coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

कक्षा ११ को नयाँ पाठ्यक्रम कार्यान्वयनमा अन्योल

पाठयक्रम विकास केन्द्र र शिक्षा मन्त्रालयको दुईथरि कुरा

कक्षा ११ मा यही शैक्षिक सत्रदेखि लागू गर्ने भनिएको नयाँ पाठ्यक्रम कार्यान्वयनमा ढिलाइ हुने भएको छ। पाठ्यक्रम विकास केन्द्रले तयारी अन्तिम चरणमा रहेको बताए पनि शिक्षा मन्त्रालयले थप छलफल गर्नुपर्ने भनेपछि कार्यान्वयनमा आउन ढिलाइ हुने भएको हो।  

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले भने कार्यन्वयनका लागि अझै छलफल गर्ने बताइरहेका छन्। नेपाल गणित समाजले नयाँ पाठ्यक्रममा गणितलाई संकुचित गरिएको गुनासो गरेपछि मन्त्री पोखरेलले यस विषयमा पाठ्यक्रम विकास परिषदसँग छलफल गर्ने बताएका छन्।  

समाजका सहसचिव जिवन काफ्ले राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याँकन परिषदले पारित गरेको नयाँ पाठ्यक्रममा कक्षा ११मा विज्ञान विद्याका विद्यार्थीलाई इन्जिनियरिङ्गको बाटो रोकेको अवगत गराएका थिए। उनले हाल संचालनमा रहेको प्रारुपमा विज्ञान विधाका विद्यार्थीले ११ कक्षामा अङ्गेजी अनिवार्य र चारवटा ऐच्छिक विषयहरू गरी जम्मा पाँच वटा विषय र १२ कक्षामा अङ्ग्रेजी र नेपाली विषयलाई अनिवार्य गरिएको छ। त्यस्तै तीन वटा ऐच्छिक गरी पाँचवटा विषयहरू पढ्छन्।  

‘तर अहिले सिडिसीले बनाएको पाठ्यक्रमको प्रारूप अनुसार ११ कक्षामा अङ्ग्रेजी, नेपाली, सामाजिक शिक्षा जस्ता तीन विषयलाई अनिवार्य  र तीन ऐच्छिक विषयहरू गरेर जम्मा छ विषयहरू पढ्नुपर्ने अवस्था आएको छ ’सहचिव काफ्लेले भने। यस्तै १२ कक्षा मा पनि अनिवार्य विषयका रूपमा अङ्ग्रेजी, नेपाली र जीवनउपयोगी र तीन ऐच्छिक विषयहरू गरेर कुल छ विषय पढ्नुपर्ने अवस्था छ। ’ उनले थपे ‘ प्रस्तावित पाठ्यक्रम अनुसार जीवविज्ञान, रसायन शास्त्र र भौतिक विज्ञान पढ्ने विद्यार्थीले गणित विषयलाई मूल विषय बनाउन पाउँदैनन्।’

उनले छलफलमा प्रस्तावित पाठ्यक्रम अनुसार म्यानेज्मेन्ट पढ्ने विद्यार्थी चाँहदा चाहँदै पनि गणित र व्यावसायिक गणित दुवै पढ्न पाउने अवसरबाट  पनि बञ्चित हुने अवगत गराएका थिए।  

उनी लगाएत समाजका अन्य पदाधिकारीहरु र शिक्षा मन्त्रालयका सल्लाकार समेत रहेका जिवन  गौतमले समेत  गणित विषयको प्राथमिता प्रष्ट्याएपछि मन्त्री पोखरेलले परिषदसँग पुनः एक पटक पाठ्यक्रमबारे छलफल गर्ने बताएका हुन्।  

‘तपाइहरुको छलफलबाट मैले समस्या बुझे। एउटा क्रिएटिभ नागरिक उत्पादन गर्न  गणित निकै आवश्यक पर्छ,’ मन्त्री पोखरेलले छलफलमा भने ‘गणित विषयलाई पनि जिवनोपयोगी बनाउने बारे मैले पाठ्यक्रम विकास परिषद र कोर समितिकाहरुसँग छलफल गर्नेछु। ’उनले थपे ‘ब्यक्तिको रुचिसँग राष्ट्रिय आवश्यक्ता हेरेर अघि बढ्छौं। सृजनात्मक नागरिक उत्पादन गर्नै भनेर जिवनोपयोगी विषय अनिवार्य गरिएको हो।’

मन्त्री पोखरेलले पाठ्यक्रम कार्यन्वयनबारे पुनः छलफल गर्ने बताए पनि पाठ्यक्रम विकास केन्द्रले भने यो वर्ष कार्यन्वयनको सबै तयारी पुरा भएको जनाएको छ। केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले अनिवार्य विषयहरुको पुस्तक छपाइको काम सुरु गरिसकेको जानकारी दिए।  

‘नेपाल सरकारको निर्णय भइसकेकोले केन्द्रले यो वर्ष कार्यन्वयन गर्छ,’ निर्देशक दहालले नागरिकसँग भने ‘सय प्रतिशत मिलेको त केही पनि हुदैन।’ उनले थपे ‘नेपाली र अंग्रेजी विषयको पाठ्यपुस्तक छपाइ काम भइरहेको छ। अन्य विषय निजी प्रकाशनहरुलाई जिम्मा दिने काम भइरहेको छ। पाठ्यक्रममा आधारित शिक्षण सिकाइ भएकोले अब अनलाइनबाट समेत खोजेर शिक्षक र विद्यार्थीले अध्ययनको बानी बसाल्नु पर्छ। सबै विषयको पुस्तक छपाइ अनिवार्य छैन।’

उच्च तथा माध्यामिक विद्यालय संचालक संघ (हिसान)ले कोरोना कहरबीच तयारी विनानै सरकारले कक्षा ११मा नयाँ पाठ्यक्रम कार्यन्वयन गर्ने निर्णयले अन्यौलता सिर्जना गरेको बताउँदै आएको छ। हिसानका अध्यक्ष रमेश सिलवालले नयाँ पाठ्यक्रम अनुसार पठनपाठन गराउने तयारी नभएकोले यो वर्ष नयाँ पाठ्यक्रम कार्यन्वयन गर्न नसकिने बताए।

‘विदेश अध्ययनगर्नका लागि पनि गणित विषय आवश्यक हुने गणित समाजको ठहर छ। गणित विषय हटाउँदा विद्यार्थीलाई धेरै क्षेत्रमा समस्या हुने समाजले जनाएको छ।  

त्रिविमा इन्जिनियरिङ पढ्न कक्षा एघार र बाह्रमा दुई सय पूर्णाङ्क बराबरको गणित विषय पढ्नु अनिवार्य छ। पोखरा र पूर्वाञ्चलविश्वविद्यालयमा बायोलोजी समूहका विद्यार्थीले कक्षा एघारमा १०० पूर्णाङ्कको भए पनि गणित पढेर इञ्जिनियरिङमा प्रवेश पाउँछन्। अहिले प्रस्तावित पाठ्यक्रमलाई कार्यान्वयन गर्ने हो भने विद्यार्थीहरू इन्जिनियरिङ पढने अवसरबाट पनि वञ्चित हुने समाजको भनाई छ।  

त्यस्तै वनविज्ञान, कृषिविज्ञान, विम्याथएससी जस्ता विषय पढ्न पनि कक्षा एघार वा बाह्र १०० पूर्णाङ्कको गणित र जीव तथा वनस्पति विज्ञान विषय पढेको हुनैपर्छ। तर अब लागू गर्न खोजिएकोे पाठ्यक्रम अनुसार भौतिकविज्ञान समूहले जीवविज्ञान पढ्न नपाउने र जीवविज्ञान समूहले गणितपढ्न नपाउने अवस्था छ। यसैगरी विएससी सिएसआइटिद र बिम्याथ पड्न पनि कक्षा एघार वा बाह्र १०० पूर्णाङ्कको गणित वा व्यावसायिक गणित विषय पढेको हुनै  पर्छ।  

हालसम्मको व्यवस्थाअनुसार भविष्यमा सिए, बिबिए र आइटी पढ्छु भन्ने विद्यार्थीले गणित र व्यावसायिक गणित विषय पढ्न पाउँथे। तर प्रस्तावित पाठ्यक्रम अनुसार म्यानेज्मेन्ट  पढ्ने विद्यार्थी चाँहदाचाहँदै पनि गणित र व्यावसायिक गणित दुवै पढ्न पाउने अवसरबाट पनि बञ्चित हुने देखिन्छ।  

‘पाठ्यक्रमले लागु गर्ने भन्छ तर मन्त्री ज्यूले हामीसँग छलफलपछि पुनः एक पटक परिषद र कोर समितिमा छलफल गरी मात्र कार्यन्वयन गर्ने भन्नु हुन्छ,’ काफ्ले नागरिकसँग भने ‘यसले अभिभावक, विद्यार्थी  र विद्यालय संचालकमा समेत अन्योलता सृजना गरेको छ।’

प्रकाशित: २० भाद्र २०७७ १०:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App