८ वैशाख २०८१ शनिबार
शिक्षा

असोजदेखि विद्यालय खुलाउने तयारी

जुम्लाको चन्दननाथ नगरपालिकाले कोरोेना भाइरस सङ्क्रमणका कारण गत चैत महिनादेखि बन्द रहेको विद्यालय खुलाउने तयारी गरेको छ।

आउँदो असोज ४ गतेदेखि आधारभूत तहको पठनपाठन शुरु गर्ने तयारी थालेको नगरपालिकाले जनाएको छ। नगरपालिकाभित्रका कक्षा एकदेखि पाँचसम्मका विद्यार्थीले पढ्न पाउने गरि विद्यालय सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले बताए। उनले भने,“लामो समयदेखि पठनपाठन नहुँदा विद्यार्थीको पढाइ बिग्रिन थाल्यो। त्यसैले विद्यालय सरसफाइमा ध्यान दिँदै सामाजिक दूरी कायम गरेर कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ।”

नगरक्षेत्रका सबै विद्यालयको प्रअको बैठकबाट आउँदो असोज ४ गतेदेखि उच्च सतर्कताका साथ विद्यालय खुलाउने तयारी थाल्न निर्देशन दिएको शिक्षा समितिका अध्यक्ष समेत रहेका नगरप्रमुख सेजुवालले बताए।

विद्यालयबाटै सचेतनाका क्रियाकलाप अघि बढाउने भएकाले आधारभूत तहको कक्षा सञ्चालन गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईले बताए। उनले भने,“आधारभूत कक्षमा विद्यार्थी सङ्ख्या पनि कम छ। सामाजिक दूरी कायम गरेर पनि पढाउन सकिने अवस्था छ। यो अवस्थालाई मध्यनजर गर्दै विद्यालय खुलाउने निर्णय भएको हो।” 

आउँदो असोज ४ गतेदेखि आ–आफ्ना बालबालिकालाई विद्यालय पठाउने तयारी गर्न अभिभावकलाई समेत आग्रह गरिएको नगरपालिकाले जनाएको छ। यसअघि नगरपालिकाले रेडियो कक्षा सञ्चालन गरिएको थियो। 

प्रकाशित: ३१ भाद्र २०७७ १३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App