समान कामको समान ज्याला माग गर्दै दाङस्थित महेन्द्र बहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्रध्यापकहरुले आन्दोलन थालेका छन् । क्याम्पसमा कार्यरत ४२ जना आंशिक प्राध्यापकहरुको आन्दोलनका कारण क्याम्पसको गतिविधी ठप्प बनेको छ । उनीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
साउन ११ गतेदेखि क्याम्पसमा आन्दोलनरत उनीहरुले आफूहरुको ‘मासिक तलव सुविधा’ हुनु पर्ने माग राखेका छन् । उनीहरुले अहिले दैनिक ज्यालाका आधारमा अध्यापन गरिरहेका छन् । गत फागुनदेखि कोरोनाका कारण क्याम्पस ठप्प हुँदा उनीहरुको तलव सुविधा समेत रोकिने भएको छ । ‘कोरोना कहरका कारण गत फागुनदेखि क्याम्पसको पठनपाठन ठप्प भएको छ,’ आंशिक प्राध्यापक संघका संयोजक बालकृष्ण डाँगीले भने ‘फागुनदेखि कक्षा ठप्प भएपछि हामीहरुले हाजिर गर्न पाएका छैनौँ,हामी ज्यालादारी प्राध्यापकहरु भोकै मर्ने अवस्था आउने भयो ।’
यसअघिको शेरवहादुर देउवा नेतृत्वको सरकारले आंशिक प्राध्यापकहरुका लागि २ सय ४० दरबन्दी निर्धारण गरेको भएपनि वर्तमान सरकारले उक्त निर्णयलाई बेवास्ता गरेको डाँगीले जानकारी दिए । ‘हामीहरुले अहिले दैनिक ज्यालाका आधारमा सुविधा पाउँदै आएका छौँ,’ डाँगीले भने ‘हामीहरुलाई पनि हाम्रो स्तर निर्धाण गरेर मासिक तलव निर्धारण गरिदिनु पर्छ भन्ने हाम्रो प्रमुख माग हो ।’ तर क्याम्पस प्रशासनले भने आफूहरुको माग कार्यान्वयनका लागि कुनै पहल नगरेको गुनासो आन्दोलनरत आंशिक प्राध्यापकहरुको छ । आन्दोलनरत आंशिक प्राध्यापकहरुले केहि दिनअघि आन्दोलनका क्रममा क्याम्पसका फर्निचरमा आगजनी समेत गरेका थिए । यसैगरि क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् ।
‘क्याम्पस प्रमुखले उल्टै हामीहरुलाई होच्याउने काम गरेकाले आक्रोशित भिडले केहि फर्निचरमा आगो लगाएको हो,’ डाँगीले भने ‘तर त्यो काम राम्रो भएन भनेर हामीहरुले सार्वजनिक रुपमै भन्दै आएका छौँ ।’ आफूहरुको माग कार्यान्वयनका लागि पहल गरिदिनुको साटो क्याम्पस प्रशासनले क्याम्पस हाताभित्रै प्रहरी छिराएर आफूहरुमाथि बल प्रयोग गर्ने सम्मको प्रयास गरिएको उनको भनाई छ ।
‘हामीहरुले तालाबन्दीको कार्यक्रम गर्ने तय भएका बेला तीन चार गाडीमा हतियारसहितका प्रहरीहरु क्याम्पस हाताभित्रै प्रवेश गराउने काम भयो,’ उनले भने ‘हामीहरु अन्यायमा पर्दै आएकाले न्याय खोजेका हौँ,तर हामीहरु माथि प्रहरी लगाएर बल प्रयोग गर्ने सम्मको प्रयास हुनु ज्यादै दुःखद पक्ष हो ।’ उनीहरुले आफूहरुको माग पुरा नभएसम्मका लागि आन्दोलन जारी राख्ने समेत बताएका छन् ।
प्रकाशित: २८ श्रावण २०७७ १०:३१ बुधबार