामा पनि कमी आएको उनको भनाई छ।  ‘यो समयमा १५/१६ सय विद्यार्थी भर्ना हुनुपर्ने हो तर अहिले जम्मा छ÷सात सय मात्रै विद्यार्थी भर्ना भएका छन्’, उनले भने।  

विद्यालयमा निर्मलीकरण गरिएकाले कुनै पनि जोखिम नहुने भन्दै यस विषयमा विद्यार्थी र अभिभावकलाई परामर्श दिने गरेको भए पनि विश्वासको वातावरण बन्न नसकेको जनता सँस्कृत मावि बिजौरीका प्रधानाध्यापक पद्मबहादुर रावतले बताए। ‘हामीले विद्यार्थीको घरघरमा गएर भर्ना गरिरहेका छौँ’, उनले भने , ‘अभिभावकहरुले क्वारेन्टिन भएको विद्यालयमा भर्ना गर्न असहज मान्नुहुन्छ।’

त्यस्तै गुरुजजुर मावि तुलसीपुरमा पनि क्वारेन्टिन बनाइएको थियो। त्यहाँ पनि भर्ना हुन समस्या भएको छ। सबैले क्वारेन्टिन राखेका विद्यालयमा कोरोना सर्ने त्रास हुन्छ भन्दै गाउँमा हल्ला गर्ने गरेको भए पनि आफूले भने निर्मलीकरण गरेकाले कुनै समस्या नहुने भनी सबैलाई बुझाउने गरेको मावि सेन्टरकी छात्रा सरिता भण्डारीले बताइन्।  

तुलसीपुर उपमहानगरपालिकाले विद्यालयमा भर्ना भए पनि टोल–टोलमा गएर सामाजिक दूरी कायम गरेर पढाउने नीति अघि बढाएको छ। सोहीअनुसार विद्यालयले गतिविधि अघि बढाएका छन्। जिल्लाका क्वारेन्टिन भएका अधिकांस विद्यालयलाई खाली गरी निर्मलीकरण गरिएको छ।  

अहिले क्वारेन्टिमा बस्नेको सङ्ख्यामा कमी आएको र सबैलाई एकै ठाउँमा राख्दा खर्च पनि कम हुने भएकाले एकै स्थानमा राखिने र विद्यालयलाई भने खाली गरिएको तुलसीपुर उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्कर गौतमले बताए। कुनै विद्यालयमा विद्यार्थी कम छन्, भने एउटा बेन्चमा एउटा विद्यार्थी राखेर पठन–पाठन गराउन सकिने र बढी विद्यार्थी भएकामा टोल–टोलमा गएर पढाउन सकिने उनको भनाइ छ।

प्रकाशित: १ आश्विन २०७७ ११:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App