७ वैशाख २०८१ शुक्रबार
शिक्षा

लुम्बिनी बौद्ध विश्वविद्यालयले परीक्षा सञ्चालन गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालय भवन । तस्बिर: नागरिक

लुम्बिनी बौद्ध विश्वविद्यालयले यही भदौ २८ गतेबाट स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने भएको छ । कोरोनाका कारण दुई पटकसम्म स्थगित परीक्षा स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै सञ्चालन गर्ने विश्वविद्यालयले जनाएको छ । त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयले कोरोनाका कारण परीक्षा सञ्चालनमा अलमलिएका बेला उक्त विश्वविद्यालयले भने परीक्षा सञ्चालन गर्न लागेको हो ।

स्नातक तहमा बिबिटिटिएम, बिएएलएलबी, भोट भाषासहितका परीक्षा हुनेछन् । स्नातकोत्तर तहका सबै विषयको परीक्षा हुन लागेको विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले जानकारी दिए । विद्यार्थीको भविष्यको ख्याल गर्दै स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न लागिएको उनले बताए । भदौ २८ गतेबाट दैनिकजसो हुनेगरी परीक्षा–तालिका सार्वजनिक गरिएको छ । बौद्ध विश्वविद्यालयले बिए पहिलो सेमेस्टर, स्नातकोत्तर आर्काेजोलीको पहिलो समेस्टर, म्युजियोलोजीको पहिलो र तेस्रो, बिएएलएलबीको पहिलो, बिए भोट बुद्धिस्टको पहिलो सेमेस्टरको परीक्षा गर्न लागेको रजिस्ट्रार आचार्यले बताए ।

सरकारी कुनै बिदा परेमा समेत विश्वविद्यालयको निर्णयबिना परीक्षा नरोकिने सूचनामा बताइएको छ । विश्वविद्यालयले स्वास्थ्यसम्बन्धी सबै मापदण्ड अपनाएर लुम्बिनी, बुटवल र काठमाडौंमा परीक्षा केन्द्र तोकेको छ । विश्वविद्यालयले सुरुमा रोकिएको परीक्षा भदौ २ गतेदेखि सञ्चालनको तयारी गरेको थियो । अन्तिम समयमा लकडाउन भएपछि परीक्षा स्थगित गरिएको थियो । कोरोनाको संक्रमण कहिलेसम्म हुन्छ भन्ने अनिश्चित भएकाले शैक्षिक कार्यक्रमलाई निरन्तरता दिन परीक्षा गर्न लागिएको विश्वविद्यालयले जनाएको छ । काठमाडौैंमा रहेका विद्यार्थीलाई सोही स्थानमा तथा लुम्बिनी र बुटवल क्षेत्रमा रहेका विद्यार्थीलाई लुम्बिनीस्थित केन्द्रीय क्याम्पसमा केन्द्र तोकिएको छ । परीक्षाका लागि विश्वविद्यालयले पूर्ण तयारी गरेको छ । परीक्षार्थीलाई दुई÷दुई मिटर टाढा बस्ने व्यवस्थापन मिलाउने, परीक्षा सकिएपछि कोठालाई ‘डिसइन्फेक्सन’ बनाउने व्यवस्था गरिने बताइएको छ ।

परीक्षार्थीलाई हरेक दिन मास्क, पन्जा र स्यानिटाइजरको समेत व्यवस्थापन मिलाइएको छ । विद्यार्थी परीक्षा केन्द्रभित्र वा बाहिर समूहगत रूपमा बस्न नपाइने निर्देशनसमेत विश्वविद्यालयले गरेको छ । चैतमा हुनुपर्ने परीक्षा कोरोनाले गर्दा भदौमा आइपुगेको छ । सेमेस्टर प्रणालीका परीक्षा ६/६ महिनामा हुँदै आएको हो । त्यसो गर्दा अर्को परीक्षा समेस्टरको परीक्षा दिनुपर्ने समयसमेत भएकाले परीक्षा सञ्चालन गरेर विद्यार्थीको शैक्षिक कार्यक्रम निरन्तर अगाडि बढाउन खोजिएको विश्वविद्यालयको भनाइ छ ।

प्रकाशित: २७ भाद्र २०७७ ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App