८ वैशाख २०८१ शनिबार
शिक्षा

कक्षा ११ भर्नामा एसइई नतिजामाथि अविश्वास

कतै कक्षा ८ र ९ को पनि नतिजा मागियो, कतै पुनः लिखित परीक्षासहित अन्तर्वार्ता

एसइईको नतिजा प्रकाशनसँगै उपत्यकाका कक्षा ११ र १२ सञ्चालन गर्ने माध्यमिक विद्यालय (अझै कलेज भन्ने गरिएको) ले कक्षा ११ मा नयाँ विद्यार्थी धमाधम भर्ना लिइरहेका छन्। गत वर्षसम्म एसइईको नतिजाका आधारमा कक्षा ११ मा भर्ना हुने गरेको थियो। तर यस वर्ष उपत्यकाका कलेहरूले एसइईको नतिजामाथि विश्वास गर्न सकेका छैनन्। त्यही भएर विद्यार्थीसँग कक्षा ८ र ९ को समेत नतिजा मागेका छन्। कतिपय कलेजले विद्यार्थी भर्नाका लागि कक्षा १० सँगै ८ र ९ को नतिजा मागेका छन्। कतिपय कलेजले छात्रावृत्ति उपलब्ध गराउन भन्दै तल्लो कक्षाको नतिजा मागेको बताउने गरेका छन्। जुनसुकै बहानामा तल्लो कक्षाको नतिजा मागिए पनि मुख्य कारण भने यसपालिको एसइई नतिजामा विश्वास गर्न नसक्नु नै हो। केही कलेजले कक्षा ८ र ९ को नतिजा नमागेर कक्षा १० कै पाठ्यक्रममा आधारित भएर विद्यार्थीसँग पुनः लिखित परीक्षासहित अन्तर्वार्ता लिइरहेका छन्। यसअघिको भर्नामा यस्तो कहिल्यै गरिएको थिएन।

माइतीघरस्थित सेन्ट जेभियर्स कलेजले यस वर्ष विद्यार्थीसँग कक्षा ११ मा भर्ना हुन कक्षा ८ र ९ को नतिजासमेत मागेको छ। स्कुलको वेबसाइटमै विद्यार्थीले आफ्नो एसइईको नतिजासाथै कक्षा ८ र ९को नतिजासमेत अपलोड गर्न निर्देशन दिइएको छ। लगनखेलस्थित अक्सब्रिज कलेजले भने कक्षा ११ मा छात्रावृत्ति दिने भन्दै कक्षा ८ को नतिजा मागेको छ। ललितपुरस्थित मानभवनस्थित प्रसादी कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीसँग कक्षा १० कै पाठ्यक्रममा आधारित रहेर अनलाइनबाटै लिखित परीक्षा र अन्तर्वार्ता लिइरहेको छ। गोल्डेनगेट कलेजले अनलाइन प्रवेश परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित भएर लिइरहेको छ। कालोपुलस्थित जेभियरले अनलाइन फाराम संकलन गरेर अनलाइनबाटै प्रवेश परीक्षा लिने तयारी गरेको छ।

यस वर्ष कोरोना महामारीको बढ्दो जोखिमका कारण विगतमा जस्तो यस वर्ष विद्यार्थीहरू स्कुल चहारेर विषय, शुल्क, छात्रावृत्ति, भौतिक पूर्वाधारलगायतबारे भौतिक उपस्थित जनाएर बुझ्न पाएनन्। कक्षा ११ सञ्चालन गर्ने कलेजहरूले आ–आफ्ना वेबसाइटमा स्कुलबारे सम्पूर्ण जानकारी राखेका छन्। कोरोना माहामारीको उच्च जोखिमका कारण यस वर्ष कक्षा १० (एसइई) को परीक्षा सञ्चालनको सम्पूर्ण जिम्मेवारी सरकारले विद्यालयलाई नै दिएको थियो।विद्यालयहरूले परीक्षा सञ्चालन गरी नम्बरअनुसारको ग्रेडिङ गरी पठाएकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी नतिजा प्रकाशित ग-यो। तर विद्यालयहरूले विद्यार्थीलाई कक्षा १० मा दिएको मनपरी जिपिएमा कक्षा ११ सञ्चालन गर्ने माविहरूले विश्वास गर्न सकेका छैनन्।

उच्च शिक्षा तथा माध्यमिक विद्यालय सञ्चालक संघ (हिसान) का अध्यक्ष रमेश सिलवालले सोमबार मात्र आवेदन दिएका विद्यार्थीमध्ये ३ सय ७ जनाको अनलाइन अन्तर्वार्ता लिएको बताए। उनले अनलाइन प्रवेश परीक्षामा पास भएका विद्यार्थीको नाम प्रकाशित गरेर १४ वटा समूहको पठनपाठनसमेत भइरहेको बताए। उनले एक समूहमा ४० विद्यार्थी भर्ना लिएको जनाए। ‘यस वर्षको एसइई परीक्षामा विश्वासनीयता भएन। विगतमा एकदम थोरैले जिपिए ४ ल्याउने गरेका थिए। यस वर्ष ९ हजार ३ सय १८ जनाले ल्याए। कहिल्यै जिपिए ४ नल्याउने स्कुलले पनि यो वर्ष ल्याए,’ अध्यक्ष सिलवालले नागरिकसँग भने, ‘गोल्डेनगेटमा कक्षा ११ का लागि प्रवेश परीक्षा दिएका एसइईमा जिपिए चार ल्याएका विद्यार्थीले १२ नम्बर पनि ल्याउन सकेनन्। यसले पनि एसइईको नतिजा कस्तो रहयो भने प्रस्ट पार्छ।’ उनले थपे, ‘तर हामीले विद्यार्थीसँग कक्षा ८ र ९ को नतिजा मागेनौं। एसइईकै नतिजा हे¥यौ र प्रवेश परीक्षा तथा अन्तर्वार्तालाई आधार बनाएर भर्ना लियौं।’

सेन्ट जेभियर्सका प्रिन्सिपल फादर जिजुका अनुसार हालको एसइई परीक्षाको नतिजालाई पूर्ण विश्वास गर्न सक्ने अवस्था नहरेकाले कक्षा ११ को आवेदनसँगै कक्षा ८ र ९ को पनि लब्धांक मागिएको हो। ‘सेन्टजेभिर्यले कक्षा ११ को भर्नाका लागि अनलाइन फाराम संकलन गरिरहेको छ। ५ सयको सिटमा ४ हजार फाराम संकलन भएको छ,’ उनले नागरिकसँग भने, ‘विद्यार्थीको कक्षागत उपलब्धिको निरन्तरता चेक गर्न कलेजले एसइईको नतिजासँगै कक्षा ८ र ९ को पनि मार्कसिट मागेको छ।’ उनले थपे, ‘विगतमा एसइईकै नतिजालाई आधार मानिने गरिएको थियो। तर यस वर्षको एसइईको जिपिए स्कुलले नै दिएकाले विश्वास गर्न समस्या आयो।’

प्रसादीका संस्थापक विक्रम राईले स्कुलले दिएको एसइईको जिपिएलाई मान्दै विद्यार्थी भर्नाको आधार यस वर्ष पाठ्यक्रममा आधारित लिखित प्रवेश परीक्षा र अन्तर्वार्तालाई पनि जोडिएको बताए। उनले स्कुलले दिएको जिपिएमाथि पूर्ण रूपमा विश्वस्त हुन सक्ने अवस्था नरहेकाले प्रसादीले यस वर्ष कक्षा १० कै पाठ्यक्रममा आधारित भएर अनलाइन अन्तर्वार्ता र लिखित परीक्षा सञ्चालन गर्ने जनाए। ‘स्कुलले दिएको जिपिएमा केही त्रुटि छ। यसमा दुईमत छैन,’ संस्थापक राईले नागरिकसँग भने, ‘त्यही भएर हामीले यस वर्ष कक्षा १० मै आधारित रहेर विद्यार्थीसँग अनलाइन लिखित परीक्षा र अन्तर्वार्ता लिने तय गरेका छौं।’

प्याब्सनका सहअध्यक्ष एवं अक्सिब्रिजका कार्यकारी प्रमुख डिके ढुंगानाले कक्षा ११ मा छात्रावृत्ति उपलब्ध गराउने उद्देश्यले कक्षा ८ को नतिजा मागेको प्रस्ट्याए। उनले हाल विद्यार्थीसँग जुम तथा माइक्रमेसफ्ट टिम एप प्रयोग गरी विषय, शुल्क, छात्रावृत्तिलगायतबारे अन्तक्र्रिया भइरहेको बताए। उनले एसइईको नतिजामा विश्वास भए पनि छात्रावृत्तिका लागि कक्षा ८ को नतिजा हेर्नुपरेको जनाए। ‘कतिपय विद्यार्थी उच्च शिक्षामा छात्रावृत्ति लिन पनि कक्षा ८ सरकारीबाट पढेका हुन्छन् र अन्य साना कक्षा निजीमा,’ सहअध्यक्ष ढुंगानाले भने, ‘छात्रावृत्तिकै लािग सरकारीमा कक्षा ८ पास छ भने त्यस्ता विद्यार्थीलाई हामीले छात्रावृत्ति दिन मिल्दैन।’ उनले थपे, ‘त्यही कारण हामीले कक्षा ८ को नतिजा मागेका हौं।’

हिसानका महासचिव लोकबहादुर भण्डारीले जेभियरले हाल विद्यार्थीसँग अनलाइन माध्मबाट भर्नाका लागि फाराम संकलन गरिरहेको बताए। उनले जेभियरले एसइईको नतिजाका आधारमा भर्ना फाराम संकलन गरिरहेको तर भर्ना भने अनलाइन प्रवेश परीक्षा र अन्तर्वार्तालाई पनि आधार बनाएर लिने तय गरेको जनाए।

प्रकाशित: २४ भाद्र २०७७ ०१:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App